सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजनीतिसँगै व्यावसायिक उखुखेतीमा जमेका जनप्रतिनिधि


  •    न्युजभित्तो/२८ माघ २०८२, मंगलवार ११:३६ 
  • भजनी (कैलाली), २७ माघ । टीकापुर नगरपालिका–८ का धनसिंह साउद कृषि क्षेत्रमा सम्भावना देखेका किसान हुनुहुन्छ । राजनीतिसँगै कृषिबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बन्नुभएका उहाँ बर्सेनि ६५ बिघाभन्दा बढी क्षेत्रफलमा खेती गर्नुहुन्छ । साउदले धानखेतीमात्र ३० देखि ३५ बिघामा गर्दै आउनुभएको छ । याम अनुसारको उत्पादनका साथै उन्नत बीउ उत्पादनलाई जोड दिँदै आउनुभएका उहाँले पछिल्लो समयमा उखुखेतीलाई प्राथमिकता दिन थाल्नुभएको छ ।

    गत वर्ष उहाँले झन्डै ४५ बिघा उखुखेती गरेको जानकारी दिनुभयो । यस वर्ष थप आठ बिघा उखुखेती विस्तार गर्ने तयारी उहाँले गर्नुभएको छ । बर्दियाको राजापुर नगरपालिकामा स्थापना भएको राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजले किसानले उत्पादन गरेको उखु सहजै खरिद गर्न थालेपछि अन्य खेतीभन्दा उखुलाई प्राथमिकता दिएको साउद बताउनुहुन्छ ।

    “एकपटकको लागानीले पछिसम्म फाइदा लिन सकिन्छ भने बजार खोज्नुपर्ने स्थिति छैन”, उहाँले भन्नुभयो, “मूल्य पनि राम्रो पाइने भएपछि अन्य बालीभन्दा उखुलाई बढी प्राथमिकता दिइएको छ ।” चिनी उद्योगले किसानको उखु प्रतिक्विन्टल रु ६९० मा खरिद गर्दै आएको छ । रु ६२० किसानले उद्योगबाट पाउँछन् भने प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले उखु किसानलाई अनुदान दिँदै आएको छ । उसो त साउदले यस वर्ष सात बिघा आलुखेती पनि गर्नुभएको छ ।

    वडा नं ८ कै वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला उखुखेतीमा लामो समयदेखि लाग्नुभएको छ । दुई कार्यकाल वडाध्यक्षको जिम्मेवारीमा रहनुभएका उहाँ निर्वाचित पूर्व कृषि क्षेत्रमै आबद्ध हुनुहुन्थ्यो । कृषिसँगै राजनीति गर्दै आउनुभएका वडाध्यक्ष ठकुल्ला केही वर्ष पहिले गाउँमा गुदमिल सञ्चालन गर्दै आउनुभएको थियो । अहिले गुदमिल भने छैन । गत वर्षबाट उहाँले पनि पुनः उखुखेती विस्तार गर्नुभएको छ । सात बिघामा विस्तार गरिएको उखुखेती यस वर्ष थप विस्तार गर्ने योजनामा वडाध्यक्ष ठकुल्ला हुनुहुन्छ ।

    “आम्दानी राम्रो भएपछि ममात्र नभई किसान उखुखेतीमा लाग्न थालेका छन् । मैले पनि विस्तार गर्दै लगेको छु”, उहाँ भन्नुहुन्छ, “बजारको सहजता र थोरै लगानीबाट राम्रो आम्दानी उखुखेतीले दिन थालेको छ ।”

    राजनीति गरेर समाजसेवा भनेर मात्रै आर्थिक समृद्धि हासिल गर्न नसकिने भन्दै वडाध्यक्ष ठकुल्लाले उत्पादनलाई प्राथमिकतामा राखेर समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । “मैले समयको व्यवस्थापन गर्दै कृषिलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको छु । सिजनमा राम्रो आलु उत्पादन हुन्छ । मकै, धान, गहुँलगायतका बाली पनि लगाउँदै आएका छौँ । तर, पछिल्लो समय यस क्षेत्रमा उखुखेती लोकप्रिय बन्दै गएको छ ।” किसानले एक बिघामा ६०० क्विन्टलभन्दा बढी उखु उत्पादन गर्दै आएका छन् ।

    टीकापुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने पनि लामो समयदेखि कृषि र व्यापारमा आबद्ध हुनुहुन्छ । उहाँ बर्सेनि ९–१० बिघा खेती लगाउनुहुन्छ भने २०५३ सालदेखि व्यापार गर्दै आउनुभएको छ । कृषि, व्यापारसहित राजनीतिमा आबद्ध न्यौपाने पनि राजनीतिले सन्तुष्टिमात्र मिल्ने बताउनुहुन्छ । “पैसा कमाउनका लागि व्यवसाय गर्नैपर्छ । व्यवसाय र राजनीतिलाई सँगसँगै लैजाँदा कुनै कुराको लोभ हुँदैन”, उहाँ भन्नुहुन्छ, “आज राजनीतिमा भन्दा खेतमा काम गर्दा सन्तुष्टि मिल्छ । हामीले काम गरेको देखेर गाउँका युवाहरूमा काम गर्नुपर्छ भन्ने मानसिकता बढेको छ ।”

    न्यौपानेले अन्य खेतीसँगै उखुखेतीलाई विस्तार गर्दै लग्नुभएको छ । दुई बिघाबाट उखुखेती सुरु गर्दै आउनुभएका वडाध्यक्ष न्यौपाने यस वर्ष पुनः एक बिघा विस्तार गर्ने योजनामा हुनुहुन्छ । केही समय केराखेतीमा आकर्षित किसान पछिल्लो समय उखुखेतीमा आकर्षित हुँदै गएका छन् । लगानी सुरक्षित भएपछि किसानले उखुखेतीलाई प्राथमिकता दिन थालेको स्थानीय कृषक सुन्दर चौधरी बताउनुहुन्छ ।

    राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजले उद्योगको क्षमताअनुसार वार्षिक ३० देखि ३५ लाख क्विन्टल उखु आवश्यक पर्ने उद्योगका प्रशासनशाखाका प्रमुख इन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगको पहुँचमा अहिलेसम्म छ–सात सय क्विन्टल उखुमात्र रहेको छ । पुस २२ गतेबाट चिनी उत्पादन सुरु गरेको उद्योग उखुको आपूर्ति पर्याप्त नहुँदा नियमित सञ्चालनमा ल्याउन नसकिएको प्रशासन प्रमुख ढकाल बताउनुहुन्छ । रु दुई अर्ब लागतमा निर्माण भएको उद्योगको वार्षिक ३५ हजार ५०० मेट्रिक टन चिनी उत्पादन गर्ने क्षमता रहेको छ ।

    उहाँले उखुखेती विस्तारको काममा उद्योगले समेत काम गर्दै आएको बताउनुभयो । टीकापुर नगरपालिकालगायत क्षेत्रमा उद्योगले जग्गा भाडामा लिएर उत्पादन सुरु गरिरहेको बताउँदै ढकालले बर्सेनि सात हजार बिघामा उखुखेती आवश्यक पर्ने जानकारी दिनुभएको छ । “किसानलाई खेती विस्तारमा कम्पनीले काम गरिरहेको छ । अर्कातिर आफैँ पनि खेती विस्तार गर्दै आएको छ”, उहाँ भन्नुहुन्छ, “कामदार अभाव, यातायातको सहज पहुँचलगायतका समस्या छन् ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.