सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाउँपालिकाको कार्यालय विस्थापनपछि अर्को जिल्लाबाट सेवा प्रवाह


  •    न्युजभित्तो/१४ असार २०७८, सोमबार १६:४४ 
  •  मनाङ, १४ असार । बाढीले यहाँको नासों गाउँपालिकाको कार्यालय पूर्ण रुपमा विस्थापित भएको छ । गाउँपालिकाको कार्यालय रहेको धारापानी बजार बाढीले बगाएपछि लमजुङको बेँसीशहरमा अस्थायी कार्यालय सेवा दिँदै आएको छ ।

    गत जेठ ३१ गते रातिदेखिको अविरल वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढीले कार्यालयसमेत बगाएपछि गाउँपालिकावासीको सहजताका लागि गाउँ कार्यपालिका बैठकले बेँसीशहरमा आपत्कालीन कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम अहिले गाउँपालिकाको सेवा बेँसीशहरबाट दिइँदै आएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो ।

    बाढीले सदरमुकाम चामे जाने पुल बगाएको र विद्युत् नभएको अवस्थामा बेँसीशहरबाट कामकाज गर्ने गरी केन्द्र स्थापना गरिएको घलेले बताउनुभयो । गाउँपालिकाले कारोबार गर्ने बैंक बेँसीशहरमा रहेकाले पनि यहाँ आपत्कालीन कार्यालय सञ्चालन गर्न सहज भएको प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मीले बताउनुभयो ।

    रेग्मीका अनुसार गाउँपालिकाभर पूर्ण रुपमा जोखिम रहेकाले कार्यालय सञ्चालन गर्ने उपयुक्त स्थान नहुँदा छिमेकी जिल्लामा झर्न बाध्य भएको हो । त्यसपछिका तल्लो क्षेत्रको मस्र्याङ्दी आसपासका लमजुङसमेत जोखिममा छ  । “आर्थिक वर्ष अन्तिममा आएको छ, योजनाको भुक्तानी गर्नुपर्नेछ, राहतको व्यवस्थापन सहजीकरण गर्नु छ, त्यसैले कार्यपालिका बैठकले बेँसीशहरमा आपत्कालीन कार्यालय सञ्चालन गर्ने निर्णय हो”, उहाँले भन्नुभयो ।

    राहत वितरण गर्न पुगेका हेलिकप्टरसँग सहकार्य गरी गाउँपालिकाका कर्मचारीलाई बेँसीशहर ल्याइएको हो । प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाप्रमुख र लेखाप्रमुखले बेँसीशहरबाट सेवा प्रवाह गरिरहनुभएको छ । अहिले नासोंबाट कुनै पनि आर्थिक कारोबार गर्न सक्ने अवस्था छैन ।

    धारापानीमा सडक र घर बगाएपछि प्रहरी नै अहिले स्थानीयवासी विद्यालयमा बस्दै आएका छन् । मानिस सबै ओडार गाउँमा विस्थापित भएका छन् । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले धारापानीमा अब मानिसको बस्ती बस्न गाह्रो रहेको बताउनुभयो । लमजुङ प्रशासनको सहयोगमा नासोंको आपत्कालीन कार्यालयका लागि सकेसम्म सरकारी कोठा खोज्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

    धारापानीस्थित सो गाउँपालिकाको कार्यालयसँगै रहेको प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सीमा प्रहरी चौकी, पर्यटकीय होटलसहित स्थानीयवासीका १० घर मस्र्याङ्दीले बगाएको थियो । गाउँपालिकाको योजना अनुगमन, भुक्तानी, नयाँ योजना छनोटलगायत महत्वपूर्ण काम गर्दै आएको कम्प्युटरसहितका सबै कागजपत्र मस्र्याङ्दी नदीको बाढीले लगेको थियो ।

    प्रमुख प्रशासकीय अधिकृत रेग्मीसहित १५ कर्मचारीले पाँच दिन ढुङ्गाको पहरामुनि रात बिताउनुभएको थियो । गाउँपालिकामा बिजुली, सञ्चार, इन्टरनेट नहुँदा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीबीच नै सम्पर्कविच्छेद भएको थियो ।

    “एक ठाउँबाट अर्को ठाउँमा पुग्ने बाटो, पुल सबै बाढीले बगाएको छ, मान्छे हिँड्नेसमेत बाटो छैन, अब ठूलो सङ्कट आउन सक्ने स्थिति छ, नागरिक थुनिएका छन्”, उहाँले भन्नुभयो, “पूर्ण रुपमा विस्थापित भएको ठाउँमा खाद्यान्न पुगेको छैन ।”

    कार्यपालिकाको बैठकले प्रत्येक वडालाई १५ बोरा चामल र दुई बोरा नुनको व्यवस्था गरेको छ । पूर्ण रूपमा विस्थापितलाई अलग्गै एक बोरा चामल र खाना पाएका तथा खानका लागि भाँडा दिइएको गाउँपालिका अध्यक्ष घलेले बताउनुभयो ।

    घलेले प्रभावित क्षेत्रमा नै कम राहत पुगेको बताउनुभयो । “बेंसीशहरबाट यातायात खुलाउन सक्ने अवस्था तत्काल देखिँदैन, सबै वडामा खाद्यान्न उत्पादन पनि हुँदैन”, उहाँले भन्नुभयो, “बाढीसँगै स्वास्थ्यमा समस्या आउन सक्छ, राज्यले तत्काल सम्बोधन नगरे स्वास्थ्य र भोकमरीको अवस्था सिर्जना हुनसक्ने स्थिति छ ।” मनाङका चार स्थानीय तहमध्ये सबैभन्दा प्रभावित नासों गाउँपालिका हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.