सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सँस्कृतिक र परम्परागत लय छोडेर भद्धा मजाकमा तीज


  •    न्युजभित्तो/११ भाद्र २०७९, शनिबार १७:१० 
  • नारायण अधिकारी
    चितवन, भदौ ११ । वर्षभरिका नारी वेदनालाई गीतको माध्यमबाट पोख्ने पर्व तीजले अहिले लय छोड्दै गएको छ । घरपरिवारभित्रको दुःख, समाजको अत्याचार, कुरीति र विसङ्गतिविरुद्ध सङ्गीतबद्ध गरिएका आवाज समाज परिवर्तनका संवाहक बन्दथे तर अहिले ठीक उल्टो भएको छ । समाजलाई सही बाटोमा हिँडाउने गीतहरू भद्दा र मजाकका वस्तुजस्तै बनेका छन् । ‘भाइरल’ र चर्चित बन्ने नाउँमा गीतलाई अपभ्रम गराइएको छ । लय, ताल र सुरमा तीजको कुनै छनक नै पाइँदैन ।

    भरतपुर महानगरपालिका–१० सिर्जनाचोक निवासी ८६ वर्षीया विष्णुमाया गौतमलाई उहिलेको तीजबारे सोध्दा गुनगुनाउनुभयो,

    “घ्यू भरेर राखे आमा फूल भरेको टिनमा
    बाँचे आमा भेटौँला वर्ष दिनमा”

    गुनगुनाउँदै कुराकानी सुरु गर्नुभएकी उहाँले पुराना गीतका अरु टुक्का समेत गाउँदै अहिले निस्किएका गीत भने आफूले सम्झनै नसक्ने बताउनुभयो । विष्णुमायाले भन्नुभयो, “अहिलेका गीतमा मलाई खासै रुचि छैन । यी तीजका गीतजस्ता पनि छैनन् ।”

    अहिलेका गीतहरू सुन्दा दिक्क मान्नुहुने उहाँ आफूहरूले पहिला–पहिला गाएका गीतहरु सम्झँदै पहिलाको जस्तो रमाइलो अहिलेका तीजमा हुन छाडेको बताउनुभयो । विष्णुमायाले भन्नुभयो, “दिनभरि काम र साँझपखको घरधन्दा सकेर गाउँका दिदिबहीनी जम्मा भइ तीज मनाउन गीत गाउने गरिन्थ्यो ।” अहिले तीज भड्किलो बन्दै गएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “घरको आँगनीबाट अहिलेको तीज पार्टीप्यालेस र होटलमा सरेका छन् ।”

    गाउँका घरघरमा पालैपालो गीत गाउने गरेको सम्झँदै विष्णुमायाँले गाउँका भाका र पुरानो सभ्यता हराउँदै गएकामा चिन्ता पनि व्यक्त गर्नुभयो । उहाँले आफ्ना पालामा गाइने गीतका टुक्का सुनाउनुभयो ः

    “सयपत्री फूल फुल्यो बारीमा
    टिपम् क्यारे सुनको थालीमा
    भगवान्को सेवा गरे स्वर्गमा जान पाइन्छ
    नभुलौ स्वामीराजै जन्म जालैमा”

    यस्ता गीतहरू अहिले बजारमा सुन्न नपाउँदा तीज मनाउने चलन नै फेरिएको महसुस भएको विष्णुमायाले बताउनुभयो । पहिला तीजमा दर खाने दिन मात्रै माइत जाने गरेको सम्झँदै उहाँले भन्नुभयो, “माइतबाट लिन नआए जान पाइँदैनथ्यो । बाटो टाढा हुन्थ्यो । आमाले दाइभाइलाई लिन पठाउनुहुन्थ्यो ।”

    अहिले तीजभन्दा अगाडि नै दर खाने चलन बढ्दै गएको र तीजमा पहिलाको जस्तो रौनकता पनि नरहेको भरतपुर महानगरपालिका–१० निवासी ७६ वर्षीया मनकला पन्थीले बताउनुभयो । “समयअनुसार चाडपर्व मनाउने परिपाटी पनि परिवर्तन भएको हुनसक्छ ।” उहाँले भन्नुभयो, “पहिले–पहिले गाउँघरमा बसेर तीज मनाउने गरेको भए पनि अहिले त पार्टी प्यालेसमा गए दर खाए आए । गीतहरूमा समेत विकृति भित्रन थालेको छ। ”
    गीत गाउँदा पहिला दिदीबहिनी भेला भएर सुख दुःखका कुरा र सासुले दिएका पीडालगायत विषयमा गाउने गरेको भए पनि अहिले कसको श्रीमान्ले कति कमाउँछ भन्नेमा मात्रै केन्द्रित भएको उहाँको भनाइ थियो ।

    भरतपुर महानगरगरपालिका–८ निवासी ६५ वर्षीया विष्णुकुमारी रेग्मीले अहिले तीज मनाउने चलनमा धेरै परिवर्तन आएको छ भन्नुभयो । एक महिनाअघिदेखि दर खाने कार्यक्रम नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिले समयले सिकाएको होला ।” पहिला–पहिला दर खाने दिन माइतमा गएर दर खाने गरेको स्मरण गर्दै विष्णुकुमारीले थप्नुभयो, “ राति आमाले पकाएर दिएको दर र गाउँभरिका दिदी–बहिनी जम्मा भएर गीत गाउने अगाडि अहिलेको पार्टी प्यालेसमा गरिने कार्यक्रमको के रौनक ।”

    भरतपुर महानगरपालिका–१० रिजाल चोककी ६५ वर्षीया अम्बिका धितालले पहिला–पहिला तीजमा दुःख बाँडेर मनाउने गरिएकामा अहिले रमाइलोका लागि मनाउने परिपाटी बसेको बताउनुभयो । अहिले तीज सबै मिलेर पार्टी प्यालेसमा मनाउने गरेको, भड्किलो पनि बनेको र पुराना चलन हराउँदै गएको उहाँको भनाइ थियो । दाजुभाइ–दिदीबहीनी जम्मा भएर रमाइलो गर्ने गरेको सम्झँदै उहाँले भन्नुभयो, “तीजको मौलिकता हराउँदै गयो । यसलाई बचाउनेतर्फ ध्यान कसैको जान सकेन ।”

    तीजको दिन पानी पनि नखाई व्रत बस्नुपर्ने भएकाले अघिल्लो साँझ अबेर दरिलो हुने गरी खाने खानालाई दर भन्ने चलन छ । व्रत बस्नु २४ घण्टा अघिदेखि माछा, मासुजस्ता ‘जुठो’ वस्तु खान नहुने हुनाले घ्यू–भात, दूध, दहीजस्ता आडिला र दरिला खाना खाएर भोलिपल्ट व्रत बस्नु तीजको परम्परा रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.