सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय तहको भूमिका जवाफदेही र नागरिकमैत्री हुनुपर्छः प्रधानमन्त्री दाहाल


  •    न्युजभित्तो/२ पुष २०८०, सोमबार १६:०५ 
  • ललितपुर, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको भूमिका जवाफदेही, पारदर्शी र नागरिकमैत्री हुनुपर्ने बताउनुभएको छ । आज ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहका क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताउँदै नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही पारदर्शी र नागरिकमैत्री हुनुपर्छ भन्नुभएको हो ।

    “नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही पारदर्शी र नागरिकमैत्री हुनुपर्छ, समग्र स्थानीय सरकारको विश्लेषण गर्दा त्यो जिम्मेवारी जवाफदेही पूरा गर्न सफल भएकामा ललितपुर महानगरपालिकाका जनप्रतिनिधिसमेत सम्पूर्ण परिवारमा धन्यवाद ज्ञापन गर्दछु”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

    उहाँले ललितपुर महानगरपालिकाले मूर्त र अमूर्त सम्पदा संरक्षणमा लिएको चासो र गरेको चिन्तन प्रशंसनीय रहेको धारणा राख्दै उहाँले महानगरभित्र निर्माण भइरहेका देवालय, शिवालय यसका ज्वलन्त उदाहरण भएको बताउनुभयो ।

    प्रधानमन्त्रीले संस्कृतिलाई आयआर्जनसँग जोड्ने काममा विशेष ध्यान दिनु जरुरी छ भन्दै पर्यटन प्रवद्र्धनमा ललितपुर महानगरको अग्रणी भूमिका रहेको बताउनुभयो । उहाँले विकास निर्माण र सेवा प्रवाहका सन्दर्भमा महानगर विवादरहित ढङ्गले बढिरहेकामा खुसी व्यक्त गर्नुभयो ।

    सङ्घीयता भनेको सङ्घ मात्रै होइन, सङ्घसँगै प्रदेश र स्थानीय तह पनि हो भन्दै प्रधानमन्त्री दाहालले सङ्घीय निजामती ऐन ल्याएर प्रदेश र स्थानीय तहलाई बलियो बनाउन आफू लागिपर्ने जानकारी गराउनुभयो ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सङ्घीयताको कार्यान्वयनमा सङ्घीयताको मर्मअनुरुप संविधानले समन्वय सहकार्य र सहअस्तित्वको व्यवस्था गरेको र मिलेर विकास निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

    उहाँले उपत्यकालाई धुलोरहित बनाउन र यातायातको व्यवस्था सहज बनाउन लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । ललितपुर क्षेत्र नं २ बाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर महर्जनले ललितपुरलाई सांस्कृतिक महानगरका रुपमा विकास गर्न धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

    त्यसैगरी बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले जनताको समस्या समाधानका लागि महानगरले गरिरहेका कामको प्रशंसा गर्दै वातावरण सुधारदेखि संस्कृति सम्पदा संरक्षणमा गरेको काम उत्कृष्ट रहेको धारणा राख्नुभयो ।

    काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँ र ललितपुर दुई परस्पर सम्बन्ध भएका महानगर रहेको बताउँदै दुवै महानगरको विकास समानान्तररुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

    उहाँले स्थानीय तहका अधिकारसम्बन्धी केही कुरा सङ्घीय कानुनमा बाझिएका प्रष्ट गर्दै यसलाई सहजीकरण गरेर समाधान गरिदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले विकास निर्माण र सेवा प्रवाहका सन्दर्भमा नेपाल सरकारसँग हातेमालो गर्दै आइरहेको जानकारी दिँदै धेरै ललितपुर महानगर धेरै कुरामा राम्रो काम गर्न सफल भएको धारणा राख्नुभयो । उहाँले ग्वार्कोको फ्लाइओभरको व्यवस्थापन नहुँदा उपत्यकाकै ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै ग्वार्को, सातदोबाटो, एकान्तकुनाका तीनवटै फ्लाइओभर एकै पटक बनाउन प्रधानमन्त्रीसँग आग्रह पनि गर्नुभयो ।

    संविधानसभा सदस्य तथा पूर्वनगर उपप्रमुख चन्द्र महर्जन स्मार्ट स्टेटलाइट, संस्कृति सम्पदा संरक्षणमा ललितपुर महानगरले गरेको कामको जनताले प्रशंसा गरिरहेको बताउनुभयो । उहाँले संविधानका बारेमा जनतामा चेतना जगाउन विद्यार्थीमा जानकारी गराउनुपर्ने र पाठ्यक्रममा समेटिनुपर्ने धारणा राख्नुभयो ।

    उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरवासीलाई पानीको व्यवस्था गर्न र यहाँबाट उत्पन्न हुने फोहरमैलाको व्यवस्थापनका लागि सहयोग र सहजीकरणका लागि प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

    विसं २०७८ को जनगणनाअनुसार ललितपुर महानगरको जनसङ्ख्या दुई लाख ९४ हजार ९८ छ । ‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा पूर्वाधार’ भन्ने नारासहित सेवा प्रदान गर्दै आएको महानगरले आजदेखि आफ्ना नागरिकको स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । प्रधानमन्त्रीले आपाङ्गता भएका दुई व्यक्तिलाई स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरेसँगै यो कार्यक्रमको सुभारम्भ भएको हो ।

    विसं १९७५ पुस २ गते सरसफाइ अड्डाका नामबाट स्थापित सरकारी कार्यालय पछि नगरपालिका र उपमहानगरपालिका हुँदै विसं २०७३ चैत १० गते ललितपुर महानगरपालिकामा परिणत भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.