सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् : अर्थमन्त्री महत


  •    न्युजभित्तो/२७ मंसिर २०८०, बुधबार १५:५४ 
  • काठमाडौँ, २७ मंसिर । अर्थमन्त्री डा। प्रकाशशरण महतले सरकारको निरन्तर प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिएका छन् ।

    अर्थ मन्त्रालयमा आज आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबाट लिएका सुधारका कार्यक्रमले नतिजा देखाउन थालेको बताए ।

    “मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा अर्थतन्त्रका धेरै सूचक सकारात्मक थिएनन् । कोभिडका बेला सहज मौद्रिक नीति अपनाउँदा त्यसले देखिएका असर व्यवस्थापनका कसिलो नीति लिनुपर्दा केही समस्या सिर्जना भएका थिए”, अर्थमन्त्री महतले भने, “समग्रमा आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् । शेयर बजारमा सकारात्मक लय समातेको छ र जग्गा कारोबार पनि बढ्ने क्रममा छ । तर उत्पादन वृद्धि रोजगार वृद्धिका लागि केही समय लाग्छ । अर्थतन्त्रले निर्णायक रुप लिन्छ । यसका आधार बन्दै गएका छन् ।”

    मौद्रिक नीतिबारे अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैङ्कसँग निरन्तर छलफलपछि अहिले केही निर्णय आएको र यसले बैङ्क वित्तीय संस्थामा ब्याजदर घटाउन मद्दत पुर्याएको अर्थमन्त्री डा। महतको भनाइ छ । “राष्ट्र बैङ्कले नीतिगत दर घटाएपछि बैंकको ब्याजदर पनि घट्दो क्रममा छ । ऋणीका समस्यालाई पनि सम्बोधन गर्न खोजिएको छ । पुँजीबजार र घरजग्गा कारोबारमा सुधारका सङ्केत देखिएका छन्”, उनले भने ।

    त्यस्तै, वित्त नीतिले अवलम्बन गरेका सुधारका कार्यक्रमले पनि बिस्तारै नतिजा देखाउँदै गएको उनको भनाइ छ । “वित्त नीति कार्यान्वयनका लागि विभिन्न कार्यविधि बनेका छन् । केही बन्ने क्रममा छन् । ठेक्का प्रक्रिया छिटोछरितो रुपमा अघि बढिरहेका छन् । यसबाट पनि बजारमा प्रशस्त पुँजी प्रवाह हुने हाम्रो अपेक्षा छ । विदेशी सहायताका क्षेत्रमा पनि हाम्रो नीति र प्राथमिकता बदलिएको छ ।

    “यथेष्ट प्रतिफल भएका आयोजना मात्रै सहयोग लिन्छौँ भनेका छौँ । दातृ निकाय पनि यसमा सकारात्मक छन्”, महतले भने । आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्र सुधारका थप कार्यक्रम ल्याउने गरी सरकारले आन्तरिक तयारी गरिरहेको पनि अर्थमन्त्री महतले भने ।

    “संसारमा यस्तो कुनै अर्थतन्त्र छैन, जहाँ समस्या नदेखिएको होस् । हामीकहाँ वर्षौंदेखि थपिँदै र बढ्दै आएका समस्याको पहाड थियो । त्यसलाई एकैपटक हल गर्छु भन्नू सम्भव थिएन । तर समस्या बिस्तारै हट्दैछन् । अहिलेका उपलब्धिबाट हामी सन्तुष्ट छौँ भन्ने होइन, तर अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ”, उनले भने ।

    चालु खर्चलाई एउटा सीमामा राखेको र पुँजीगत खर्च बढाउनतर्फ लागेको उहाँको भनाइ छ । चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा सरकारको राजस्व सङ्कलन पनि बढेको अर्थमन्त्री महतले भने । यो अवधिसम्ममा सरकारको राजस्व सङ्कलन सात दशमल ५७ प्रतिशतको वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, भन्सार राजस्व १३ प्रतिशतले, मूल्य अभिवृद्धि कर ९भ्याट० सात दशमलव १९ प्रतिशत र आयकरतर्फ १२ प्रतिशतले बढेको उनले बताए ।

    सरकारले सुरु गरेका आर्थिक र बजेट प्रणाली सुधारका कार्यक्रमलाई अझ विस्तार गरी सरकार र निजी क्षेत्रबीच उच्चस्तरको समन्वय कायम गर्ने गरी सरकारले काम गरिरहेको उनको भनाइ छ ।

    अर्थतन्त्रमा देखिएको सकारात्मक अवस्थालाई उपभोग र लगानीमा प्रतिबिम्बित गराउने, सरकारको खर्चमा मितव्ययिता कायम गर्दै सरकारी लगानीमा विद्यमान अवरोधहरु फुकाउने, जाजरकोटमा आएको भूकम्पप्रभावितलाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गरी ध्वस्त संरचनाको छिटो पुनर्संरचना गर्ने र युवालाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्दै अपेक्षित आर्थिक वृद्धिदर हासिल गर्ने गरी सरकारले काम गरिरहेको उनको भनाइ छ ।

    सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ । लगानी सम्मेलनअघि नै लगानीसँग सम्बन्धित कतिपय नीतिगत र कानुनी सुधार अगाडि बढाइने उनको भनाइ छ । लगानी सम्मेलनमा तुलनात्मक लाभका र आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रमा सम्भावित लगानीकर्ताहरुको उपस्थितिमा सार्थक लगानी सम्मेलन गर्न सरकार लागिपरेको महतले बताए ।

    “दीर्घकालमा आर्थिक सुधारसँग जोडिएका नीति र कानुनको तर्जुमा र कार्यान्वयन गर्दै लगानीको अनुकूल वातावरण सिर्जना गरिनेछ । जलविद्युत्को विकास, पर्यटन, कृषिको व्यावसायिकीकरण, सूचना प्रविधि क्षेत्रको प्रचुर सम्भावनालाई ध्यानमा राखी स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिनेछ”, उनले भने । एनसेल खरिद–बिक्री प्रकरणमा नेपालको कानुनभन्दा बाहिर गएर कुनै पनि गतिविधि हुन नदिने अर्थमन्त्री डा महतले बताउनुभयो । “कानुन मान्छु भनेर आएको कम्पनीले अहिले कानुन मान्दिनँ भन्न पाउँदैन । नियामकले यस विषयलाई गम्भीर रुपमा हेर्छ । कानुनअनुसार उठाउनुपर्ने कर एनसेलबाट उठाउँछौँ”, उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.