सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीजले झन् बढी सम्झाउँछ देवघाटमा रहेका बृद्धाश्रमका आमाहरुलाई घर–माईती


  •    न्युजभित्तो/१३ भाद्र २०७९, सोमबार १२:४६ 
  • नारायण अधिकारी
    चितवन, १३ भदौ । तीज आउने एक महिना अघिदेखि गाउँघरदेखि शहरसम्म दर खाँदै रमाईलो गरिरहेका छन् आमा दिदी बहिनीहरु । नारायगढ बजार आपपासका शहरी क्षेत्रका होटल रेष्टुरेन्टमा तीजका कार्यक्रमहरु धुमधामले चलिरहेको बेला नजिकै रहेको देवघाटधामको बृद्धाश्रममा रहेका आमाहरु भने तीज सम्झेर मात्रै बसिरहनु भएको छ ।

    अरु समयमा भन्दा ती आमाहरुले तीजले निरस बनाउने गर्छ । तीजमा घरमा चेलिबेटी बोलाएर रमाईलो गरेको र आफै पनि माईत गएको स्मरण उहाँहरुलाई भईनै रहन्छ । आज दरखाने दिन विगतलाई सम्झँदै उहाँहरुलाई थप भावुक बनाउने गर्दछ ।

    देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाजकल्याण केन्द्र (बृद्धाश्रम) मा आश्रित भईरहनु भएकी मकवानपुरको भीमफेदीकी ८८ वर्षिया सुभद्रा पुडासैनीले अरु बेलाभन्दा चाडपर्वको बेला बढी पोल्ने गरेको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो “दुःख पर्दा र चाडपर्व आउँदा आफन्त कोही हुँदैन । सम्झेर मात्रै बस्ने हो ।” पहिले पहिले छोरी र ईष्टमित्रलाई बोलाएर दर खुवाएको सम्झँदै उहाँले भन्नुभयो “अहिले त मलाई तीज सुन्दा पनि नरमाईलो लाग्छ ।”

    कान सुनेपनि आँखा नदेख्ने भएकाले संसार अध्यारो भए जस्तै लाग्ने दुखेसो गर्दै पुडासैनीले भन्नुभयो “अब मैले जे भोगिरहेको छु, मेरा सन्तानले यस्तो भोग्न नपरोस् ।” एक छोरी मात्रै भएकी पुडासैनीका श्रीमान् पहिल्यै बितेपछि रेखदेख नपाएर उहाँ बृद्धाश्रममा आईपुग्नु भएको हो । छोरी र नातीनातिनाले भेट्ने त कुरै छोडौं फोन समेत नगर्ने दुखेसो छ ।

    सोही बृद्धाश्रममा रहनु भएकी सिन्धुलीकी ७२ वर्षिया लक्ष्मीमाया श्रेष्ठ विगत नौ वर्षदेखि चाडपर्वलाई निरस बनाएर यही बसिरहनु भएको छ । उहाँले विगतको स्मरण गर्दै भन्नुभयो “हाम्रो जातिले तीज नमनाउने भए पनि रमाईलो हेर्न गईन्थ्यो ।” खानपिनमा रमाउने गरेको विगतलाई सम्झँदै उहाँले अहिले कारागारमा बसेजस्तै भएको गुनासो गर्नुभयो । उहाँले थप्नुभयो “अरु बेला जेनतेन ठिकै हुन्छ, चाडपर्वमा निकै नरमाईलो लाग्छ ।”

    श्रीमान् सानैमा बितेपछि दाजुभाउजुले नहेरेर विरक्तिदै बृद्धाश्रम आईपुग्नु भएकी श्रेष्ठ तीजसँगै पर्वहरु आउने भएकाले अबका दिनले घर सम्झाउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “यहाँ जे छ, त्यसैमा रमाउनु बाहेक केही छैन ।”

    लम्जुङकी ७१ वर्षिया शान्ति घिमिरे श्रीमान्सँगै आश्रममा बस्दै आउनु भएको छ । सन्तान नभएका उहाँहरुको बुढेसकालसँगै बृद्धाश्रममा बितिरहेको छ । उहाँले भन्नुभयो “हरेराम भन्दै भगवानको नाम जपेर चाडपर्व मनाउँछौं । आफन्त कोही छैनन् ।” उहाँले थप्नुभयो “तीजमा रमाईलो गर्ने र रमाईलो हेर्ने हाम्रा दिन गए ।”

    पाल्ने मान्छे नभएर बृद्धाश्रम आएका आफूहरुलाई पर्वको खासै मतलब नहुने गरेको उहाँको भनाई छ । सँगसँगै रहेका एक अर्काले विगतका पीडालाई साटासाट गरेर चित्त बुझाउने गरेको उहाँ बताउनुहुन्छ ।

    पोखराकी दुर्गा लामिछाने अहिले ७३ वर्षमा हिँडिरहनु भएको छ । परिवारमा कोही नभएपछि आठ वर्षदेखि उहाँ यहाँ हुनुहुन्छ । अविवाहित लामिछानेको बुबाआमा बितेपछि साहाराविहिन भएर यहाँ आईपुग्नु भएको हो । उहाँले गहँभरी आँसु पारेर भन्नुभयो “तीज भन्ने वित्तिकै आमा, आफन्तहरुलाई सम्झना हुन्छ ।” उहाँले थप्नुभयो “अब त मिठो चोखो खान पनि स्वास्थ्यले साथ दिंदैन, चाडपर्व नआईदिए हुन्थ्यो भन्ने लाग्छ ।”

    बृद्धाश्रममा ३३ जना बृद्धबद्धा रहेका छन् । नेपाल सरकारले सञ्चालन गरेको भए पनि बृद्धाश्रममा रहेकाहरुलाई वर्षभरी नै दाताहरुले विभिन्न अवसरमा सहयोग गर्ने गरेका छन् । जन्मदिन, विवाहको दिन, पुण्य तिथि पारेर खान खुवाउने, कपडाहरु दिने गरेका छन् ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरे पर्वको अवसरमा घर सम्झना नआउने गरी विशेष खानपानको व्यवस्था गर्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “बृद्धबृद्धाहरुको स्वास्थ्यलाई हेरेर पर्वमा विशेष खानाको व्यवस्था गर्दछौं ।” यहाँ जतिसुकै राम्रो गरे पनि तीजमा आमाहरुलाई घर र माईतीको सम्झना भने आईनै रहने गरेको उहाँको भनाई छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.