सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागलुङमा २८ वडा पहिराको उच्च जोखिममा


  •    न्युजभित्तो/९ असार २०७८, बुधबार १३:४५ 
  • बलेवा,  ९ असार । यस वर्ष बागलुङमा पहिराका कारण ३० हजार जनसङ्ख्या प्रभावित हुने पूर्वानुमान गरिएको छ । बागलुङका २८ वडा पहिराको उच्च, २४ वडामा पहिराको मध्यम र आठ वडा न्यून जोखिममा रहेका छन् ।

    पहिराको उच्च, मध्यम र न्यून जोखिमलाई आकलन गरेर पहिरो प्रभावितको सङ्ख्या तयार पारिएको हो । मनसुन शुरु भएसँगै जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको ‘मनुसन आपत्कालीन कार्ययोजना–२०७८’ले जिल्लाका अधिकांश भूभाग पहिराबाट प्रभावित हुने तथ्याङ्क तयार गरेको हो ।

    जिल्लाभर पहिराका कारण तीन हजार ५०० देखि चार हजार घरमा क्षति हुनसक्ने कार्ययोजनामा उल्लेख छ । पहिराको जोखिममा सामुदायिक विद्यालयसमेत परेका छन् । यस वर्ष २० सामुदायिक विद्यालय भवनमा पहिराले प्रभाव पार्नसक्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । तीमध्ये केही पूर्ण रुपमा र केही आंशिक प्रभावित हुनेछन् ।

    मनसुनजन्य विपत्पछिको प्रतिकार्य पुनस्र्थापना र राहत तथा उद्धारका लागि विपत् व्यवस्थापन समितिले कार्ययोजना बनाएर काम थालेको हो । पूर्वानुमानअनुसार सबै तहमा व्यवस्थापनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । “हामीले स्थानीय तहसँग जोखिमबारे छलफल गरेर तथ्याङ्क तयार गरेका छौँ, सोही अनुसार जोखिमसँग जुध्न सबै सरोकारवालालाई तयार रहन निर्देशन दिएका छौँ”, कार्कीले भन्नुभयो ।

    विपत् व्यवस्थापन समितिले कार्ययोजना पारित गरेर कार्यान्वयनमा ल्याएको छ । कार्ययोजनाअनुसार तीन हजार ४४३ पाँच वर्षमुनिका बालबालिका बाढीपहिराबाट प्रभावित हुनेछन् ।

    त्यस्तै ६० वर्षमाथिका ज्येष्ठ नागरिकको तथ्याङ्कसमेत धेरै छ । तीन हजार ६९९ ज्येष्ठ नागरिक प्रभावित हुने पूर्वानुमान छ । गर्भवती ७६५ र सुत्केरी एक हजार ४०४ जना प्रभावित हुने अनुमानित तथ्याङ्क रहेको कार्कीले जानकारी दिनुभयो ।

    बागलुङमा रहेका विभिन्न नदी तथा खोला किनारका बस्तीसमेत बाढीको उच्च जोखिममा रहेको कार्ययोजनामा उल्लेख छ । कालीगण्डकी, बडिगाड, दरमखोला, निसीखोला, भुजीखोला, तमानखोला, ठेउलेखोला, अँधेरीखोला, दरौँदीखोला, उत्तरगङ्गालगायत खोला तथा नदी किनारका बस्तीहरु बाढीको जोखिममा छन् ।

    “यहाँका सबै खोला किनारका तटीय क्षेत्र जोखिममा छन्”, विपद् व्यवस्थापन समितिले भनेको छ, “पूर्व तयारीमा खोला किनारका बस्तीहरु रहन आवश्यक छ ।” कार्ययोजनाले उद्धार राहत तथा पुनस्र्थापना र सचेतनाका लागि उपलब्ध साधन स्रोतको समेत तथ्याङ्क तयार गरेको छ ।

    “उद्धार सामग्रीदेखि पुनस्र्थापनाका लागि आवश्यक योजना समेतमा छलफल भयो”, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गणेश गौतमले भन्नुभयो, “सबै सरोकारवाला सतर्क रहने र तत्काल उद्धारमा लाग्ने भन्ने छ ।”

    जिल्लाका अधिकांश बस्ती सडक, भल र बाढीका कारण जोखिममा रहेको स्थानीय तहहरुले पूर्वानुमान गरेका छन् । स्थानीय तहले गत वर्ष तयार गरेको बाढी पहिरोपीडितको तथ्याङ्क र यस वर्षको सम्भावित जोखिमको अवस्था हेरेर तथ्याङ्क तयार भएको हो ।

    अक्सिजन प्लान्ट बन्न दुई महिना लाग्ने

    धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट थप गर्न कम्तीमा दुई महिना समय लाग्ने भएको छ । द्रुत गतिमा काम थालिएको भए पनि प्लान्ट निर्माणका लागि निर्माण कम्पनीले दुई महिनाको समय मागेको हो ।

    अर्थको स्वीकृतिमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले बजेटको सुनिश्चितता गरेपछि प्रक्रिया अघि बढेको थियो । झण्डै रु तीन करोडको लागतमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया शुरु भएको एक महिनामा नै निर्माण सम्पन्न गर्ने अस्पतालको लक्ष्य थियो । बजेट प्राप्त भइनसकेको र आर्थिक वर्षको अन्तमा योजना सम्झौता गर्नु परेका कारण निर्माण व्यवसायीले लामो समय माग गरेको अस्पताल प्रशासनले जनाएको छ ।

    “असार ६ गते सम्झौता भएको छ, कम्तीमा ४० र बढीमा ६० दिन समय लाग्ने निर्माण कम्पनीले जानकारी गराएको छ”, अस्पतालका लेखा अधिकृत झलक आचार्यले भन्नुभयो, “विनियोजन समयमा आए यो वर्ष प्रारम्भिक कामको भुक्तानी मात्रै दिन सकिन्छ ।” उहाँका अनुसार स्वास्थ्य मन्त्रालयले बजेटको सुनिश्चितता गरेको भए पनि अहिलेसम्म निकासा पठाएको छैन ।

    प्लान्ट निर्माणको जिम्मेवारी पाएको आरोग्य मेडिटेक प्रालिलाई पहिलो किस्ताको रकमसमेत दिन नसकिएको अस्पतालले जनाएको छ । रु दुई करोड ३२ लाखमा कम्पनीले प्लान्ट निर्माणको जिम्मेवारी पाएको हो । रु तीन करोड बजेटमध्ये बाँकी रकमले अक्सिजन प्लान्टका लागि आवश्यक पूर्वाधार निर्माणको काम गरिने छ ।

    “पहिलो किस्ताको २० प्रतिशत रकम दिनुपर्ने व्यवस्था छ तर निकासा आएको छैन”, व्यवस्थापन समितिका सदस्य शालिग्राम शर्माले भन्नुभयो, “अर्को आर्थिक वर्षमा जाँदा बजेटको झमेला हुनसक्छ ।”

    चालु आवमा नै प्लान्ट निर्माणको काम सम्पन्न नहुने भएपछि अस्पतालले आगामी आवका लागिसमेत बजेटको व्यवस्थापन गरिदिन मन्त्रालयलाई जानकारी गराएको छ । असार मसान्तभित्र विनियोजित बजेट पठाए पनि निर्माणको काम नसकिँदा अर्को वर्षमा दायित्व सर्ने छ । यस वर्षको बजेट फिर्ता जाने र अर्को वर्ष बजेट नभए प्लान्ट निर्माणमा समस्या हुने व्यवस्थापनको ठहर छ ।

    अस्पतालमा यसअघि २० जनासम्मका लागि पुग्ने अक्सिजन प्लान्ट छ । यस पटक १५० जनालाई पुग्ने र १०० थान सिलिण्डर प्रतिदिन भर्न मिल्ने गरी प्लान्ट निर्माणको काम थालिएको हो । मन्त्रालयले भने दायित्व सिर्जना भएपछि भुक्तानी पठाउने भनेको छ । “अनुमति पाएकाले टेण्डर गरेर काम अघि बढेको छ, दायित्व सिर्जना भएको लेखी पठाएका छौँ”, आचार्य भन्नुहुन्छ, “बजेटको समस्या नआए दुई महिनामा प्लान्ट तयार हुन्छ ।”रासस
    ––

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.