सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री पौडेल


  •    न्युजभित्तो/७ माघ २०८१, सोमबार १४:३६ 
  • काठमाडौँ, ७ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षितरुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताउनुभएको छ ।

    कृषि विकास बैंक लिमिटेडको आज यहाँ आयोजित ५८औँ वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरुमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय रहेको बताउनुभयो । “पछिल्लो दिनहरुमा बैंकको बचत बढेको छ तर कर्जा अपेक्षित रुपमा बढेको छैन । यो चिन्ताको विषय हो । हामीले उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने सम्भावित क्षेत्रमा बैंकको लगानी बढाउँदै जानुपर्छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।

    उहाँले कृषि विकास बैंकलाई थप व्यावसायिक र प्रतिस्पर्धी भएर काम गर्नसमेत निर्देशन दिनुभयो । “बैंकको सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीको सामूहिक प्रयासबाट बैंक प्रतिस्पर्धी बन्दै गएको छ । तर हामी यसैमा रमाएर बस्ने होइन । अझै राम्रो, अब्बल र प्रतिस्पर्धी बैंकका रुपमा अगाडि बढ्नुपर्छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगति गर्न नसकेको तितो अनुभव हामीसँग छ । यसकारण बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध जीवन्त हुनुपर्छ ।” कृषि विकास बैंक जुन उद्देश्यले स्थापना भएको हो त्यो प्राप्त गर्ने कुरालाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरु सुधार हुँदै गएको र अर्थतन्त्र लयमा फर्किन थालेको बताउनुभयो । यद्यपि, बैंकहरुले कर्जा असुलीमा केही समस्या भोगिरहेको उहाँले स्वीकार गर्नुभयो ।

    “मुलुकको वर्तमान आर्थिक तथा वित्तीय सूचकहरु हेर्दा समग्रमा अर्थतन्त्र सुधारोन्मुख छ । बाह्य क्षेत्रमा सन्तुलन छ । बाढीपहिरोका कारण मुद्रास्फीति व्यवस्थापनमा केही चाप देखिए पनि समग्रमा वाञ्छित सीमाभित्रै छ । बैंकमा तरलता पर्याप्त छ । ब्याजदर घटेको छ”, गभर्नर अधिकारीले भन्नुभयो, “गतवर्षको तुलनामा भन्दा सरकारी राजस्व बढेको छ । आयात–निर्यात बढ्न थालेको छ । पछिल्लो समय पुँजी निर्माणसँग सम्बन्धित सामानहरुको आयात बढेको छ । यसकारण हामी निरुत्साहित हुनुहुँदैन । हाम्रा सकारात्मक पक्ष धेरै छन् ।”

    बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा भने केही समस्या देखिएका कारण यसले खराब कर्जा बढाएको उहाँको भनाइ थियो । “अर्थतन्त्र लामो समय शिथिल भएका कारण र पछिल्लो समय केही अराजक गतिविधि गर्ने तथा ऋण नतिर्ने भनेर अभियान चलाउने व्यक्ति र समूहका कारण कर्जा असुलीमा समस्या भएको छ । यसले दीर्घकालमा कति असर पार्छ भने कुरामा हामी सजग छौँ”, गभर्नर अधिकारीले भन्नुभयो ।

    कृषि विकास बैंकको व्यवस्थापन र कार्यक्षमता अब्बल रहेकोसमेत गभर्नर अधिकारीले बताउनुभयो । नेपालमा कृषि क्षेत्रमा लगानी गर्ने नेतृत्व कृषि विकास बैंकले गरिरहेको उहाँको भनाइ थियो । बैंकिङ प्रणालीबाट कृषि क्षेत्रमा भएको लगानीमा यो बैंकको मुख्य योगदान रहेको गभर्नर अधिकारीले बताउनुभयो । वित्तीय समावेशीता प्रवद्र्धन, ग्रीन फाइनान्स, प्रविधिप्रयोग लगायतका विषयमा बैंकले राम्रो गरिरहेको उहाँले बताउनुभयो ।

    बैंकको सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले दिगो बैंकिङ र वित्तीय स्थायित्वका लागि प्रचलित कानुन र नियामक निकायको निर्देशनको सही पालना, जोखिम व्यवस्थापन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र कर्जाको गुणस्तर कायम गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो । आधुनिक बैंकिङ सुविधा, संस्थागन सुशासन, सुरक्षित तरिकाले सूचना प्रविधिको उच्चतम प्रयोग, लगानीमैत्री नीतिलगायतका माध्यमबाट व्यवसाय विस्तार र गुणस्तरीय सेवा प्र्रवाहमा विशेष ध्यान पु¥याएको उहाँको भनाइ छ ।

    नेपालको ग्रामीण तथा कृषि क्षेत्रको विकासमा सहयोग गर्ने प्रमुख उद्देश्यका साथ विसं २०२४ माघ ७ गते रु पाँच करोड अधिकृत पुँजीसहित कृषि विकास बैंकको स्थापना भएको थियो । बैंकले कृषि र कृषिमा आधारित उद्योग व्यवसायको विकास एवं कृषिको आधुनिकीकरण, औद्योगीकरण, यान्त्रीकरण र व्यवसायीकरणका लागि सरल र सुलभ कर्जा प्रदान गर्दै आएको छ ।

    अहिले बैंक ५१ प्रतिशत सरकारको र ४९ प्रतिशत सर्वसाधारणको स्वामित्वमा रहेको छ । बैंकले हालसम्म एक लाख ५१ हजार कर्जा ग्राहकमा करिब रु दुई खर्ब छ अर्ब कर्जा लगानीमा रहिरहेको छ । त्यसैगरी करिब २० लाख ३४ हजार निक्षेपकर्ताको रु दुई खर्ब ५९ अर्ब निक्षेप परिचालन गरिरहेको छ ।

    बैंकको अधिकृत पुँजी रु २५ अर्ब, जारी पुँजी रु १९ अर्ब २८ करोड ६४ लाख ५१ हजार तीन सय छ । संस्थापक शेयरधनी नेपाल सरकारको ५१ प्रतिशतले हुन आउने रु सात अर्ब छ करोड ६१ लाख ६४ हजार तीन सय ९३ र सर्वसाधारण समूह शेयरधनीको ४९ प्रतिशतले रु छ अर्ब ७८ करोड ९० लाख ५९ हजार नौ सय सात कायम हुनेछ ।

    यसैगरी बैंकको पुँजीकोषको अवस्था सुदृढ र मजबुत देखिएको छ । गत वर्ष १३ दशमलव ७५ प्रतिशत रहेको पुँजीकोष अनुपात गत मङ्सिरसम्ममा १३ दशमलव १४ प्रतिशत छ । हाल बैंकको शेयरधनी सङ्ख्या करिब तीन लाख रहेको छ ।

    आगामी दिनमा बैंकले कोषको लागत कम गर्ने, खर्च घटाउने, न्यूनतम सञ्चालन खर्च कायम गर्ने, निष्क्रिय कर्जा अझै घटाउँदै लैजाने, नयाँ र योग्य जनशक्ति बजारबाट भित्र्याउनेलगायत काम गर्दै जाने योजना रहेको बैंकका प्रवक्ता एवं कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
    बगरखेतीले बदलिँदै कञ्चनपुरका किसानको जीवनशैली
    सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’
    • जलवायुमैत्री खेती लगाउन सिक्दै किसान
    • सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु
    • आज विश्व दम दिवसः नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित
    • मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.