सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा बैठकः दुग्ध किसानको माग सम्बोधन गर्न ध्यानाकर्षण


  •    न्युजभित्तो/७ असार २०८१, बिहीबार १३:५२ 
  • काठमाडौँ, ६ असार । सांसदहरुले आन्दोलनरत दुग्ध किसानको माग सम्बोधन, देशभरका सडक निर्माण विस्तार, विमानस्थलको स्तरोन्नती एवं सञ्चालन र जलवायु परिवर्तनको असरतर्फ नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा विभिन्न विषयमा ध्यानाकर्षण गराउने क्रममा सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानको समस्या तत्कालै समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराउनुभयो । उहाँले सात महिनादेखि किसानले ६ लाखभन्दा बढी किसानले भुक्तानी नपाएको जानकारी गराउनुभयो ।

    “लोकतन्त्रमा न्याय पाउनका लागि लाखौँ व्यक्ति प्रदर्शनीमा आउँछन् अनि सुनिन्छन्”, उहाँले भन्नुभयो, “त्यो लोकतन्त्र होइन, अन्यायमा परे भनेर एकजनाले मात्रै प्लेकार्ड देखाउँछ । समस्या समाधान हुन्छ भने त्यो लोकतन्त्र हो ।”

    सांसद बिना लामाले वर्तमान राजनीतिक व्यवस्थाले नागरिकको अवस्था सुिध्रन नसकेको गुनासो गर्नुभयो । उहाँले संसद् सचिवालयका कर्मचारी र दुग्ध किसानको आन्दोलनबारे ध्यानाकर्षण गराउँदै आन्दोलनरत पक्षको जायज माग सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो ।

    सांसद विनिताकुमारी सिंहले सडक विभाग लहान र ठेकेदार कम्पनीको लापरबाहीका कारण सप्तरी क्षेत्र नं २ अन्तरगत रहेको तोपा बजारमा दुई महिनादेखि सडक निर्माण अधुरै रहेको भन्दै कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद श्यामकुमार घिमिरेले प्राविधिक शिक्षाको आवश्यकता औल्याउँदै सिटिइभीटिले सम्बधन दिने तथा नयाँ कार्यक्रम सञ्चालनबारे अन्योल चिर्न माग गर्नुभयो । प्रत्येक गाउँपालिकामा प्राविधिक शिक्षाका लागि शैक्षिक संस्था खोल्न आवश्यक कानुन ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

    सांसद शान्ति विकले संसद् सचिवालयका कर्मचारीको आन्दोलनले सदन प्रभावित भएको भन्दै आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद शान्ति श्रेष्ठले जलवायु परिवर्तनको असरस्वरुप नेपालमा पानीको मुहान सुक्दै गएको भन्दै उहाँले कृषियोग्य जमिनको संरक्षण र वृक्षरोपणलाई प्राथमिकता दिन जोड दिनुभयो । वर्षायामको समयमा प्राकृतिक विपत् जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्व तयारी गर्न सुझावसमेत दिनुभयो ।

    सांसद शिव नेपालीले राष्ट्रिय हितका लागि सबै राजनीतिक दल र नेतृत्व एक ठाउँमा उभिन आह्वान गर्नुभयो । उहाँले मूलपानी खेल मैदानको स्तरोन्नती र खेलाडीका लागि तलब भत्ता वृद्धि गर्न सुझावसमेत प्रस्तुत गर्नुभयो ।

    सांसद शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकोे रनवे निर्माण र विस्तारमा सचेतना अपनाउन साथै पोखरा र भैरहवा विमानस्थलको सञ्चालनतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद शङ्कर भण्डारीले श्रीङ्गपर्च कृष्ण मार्ग सडक लामो समयदेखि कानुनी उल्झनले अधुरै रहेको भन्दै तत्काल उक्त मार्ग बनाउन सरकारको ध्यानार्कषण गराउनुभयो ।

    सांसद सोविता गौतमले सरकारको सतप्रतिशत लगानी रहेको नेपाल वायुसेवा निगम, राष्ट्रिय ध्वजाबाहक वायुसेवा निरन्तर घाटामा गएको उल्लेख गर्दै यसका सुधारका लागि गठित कार्यदलको प्रतिवेदनको सुझाव कार्यान्वयन नभएको बताउनुभयो । उहाँले सरकारसँग सुझाव कार्यदलले दिएको कति सुझाव कार्यान्वयन भए र नभएकाबारे सदनलाई जानकारी दिनुपर्ने बताउनुभयो ।

    सांसद हर्कमाया विश्वकर्माले दलित समुदायको उत्थान लक्षित बजेटको माग गर्नुभयो ।

    सांसद हरि ढकालले नेपाल धितोपत्र बोर्डमा पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा पुँजी बजार प्रभावित भएको बताउनुभयो ।

    सांसद हितराज पाण्डेले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी बढाउने विषय सरकारको प्राथमिकतामा परे पनि गोरखा जिल्लास्थित कृषि क्याम्पस निर्माण गर्ने निर्णय कार्यान्वयन हुन नसकेको भन्दै तत्काल काम सुरु गर्न ध्यानाकर्षण गराउनुभयो ।

    सांसद ज्ञानु बस्नेत सुवेदीले किसान सङ्घर्ष दिवसका अवसरमा २०३४ सालमा चितवनको जुगेडिमा भएको विरोध कार्यक्रममा मृत्यु भएका चेपाङ समुदायका तीन जनालाई सहिद घोषणा गर्नुपर्ने माग गर्नुभयो ।

    सांसद हेमराज राईले सानो पुँजीमा परम्परागत सीप, प्रविधि र सीप एवं सामग्रीबाट घरेलु मदिरा उत्पादन र प्रयोग गर्ने गरिएको भन्दै यसलाई निश्चित गणस्तर मापदण्ड कायम गरी निर्धारण गरी ब्राण्डिङ गर्न सुझाव दिनुभयो ।

    सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हाइटेन्सन विद्युत् प्रसारण लाईन विस्तारका क्रममा सुनसरी जिल्लास्थित जग्गा अधिग्रहण गर्दा स्थानीयलाई उचित मुआब्जा उपलब्ध गराउन माग गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.