सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माधव नेपालको गृह प्रदेशमा केपी ओलीको विशेष अभियान


  •    न्युजभित्तो/४ बैशाख २०७९, आईतवार १६:३८ 
  • ४ वैशाख, काठमाडौं । स्थानीय चुनाव २०७४ मा रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये एउटाको पनि नेतृत्व नेकपा एमालेले जितेन । मध्यपहाडी राजमार्गले छोएको र पहाडी समुदायको समेत बसोबास रहेको चन्द्रनिगाहपुर नगरपालिकामा उपमेयर जित्नु नै एमालेको सफलता थियो ।

    तर अहिले एमालेसँग चार स्थानीय तहका प्रमुख र पाँच उपप्रमुख छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृह जिल्ला रौतहटमा चुनावबाट पराजित भए पनि पार्टी प्रवेश गराएर एमालेले सम्मानजनक संख्यामा जनप्रतिनिधि आफ्नो पक्षमा उभ्याएको हो ।

    ‘अहिले हामीले अभूतपूर्व ढंगले मधेशमा ध्यान केन्द्रित गरेका छौं’ प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भन्छन्, ‘२०७४ को स्थानीय चुनावमा पाँचौं शक्तिका रूपमा रहेको एमालेप्रति मधेशमा बढेको विश्वासले उत्साहित बनाएको छ ।’

    नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बाट प्रवेश गरेका सहित ३१ वडा अध्यक्षसमेत यतिखेर एमालेको झण्डा बोकेर चुनावी तयारीमा जुटेका छन् । पार्टी प्रवेशको त्यही संख्या देखाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘मधेश प्रदेशमा एमालेको लहर चलेको’ दाबी गर्ने गरेका छन् ।

    विशेष गरी २९ असार २०७८ मा सत्ताबाट बाहिरिएपछि एमालेले मधेश प्रदेशलाई प्राथमिकतामा राखेको छ । पार्टीका नेता माधवकुमार नेपाल एमालेबाट अलग भएपछि मधेशमा पुगेको क्षति कम गर्न पनि यो प्रदेशमा एमालेको विशेष ध्यान गएको बुझ्न सकिन्छ ।

    किनकि मधेश प्रदेशका २१ मध्ये १४ प्रदेश सभा सदस्य नेकपा एकीकृत समाजवादीमा लागेका छन् । २ भदौ २०७८ मा पार्टी गठन भएलगत्तै एकीकृत समाजवादीले मधेश प्रदेशका केही ठाउँमा ठूला सभा समेत गरेको थियो । त्यसको सन्देश राष्ट्रव्यापी हुने नै भयो ।

    त्यसै पनि मधेश प्रदेशमा २०७४ को स्थानीय चुनावमा कमजोर शक्तिमा दर्ज हुन पुगेको थियो । बाँकी ६ प्रदेशमा पहिलो शक्ति बनेको एमाले मधेश प्रदेशमा पाँचौं शक्तिको रूपमा खुम्चिएको थियो । मधेश प्रदेशका १३६ मध्ये १६ स्थानीय तह मात्रै एमालेले जितेको थियो । त्यसको कारण भने २०७२ को नाकाबन्दीका बेला अध्यक्ष ओलीले दिएको अभिव्यक्ति र लिएको निर्णय नै थियो ।

    नागरिकता, संघीयता, समानुपातिक समावेशिता, प्रदेश सिमांकन जस्ता विषयमा एमालेले मधेश केन्द्रित दलहरूसँग फरक अडान लिएको थियो । ओलीले दिएका अभिव्यक्तिहरूले एमालेप्रति बढ्दो असन्तुष्टिलाई थप मलजल गर्‍यो । कतिसम्म भने त्यसबेला मधेश प्रदेशमा ‘एमाले मुक्त अभियान’ नै चलेको थियो । मत परिणाममा एमालेले त्यसको सजाय पायो पनि ।

    सम्भवतः त्यही तथ्य बुझेर होला, अध्यक्ष ओलीले सार्वजनिक मञ्चहरूमा दिने अभिव्यक्ति पनि मधेशको मन जित्न केन्द्रित देखिन्छ । मुख्यगरी नागरिकताको विषयलाई ओलीले प्राथमिकतामा राखेका छन् ।

    मधेशकेन्द्रित दलहरूको बलियो प्रभाव रहेको सर्लाहीको सदरमुकाम मलंगवा पुगेर शनिबार अध्यक्ष ओलीले आफू मधेशी जनताको पक्षमा रहेको दाबी गरे ।

    ‘संसदमा काम गर्न नदिंदा पनि, अवरोध गर्दा पनि संविधान अनुसार अध्यादेशबाट मधेशी जनताले भोगिरहेको नागरिकता समस्याको समाधान गर्न खोजियो’ ओलीको भनाइ थियो, ‘तर अहिलेको गठबन्धनमा रहेका मधेशी जनताका मसिहा हुँ भन्नेहरू के भन्छन् ? कहाँ गयो त्यो अध्यादेश ? सरकारमा लाज मानेर बस्ने हो, छोडेर निस्किनुपर्दैन ? जनताको अधिकार खोस्दा त्यसको विरोध गर्न सक्नुपर्दैन ?’

    यसअघि पर्सा पुगेर पनि एमाले अध्यक्ष ओलीले नागरिकताकै विषय उठाएका थिए । भलै, नागरिकता सम्बन्धी अध्यादेश वर्तमान सरकारले नभएर सर्वोच्च अदालतका कारण कार्यान्वयन हुन रोकिएको हो ।

    तर ओलीले भने त्यही अध्यादेशलाई मधेशी मतदाताको मन जित्ने अस्त्रका रूपमा प्रयोग गरेका छन् । गएको ८ चैतमा प्रेमबहादुर सिंह र करिश्मा मानन्धरलाई पार्टी प्रवेश गराउने क्रममा त ओलीले ‘एमाले जय मधेश भन्ने पार्टी भएको’ बताएका थिए ।

    एमाले मधेश प्रदेशका इन्चार्ज रघुवीर महासेठ, ओली नेतृत्वको सरकारमा सहभागी भएर पनि मधेशवादी दलहरूले ठोस काम गर्न नसकेकाले एमालेप्रति उत्साह बढेको बताउँछन् । ‘अहिले एमालेप्रति मधेशी जनताको विश्वास बढेको छ । एमाले नै मधेशमैत्री पार्टी हो भन्ने मधेशी जनतालाई लागिसकेको छ’ महासेठ भन्छन्, ‘एमालेको स्थिति २०७४ को स्थानीय र संघीय निर्वाचनको बेला भन्दा राम्रो छ ।’

    ‘हाइप्रोफाइल’ प्रवेशबाट सन्देश

    तुलनात्मक रूपमा अन्यत्रभन्दा मधेश प्रदेशमा एमाले प्रवेश गर्ने संख्या र सन्देश अलि धेरै नै छ । एमालेले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न सक्ने अरू पार्टीका नेता र जनप्रतिनिधि छानी–छानी पार्टी प्रवेश गराएको छ ।

    एकीकृत समाजवादीको समेत राम्रो पकड रहेको मधेशमा पार्टी प्रवेश गराएरै शक्ति आर्जन गर्न खोज्नुको पछाडि माधव नेपाललाई कमजोर बनाउने प्रयत्न पनि एक हो । शनिबार मात्रै सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख कैलाशकुमार यादवलाई ओलीले एमालेमा स्वागत गरे ।

    फागुनको अन्तिम साता वीरगञ्ज महानगरपालिका मेयर विजय सराबगी नै एमाले प्रवेश गरेका थिए । उनीसँगै दुई वडाध्यक्ष पनि एमाले प्रवेश गरे । जसपाबाट प्रवेश गरेका उनी एमालेबाट मेयरको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

    ‘वीरगञ्जलाई एमाले मुक्त बनाउँछौं’ भन्ने सराबगीलाई नै पार्टीमा ल्याएर मेयरको टिकट दिनुको कारण उनीसँग भएको भनिएको ‘व्यक्तिगत’ भोट नै प्रमुख हो । अघिल्लो चुनावमा १९ हजार ३९३ मत ल्याएर सराबगी मेयर बन्दा एमालेका बसरुद्दिन अन्सारीले ८ हजार ६८८ मत पाएका थिए ।

    त्यसअघि गत पुसमै पर्साको जगनाथपुरका जालिम मियाँ एमाले प्रवेश गरे । बारा र पर्साका मुस्लिम समुदायमा मियाँको राम्रो पहुँच रहेको विश्लेषण गरिन्छ । बारामा पनि एमालेले अरू पार्टीका जनप्रतिनिधि तानेको छ ।

    पार्टी प्रवेश भएकाहरूसँग टिकटको लेनदेन गरिएको तथ्य लुक्दैन । अर्थात् टिकट पाइने आशामा एमाले प्रवेश गर्ने संख्या बढिरहेको छ । यसमा एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रबाट प्रवेश गर्नेहरूप्रति राखेको सफ्ट कर्नरले पनि काम गरेको छ ।

    एमाले मधेश प्रदेशका अध्यक्ष ज्वालाकुमारी साह, अहिले मधेशमा माओवादीबाट एमाले प्रवेश गर्नेको संख्या बढेको बताउँछिन् । ‘पहिलो त, मधेशमा हाम्रो पार्टी अध्यक्षको क्रेज नै बढेको छ’ साहले अनलाइनखबरसँग भनिन्, ‘दोस्रो; पहिलेका माओवादीहरू एमालेमा प्रवेश गर्ने दर बढेको छ ।’

    पार्टी प्रवेशको क्रमसँगै एमालेमा पहिल्यै रहेको समूह र नयाँ आएकाहरूको समूहबीच मतभेद पनि बढ्दो छ ।

    माओवादीबाट आएका प्रभु साहको समूह र पार्टीमा रहेका रघुवीर महासेठको समूहकै कारण मधेश प्रदेशका जिल्ला अधिवेशनहरू विवादित बनेका छन् । त्यसलाई बुझेर एमाले अध्यक्ष ओलीले चुनावसम्म आन्तरिक विवाद बाहिर नल्याउन आग्रह गरेका छन् ।

    ‘अन्तरविरोध नहुने त कुनै पार्टी छैन, हाम्रोमा पनि होला’ महासेठ भन्छन्, ‘तर आन्तरिक विवादलाई अहिले हामीले थाती राखेका छौं । चुनावमा मधेशमा पनि पहिलो पार्टी बन्ने अभियानमा पार्टीमा कुनै मतभेद छैन ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.