सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छः प्रधानमन्त्री प्रचण्ड


  •    न्युजभित्तो/१६ श्रावण २०८०, मंगलवार १३:२९ 
  • काठमाडौँ,१६ साउन । प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राज्यको सीमित स्रोत र साधनका बाबजुद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको काम अगाडि बढाउन निर्देशित गर्नुभयो ।

    ‘‘राज्यको साधन स्रोतको सीमितता, विश्वबजारको प्रभावका बाबजुद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले धेरैहदसम्म सुधार गर्नसकिने शैक्षिक जगतमा प्रशस्त दृष्टान्त छन्”, उहाँले भन्नुभयो ।

    प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका पदाधिकारीले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा के–कस्ता काम गर्न सकिन्छ, सोको गहिरो अध्ययन गरी सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै उत्कृष्ट र नमुना विश्वविद्यालयका रूपमा स्थापित गर्न निर्देशन दिनुभयो ।

    विश्वविद्यालयले स्थापनाको छोटो अवधिमै नेपालको उच्चशिक्षाको विकासमा प्रशंसनीय भूमिका निर्वाह गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्रीले उच्चशिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समयसापेक्ष रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तहका कार्यक्रमलाई सुव्यवस्थित बनाउँदै दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रम सञ्चालन गरी अनुसन्धानमूलक गतिविधिलाई प्राथमिकता दिइनु आफैमा महत्वपूर्ण र प्रशंसनीय रहेको उहाँको भनाइ छ ।

    विश्वविद्यालयले आफूलाई नेपालको उच्चशिक्षाको थलोको रूपमा स्थापित गरी देशको आर्थिक, सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै जानुपर्ने उहाँको भनाइ छ । अनुसन्धान कार्यलाई आर्थिक तथा सामाजिक विकाससँग जोडी विज्ञान तथा प्रविधिका विषयलाई उच्च प्राथमिकतामा राखेर दक्षजनशक्ति उत्पादन गरी देशको बेरोजगारी र गरीबी न्यूनीकरण गर्नेतर्फ पनि विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

    विश्वविद्यालय विकासको प्रारम्भिक अवस्थामै रहेकाले जनशक्ति, भौतिक संरचनाको अभावसँगै स्रोत साधनसम्बन्धी प्रशस्त समस्या रहेकामा आफू जानकार रहेको उल्लेख गर्दै उहाँले समस्या पहिचान गरी समाधान गर्न गम्भीर प्रयत्न गर्नुपर्ने बताउनुभयो । विद्यमान समस्या समाधान गर्न सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक हुने भएकाले विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारी तथा समुदायसँग छलफल गरी यस शैक्षिक संस्थाको उन्नति, विकास र सहयोगका लागि सरकार सदैव गम्भीर रहेको प्रधानमन्त्रीको भनाइ छ ।

    सुदूरपश्चिम प्रदेशभित्रका १५ वटा क्याम्पसलाई आङ्गिक क्याम्पसका रूपमा विश्वविद्यालमा समायोजन गर्ने कार्यलाई पूर्णता दिन गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरी थप ११ वटा क्याम्पसलाई पनि समायोजन गर्नका लागि सरकारका तर्फबाट गर्नुपर्ने काम अगाडि बढाइने प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।

    प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “दक्ष र अर्धदक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने अवस्था रहेको कटु यथार्थ हाम्रो सामू छ । अब हाम्रो शिक्षा नीति र विश्वविद्यालयहरूले रोजगारीका लागि विदेशिनुपर्ने यस अवस्थाको अन्त्य गर्ने योजनाहरू अगाडि बढाउनुपर्दछ । यसरी युवा विदेशिनुको मुख्य कारण शिक्षाको कमजोर गुणस्तर र गरिबी नै हुन् ।”

    उहाँले शिक्षाको गुणस्तरमाथि उकास्न सके र देशभित्र रोजगारीको अवसर सिर्जना भए युवा विदेशिने क्रमलाई रोक्न सकिने प्रधानमन्त्रीको भनाइ छ । विश्वविद्यालयमा पढ्दै र कमाउँदै कार्यक्रम लागू गर्न सकिए बीचमै विश्वविद्यालयको पढाइ छोडेर विद्यार्थी विदेशिने समस्या एक हदसम्म समाधान हुने सम्भावना आफूले देखेको उहाँको भनाइ छ ।

    “कुन क्षेत्रमा कुन किसिमको कति जनशक्ति आवश्यक पर्दछ भन्ने कुरा अध्ययन गरी त्यसैअनुसार सम्बन्धित विषयमा कोटा निर्धारण गरी विश्वविद्यालयले विद्यार्थी भर्ना लिने र उत्पादित जनशक्तिले प्राप्त गरेको ज्ञान र सीपअनुसार देशभित्र काम पाउने वातावरण निर्माण गर्न सकिए शैक्षिक बेरोजगारीको समस्या व्यवस्थापन गर्न सकिन्छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो “विश्वविद्यालयले देशलाई कुन किसिमको जनशक्तिको आवश्यकता छ त्यसैअनुसार जनशक्ति उत्पादन गर्ने कार्यक्रम सञ्चालन गर्नतिर ध्यन दिनुपर्ने देखिन्छ ।”

    शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएर आधुनिक र मर्यादित तुल्याउन सकिए मात्र २१औँ शताब्दीको आजको विश्वमा प्रतिस्पर्धा गर्न योग्य एवं समाज र राष्ट्रका निम्ति कर्मठ र लगनशील नागरिक उत्पादन गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उच्चशिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी अनुसन्धानमा आधारित बनाउनुपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले त्यस्ता अनुसन्धान देशको सर्वाङ्गीण विकासमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, विश्वविद्यालयका पदाधिकारीको सहभागिता थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.