सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन क्षेत्र नं ३ बाट प्रचण्डलाई पन्छाउन खोज्दै कांग्रेस


  •    न्युजभित्तो/६ भाद्र २०७९, सोमबार १०:५० 
  • चितवन, भदौ ६। स्थानीय तहको निर्वाचनका बेला कांग्रेसको जिल्ला स्तरका नेताको व्यापक विरोधका बीच पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई उमेदवार बनाएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापति राजेश्वर खनाललगायतका नेतालाई अन्तिम समयमा मनाएर मेयरमा माओवादी केन्द्रलाई सघाउन निर्देशन दिएका थिए । सोहि अनुसार मेयरमा दाहाल निर्वाचित पनि भइन् ।

    संघीय चुनावमा पनि भरतपुर महानगरको अधिकांश भूभाग पर्ने चितवन क्षेत्र नं ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव लड्ने भएपछि कांग्रेसका कतिपय नेताहरु असन्तुष्ट छन् । गठबन्धन कायमै रहेकाले क्षेत्र नं ३ मा यस पटक पनि माओवादी केन्द्रलाई नै जिताउन पर्ने हो कि भन्ने आशंका कांग्रेस नेतामा देखिन्छ । कांग्रेसको असन्तुष्ट पक्षले यस पटक प्रचण्डलाई क्षेत्र नं ३ बाट पन्छाउन खोज्दै छ ।

    कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवन क्षेत्र नं ३ आफ्नो पार्टीलाई दिइनुपर्ने बताउँछन् । जिल्लाको पूर्व पार्टी सभापतिसमेत रहेका गुरुङले भरतपुर महानगरमा कांग्रेसले दुई पटकसम्म सहयोग गरिसकेकाले अब क्षेत्र नं ३ कांग्रेसलाई दिनुपर्ने बताउँछन् । ‘फेरि पनि गठबन्धनले प्रचण्डलाई ३ नम्बर क्षेत्रबाट उमेदवार बनाउने हो भने चितवनमा कांग्रेस नरहने भयो। त्यसैले त्यो क्षेत्र हामीलाई दिनुपर्छ’, उनले भने ।

    कांग्रेसका हालका जिल्ला सभापति खनालले पनि एक टेलिभिजन कार्यक्रम मार्फत प्रचण्डलाई अन्यत्र क्षेत्र रोज्न सुझाव दिएका थिए । यद्यपी जिल्ला स्तरका नेताको विरोधले केन्द्रिय सभापतिलाई केहि फरक नपर्ने गरेको विगतको उदाहरण छ ।

    चितवनका तीन क्षेत्रमध्ये सत्ता गठबन्धन तुलनात्मक रूपमा सबैभन्दा बलियो रहेको तीन नम्बरलाई नै मानिन्छ। अघिल्लो चुनावमा नेकपा एमालेसँग तालमेल गरेका प्रचण्डले त्यही क्षेत्रबाट जितेका हुन्। करिब नौ हजार मतको अन्तरले उनले राप्रपाका विक्रम पाण्डेलाई पराजित गरेका थिए। प्रचण्डले ४८ हजार २७६ र पाण्डेले ३८ हजार ९३५ भोट पाएका थिए।

    माओवादी केन्द्रको नेताहरु भने प्रचण्डले कुनै हालतमा क्षेत्र छाड्ने अवस्था नहरेको दाबी गर्छन् । एक्लै चुनाव लड्दा पनि जित्न सक्ने आधार माओवादीले बनाएको उनीहरुको दाबी छ । प्रचण्डका भाई नारायण दाहालले पनि कांग्रेसको केन्द्रिय नेतृत्वबाट प्रचण्ड क्षेत्र नं ३ बाट हट्नुपर्छ भनेर कसैले नभनेको भन्दै प्रचण्ड यहि क्षेत्रबाट चुनाव लड्ने बताउँछन् ।

    यसअघि प्रचण्ड रोल्पा, काठमाडौँ र सिराहाबाट उमेदवार बनेका थिए। कांग्रेसका कतिपय नेताहरु अहिले प्रचण्डलाई जोखिमपूर्ण क्षेत्रमा पठाउने कोशिस गरेका छन् ।

    भरतपुर महानगरपालिकाका २९ मध्ये १९ वटा वडा र नौवटा वडा रहेको माडी नगरपालिका उक्त क्षेत्रमा पर्छन्।
    गत स्थानीय तह चुनावमा वडाध्यक्षले पाएको कुल मतपरिणाम हेर्दा त्यहाँ सत्तापक्षका तीन प्रमुख दलले ४५ हजार ३२० मत पाएका थिए। नेकपा एमालेले २९ हजार ८५१ र राप्रपाले ६ हजार १९८ भोट पाएका छन्।

    दलगत रूपमा कांग्रेस २९ हजार ३४३ मतका साथ दोस्रो र माओवादी १० हजार ९४० मतका साथ तेस्रो स्थानमा छन्। एकीकृत समाजवादीले ५ हजार ३७ मत पाएको थियो। यद्यपि उक्त मतपरिणामले सत्तापक्षीय गठबन्धनका दलहरूको वास्तविक हैसियत भने देखाउँदैन ।

    किनकि त्यस क्षेत्रमा पर्ने भरतपुर महानगरका १९ वटा वडामध्ये १३ वडाध्यक्षमा मात्र उम्मेदवारी दिएको कांग्रेसले २६ हजार ७६२ मत, पाँचवटा वडामा अध्यक्षका उमेदवार बनाएको माओवादीले ७ हजार १०० मत र तीन वडामा अध्यक्षको उम्मेदवार बनाएको नेकपा एकीकृत समाजवादीले ३ हजार ४४९ मत पाएका थिए।

    एमालेले १८ वडामा उमेदवार बनाएर २४ हजार ५७३ मत र सात वटा वडाध्यक्ष उठाएको राप्रपाले एक हजार ९२८ मत पाएको थियो। माडीका नौ वडामध्ये सबैमा उम्मेदवारी दिएका दलहरूमा एमाले ५ हजार २७८ मतका साथ पहिलो र ४ हजार २७० मतका साथ राप्रपा दोस्रो स्थानमा रहे।

    चार÷चार वटा वडामा उम्मेदवारी दिएका माओवादीले ३ हजार ८४० र कांग्रेसले २ हजार ५८१ मत पाए। दुई वडामा उम्मेदवारी दिएको नेकपा एकीकृत समाजवादीले एक हजार ५८८ मत पाएको छ।

    क्षेत्र नम्बर ३ मा एमाले र राप्रपाभन्दा सत्ता गठबन्धन झन्डै १० हजार ००० मतले अघि देखिए पनि तालमेलका कारण वडाको मतपरिणामका आधारमा दलहरूको वास्तविक हैसियत भन्न नसकिने बताइन्छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.