चितवन ,१६ जेष्ठ– सरकारले आगामी आर्थिक वर्ष २०७९\८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले उक्त आकारको बजेट ल्याएका हुन् ।
सरकारले ल्याएको बजेटले चितवनका निजी क्षेत्रलाई उत्साहित बनाएको छ । निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन भएको भन्दै निजी क्षेत्रले बजेटको स्वागत गरेको छ । बजेटमा स्वदेशी उत्पादन र उद्योग प्रवर्धन, पर्यटन पूर्वाधार विकासजस्ता विषयले निजी क्षेत्रलाई उत्साहित बनाएको छ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ बजेटले निजी क्षेत्रको धेरै बिषयलाई सम्बोधन गरेको बताउँछन् । बजेटले उद्यमी व्यवसायीहरुलाई उत्साहित बनाएको उनी बताउँछन् । चितवनलाई आर्थिक हवको रुपमा बिकास गर्नुपर्छ भन्ने माग यस पटकको बजेटले सम्बोधन गरेको उनको भनाइ छ ।
‘बजेट सकारात्मक छ । चितवनकै हकमा भन्नुपर्दा पनि धेरै बिषय समेटिएको छ, उनी भन्छन्, ‘चितवनलाई आर्थिक हवको रुपमा अघि बढाउनुपर्छ भनेर निजी क्षेत्रले माग गर्दै आएको थियो । केही हदसम्म यसको सम्बोधन भएको छ ।’
करको दर घटाउने, दायरा फराकिलो बनाउने जस्ता बिषय स्वागतयोग्य भएको उनी बताउँछन् । सरकारले व्यक्तिगत आयकर सीमालाई परिवर्तन गरेको छ । एकल व्यक्तिका हकमा पाँच लाख र दम्पतीको हकमा ६ लाखसम्म वार्षिक आय भएकाले एक प्रतिशत मात्रै आयकर तिर्नु पर्ने व्यवस्था स्वागत योग्य भएको उनी बताउँछन् । निजी क्षेत्रले लामो समयदेखि यो माग गर्दै आएको थियो । यस पटक बजेटमा समेटिएको उनी बताउँछन् । ‘हामी निजी क्षेत्रले जहिले पनि यो माग उठाउँदै आएका थियौं । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकमा प्रस्ताव पठाएका थियौं । अहिले लागू भएको छ । यो पनि स्वागतयोग्य छ’, उनी भन्छन् ।
कृषि वस्तुको आयात निरूत्साहित गर्ने, स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने, रूग्ण उद्योग सञ्चालन गर्ने जस्ता बिषयले व्यवसायीलाई उत्साहित बनाएको उनी बताउँछन् । उनका अनुसार बजेटले नितीगत रुपमा नै आयात प्रतिस्ठापनको बिषय सम्बोधनमा भने केही कमी भएको छ ।
तर बजेटमा समेटिएका बिषयहरु कार्यान्वयन हुनेमा पनि आशंका देखिन्छ । कार्यान्वयन पक्ष बलियो हुन सके मात्रै बजेट सफल हुने श्रेष्ठ बताउँछन् । ‘बजेट राम्रो छ । तीन खम्बे अर्थ निती अनुरुप नै बजेट ल्याईएको छ । चालु आर्थिक वर्षको भन्दा १० प्रतिशत बढी छ । अब तोकिएको अनुसार नै काम भयो भने सफल हुन्छ’, उनी भन्छन् ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेल बजेटले आशावादी बनाएको बताउँछन् । निजी क्षेत्रका धेरै मागहरु सम्बोधन भएको उनी बताउँछन् । ‘निजी क्षेत्रका मागहरु अथाहा छन् । समग्रमा धेरै मागहरु सुनवाई भएको छ । हाम्रो मागहरु सम्बोधन भएका छन् । तर अब कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्नेमा भर पर्छ’, उनी भन्छन् ।
कृषि र पशुपंक्षी बीमाको ८० प्रतिशत राज्यले तिर्ने, स्वदेशमै उत्पादन हुने सामाग्रीहरुको आयात घटाउने, स्वदेशी सामान उत्पादनमा राज्यले दिने सुविधाका बिषयलाई सकारात्मक तरिकाले नै लिन पर्ने उनी बताउँछन् ।
बजेटले धेरै क्षेत्रलाई समेट्न खोजेको देखिए पनि कार्यान्वयनमा भने उनी पनि आशंका व्यक्त गर्छन् । ‘बजेट उद्यमी व्यवसायी उन्मुख नै छ । धेरै क्षेत्रलाई समेट्न खोजिएको चाँही देखिन्छ, उनी भन्छन्, ‘तर अब कार्यान्वयनको पक्ष कस्तो रहन्छ यसमा शंका छ । ६ महिनापछि निर्वाचन आउँदैछ । सरकार परिवर्तनको कुरा छ । एउटा सरकारले ल्याएको कार्यक्रम अर्को सरकारले अघि नबढाउने हाम्रो परम्परा नै छ ।’
अम्लेखगंजदेखि चितवनसम्म पेट्रोलियम पाइप लाईन जोड्ने, औद्योगिक केन्द्रलाई निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्ने जस्ता बिषय समेटिएकोले बजेटलाई सकारात्मक रुपमा लिन सकिने उनी बताउँछन् । सामाजिक सुरक्षा भत्ताको बिषयमा भने दलहरुबीच प्रतिस्पर्धा भएको भन्दै उनले यसको कार्यान्व्यनको पक्षमा आशंका व्यक्त गरे ।
उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिल कृष्ण श्रेष्ठ बजेट महत्त्वकांक्षी भए पनि स्वागतयोग्य नै रहेको बताउँछन् । बिशेष गरी सरकारले उद्योगी व्यवसायीहरुलाई ५० वर्षसम्मका लागि जग्गा लिजमा दिने निर्णय स्वागतयोग्य भएको उनी बताउँछन् । ‘अहिले भू खण्डिकरण र प्लटिङका कारण जग्गा सकिने अवस्था र जग्गाको मूल्य बढीरहेको अवस्थामा उद्योगी व्यवसायीहरुलाई ५० वर्षसम्म लिजमा दिने निर्णय अत्यन्तै स्वागतयोग्य छ, उनी भन्छन्, ‘लगानीको ५० प्रतिशत भन्दा बढी जग्गामै लगाउनुपर्ने अवस्था थियो । यसले धेरै राहत मिल्नेछ ।’
स्वदेशी उत्पादनलाई प्रवर्द्धन, आयात घटाउने, उद्योगहरु सञ्चालन गर्ने, शक्तिखोरमा औद्योगिक ग्राम जस्ता बिषयले व्यवसायीलाई उत्साहित बनाएको उनी बताउँछन् । ‘औद्योगिक ग्राम निकै महत्त्वपूर्ण कुरा हो, उद्योगहरु सञ्चालन गर्ने, नेपालमै उत्पादन हुने बस्तुहरु आयातमा कडाई गर्नेलगायतले व्यवसायीलाई उत्साहित बनाएको छ’, उनी भन्छन् ।
सुरुङमार्ग र द्रुत मार्गले व्यवसायीहरुलाई आशावादी बनाएको उनको भनाई छ । यो कार्यान्वयन हुन सके चितवनमा उत्पादित बस्तुहरु अन्य जिल्लामा आयात र बजारिकरणमा कोशेढुङ्गा सावित हुने उनी बताउँछन् ।
बजेटमा ल्याईएका योजनाहरु कार्यान्वयनमा कडाई गर्नुपर्ने उनको सुझाव छ । ‘सरकारले ल्याएको कुरा कति लागू हुन्छ कति हुँदैन भन्ने हो । हामीले आशाको नजरले नै हेर्ने हो, उनी भन्छन्, ‘अब बजेट कति खर्च हुन्छ भन्ने हो । यस अघि २०-३० प्रतिशत मात्रै खर्च भएको देखिन्छ । हेरौं हामीले आशा गर्ने नै हो ।’