सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुपन्देहीमा यस्तो छ निर्वाचनको तयारी


  •    न्युजभित्तो/१७ फाल्गुन २०८२, आईतवार ११:५५ 
  • लुम्बिनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी रुपन्देहीमा पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित चारवटै सुरक्षा निकायले आ–आफ्नो जिम्मेवारी अन्तिम चरणमा पुर्याएका छन् ।

    निर्वाचनमा खटिने कर्मचारीले निर्वाचन अधिकृतको कार्यालयबाट यसअघि नै नियुक्तिपत्र बुझेको र आजबाट निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुग्ने मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिनुभयो ।

    जिल्लाका निर्वाचन क्षेत्रका मतदान केन्द्रमा पुग्न सहज यातायातको सुविधा भएकाले आज सामग्रीसहित कर्मचारी केन्द्रमा पुग्नेगरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । “अब सामान्य छिटफुट कामबाहेक निर्वाचनका सबै तयारी पूरा भयो”, उहाँले भन्नुभयो, “अहिलेसम्मको अवस्थामा निर्वाचनका लागि सुरक्षालगायत सबै व्यवस्थापन राम्रो भएको छ ।”

    यस्तै राजनीतिक दल तथा उम्मेदवारहरूले पनि निर्वाचनलक्षित प्रचारप्रसार कार्यक्रम अब अन्तिम चरणमा पुर्याएका छन् । निर्वाचनको मतदानभन्दा तीन दिनअघि फागुन १८ गते राति १२ः०० बजेदेखि मौन अवधि लागू हुने भएकाले राजनीतिक दल र स्वतन्त्रतर्फका उम्मेदवारहरू यतिबेला मतदाताका घरदैलो पुगेर भेटघाट र आफ्ना एजेन्डा प्रस्तुत गर्दै मत माग्ने अभियानमा सक्रिय छन् । हालसम्म जिल्लामा चुनावी गतिविधि शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।

    दलहरूबीच आवेश, उत्तेजना वा आचारसंहिताविरुद्धको अवस्था नदेखिएको प्रशासनले जनाएको छ । सामान्य मौखिक उजुरीबाहेक आचारसंहिताको पूर्ण रूपमा पालना गरेको बताइएको छ । मुख्य निर्वाचन अधिकृत बस्नेतले भन्नुभयो, “आचारसंहिता पालनामा जिल्लाका प्रायः सबै निर्वाचन क्षेत्रमा ७० प्रतिशत कायम भएको छ ।”

    निर्वाचनलाई शान्तिपूर्ण बनाउन तीन तहको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितको तीन तहको सुरक्षा घेरा बनाइ परिचालन गरिने छ । सुरक्षाका हिसाबले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका मतदान केन्द्रको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

    प्रदेश निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार रुपन्देहीमा लुम्बिनीका १२ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता छन् । रुपन्देहीमा कुल छ लाख ७२ हजार ५२३ जना मतदाता कायम भएका छन् । जसमध्ये तीन लाख ४६ हजार २०३ पुरूष र तीन लाख २६ हजार ३११ जना महिला मतदाता छन् ।

    प्रतिनिधिसभातर्फ रुपन्देहीमा पाँचवटा निर्वाचन क्षेत्र छन् । रुपन्देही क्षेत्र नं १ मा एक लाख ४६ हजार ८२४, २ मा एक लाख ३५ हजार ५०, ३ मा एक लाख ४० हजार ३५, ४ मा एक लाख १६ हजार १७२ र क्षेत्र नं ५ मा एक लाख ३४ हजार ४४२ जना मतदाता छन् । रुपन्देहीमा २०९ मतदानस्थल र ७३२ वटा मतदान केन्द्र छन् । फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने निर्वाचन आयोगले व्यवस्था गरेको छ ।

    सीमानाका तीन दिन बन्द हुने

    निर्वाचनलाई लक्षित रुपन्देहीका नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन् । रुपन्देही जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका जिल्लाका सम्पूर्ण सीमानाका तीन दिन बन्द रहने जनाएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ पाध्याले जारी गर्नुभएको सूचनामा यही फागुन १८ गते सोमबार राति १२ः०० देखि फागुन २१ गते बिहीबार राति १२ः०० बजेसम्म बन्द रहने जनाइएको छ ।

    यसका साथै फागुन २० गते बुधबार राति १२ः०० देखि २१ गते बिहीबार मतदानकार्य सम्पन्न नहुन्जेलसम्म एम्बुलेन्स, दुग्धका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववहान, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवा र अनुमतिप्राप्त सवारीसाधनबाहेक अन्य सवारीसाधन समेत सञ्चालनमा निषेध गरिएको सूचनामा जनाइएको छ ।

    यस्तै प्रशासनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा बिक्रीवितरण तथा सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

    होलीलाई मर्यादित बनाउन आग्रह

    रुपन्देही जिल्ला प्रशासन कार्यालयले होली÷फागु पर्व अनुशासित र मर्यादिन ढङ्गले मनाउन अपिल गरेको छ । प्रशासनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तथा मौन अवधिभित्र होली÷फागु पर्व परेकाले निर्वाचनको सुरक्षा संवेदनशीलता तथा निर्वाचन आचारसंहिता परिपालनलाई ध्यानमा राखी होली पर्व मनाउँदा आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरण कायम राख्न आग्रह गरेको छ ।

    होली÷फागु पर्वलाई धार्मिक एवं सांस्कृतिक दृष्टिले मर्यादित, सभ्य र अनुशासित ढङ्गले मनाउनुका साथै निर्वाचनको सुरक्षा र निर्वाचन आचारसंहिता पालना गर्न÷गराउन जिल्ला सुरक्षा समिति, सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, धार्मिक सङ्घसंस्था, नागरिक तथा सरोकारवाला सबैलाई आग्रह गरिएको छ ।

    होली पर्व मनाउने क्रममा कसैले पनि कानुनविपरीतका कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुने जनाइएको छ । प्रमुख निर्वाचन अधिकृत बस्नेतले यसपटकको होली पर्व सामान्य रूपमा घरमै बसेर मनाउन, कुनै पनि किसिमको साङ्गीतिक कार्यक्रम नगर्नेगरी पर्व मनाउने व्यवस्था मिलाउन सुरक्षा निकायलाई अनुरोध गरिएको बताउनुभयो ।

    छ हजार जनशक्ति परिचालन

    जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा चार हजार ३९२ वटा स्थायी र चारवटा अस्थायी मतदान केन्द्र कायम गरेर कर्मचारी जनशक्ति खटाइसकिएको प्रमुख निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिनुभयो । यसका लागि जिल्लामा चार हजार ४१६ कर्मचारी र झन्डै एक हजार ६०० स्वयंसेवक गरी छ हजार बढी जनशक्ति परिचालन भएको जानकारी दिनुभयो ।

    मतदानको बदर सङ्ख्या घटाउनका लागि जिल्लामा मतदाता शिक्षालाई प्रभावकारी बनाइएको छ । निर्वाचन कार्यालयका कर्मचारीहरू नमूना मतपत्र लिएर वृद्धवृद्धा र शिक्षाको पहुँच कम भएका मतदाताका घरदैलोमा पुगी मतपत्र पट्याउने र मतदान गर्ने तरिका सिकाइरहेका छन् । रूपन्देहीका पाँच निर्वाचन क्षेत्रमा राजनीतिक दलका ६३, स्वतन्त्र ९२ गरी जम्मा १५५ उम्मेदवार अहिले चुनावी मैदानमा छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.