सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निषेधाज्ञासँगै होटल व्यवसाय बन्द हुँदा सौराहाका हात्ती पाल्न कठिन


  •    न्युजभित्तो/७ असार २०७८, सोमबार १६:२७ 
  • नारायण अधिकारी
    चितवन, ७ असार । निषेधाज्ञासँगै होटल व्यवसाय बन्द हुँदा हात्ती पाल्न कठिन हुन थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा घुमाउनका लागि पालिएका हात्ती पर्यटक नआएपछि पाल्न मुस्किल भएको हो । कोभिड—१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञासँगै पर्यटन व्यवसाय ठप्प छ ।

    सौराहामा निजी क्षेत्रका ५५ वटा हात्ती छन् । निजी हात्ती सञ्चालन गर्नेहरुको संस्था युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले हात्ती पाल्न कठिन भएको बताउनुभयो । उहाँका अनुसार दैनिक एउटा हात्तीलाई २० किलो धान, सखर, गहुँलगायत खाद्यान्न, दुई क्वीन्टल हाराहारी घाँस पराल र २५० लिटर पानी आवश्यक पर्दछ । सातामा एक पटक नुन, जुकाको औषधिलगायत सामग्री खुवाइने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा हात्ती पाल्न मासिक रु। एक लाखभन्दा बढी खर्च हुन्छ । उहाँले भन्नुभयो, “निकुञ्जभित्र घाँस खेर गएको छ, हामीले हात्तीलाई खुवाउन पाएका छैनौं ।”

    कोभिडपछि मात्रै सौराहामा १२ वटा हात्ती विस्थापित भइसकेको उहाँले जानकारी दिनुभयो । व्यवसायीले विस्थापित मात्रै भनेपनि ती हात्ती भाडामा ल्याएका फिर्ता तथा पाल्न नसकेर बिक्री गरेका हुन् । व्यवसायीले यकिन तथ्याङ्क नदिए पनि सौराहामा रहेका हात्ती एउटाको रु ८० लाखदेखि एक करोडसम्ममा बिक्री हुने गरेको छ । ती हात्ती भारतको गुजरातमा लैजाने गरेको बताइएको छ । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको व्यापार सम्बन्धी महासन्धि ९साइटिस०ले हात्तीलाई अनुसूची—१ मा राखेको छ । व्यापारका कारणले अझै खतरामा पर्ने हुँदा अनुसूची—१ मा परेका जीव जनावरलाई व्यापार वा ओसारपसार गर्न पाइँदैन । त्यसैकारण यहाँका व्यवसायीले हात्ती बिक्री गरेको स्वीकार गर्दैनन् ।

    उहाँले भन्नुभयो, “हात्ती पाल्ने जिम्मेवारी व्यवसायीको मात्रै होइन, यसको दायित्व सबैले वहन गर्नुपर्छ ।” हात्ती विनाको सौराहा कल्पना गर्न नसकिने भन्दै उहाँले सबैको साथ र सहयोग नपाएमा केही वर्षभित्रमा हात्तीविहीन सौराहा बन्ने खतरा भएको जानकारी दिनुभयो । क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराई चितवन राष्ट्रिय निकुञ्जमा पटक पटक आग्रह गरिएको भए पनि चरिचरणको व्यवस्थापन हुन नसकेको बताउनुभयो । रकम तिरेर कुमरोज सामुदायिक वनबाट केही घाँस ल्याएको भए पनि पर्याप्तता नभएको उहाँको भनाइ छ । हात्तीको चरिचरणका लागि राज्यका तर्फबाट सहयोग हुनुपर्ने भट्टराईले बताउनुभयो । स्थानीय तहले हात्ती राखेबापत कर समेत लिने गरेको भन्दै उहाँले कर छुट गराउन समेत पहल गरिएको जानकारी दिनुभयो ।

    रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जिल्ला विपद् व्यवस्थान समितिको बैठकमा समेत आफूले निकुञ्जभित्र हात्तीलाई चरिचरणको व्यवस्था गर्न माग गरेको बताउनुभयो । उहाँले जनताको जमिन नदी कटान भएर निकुञ्जतर्फ परेको ठाउँमा समेत चरिचरण गर्न नपाएको भन्दै यस्तै अवस्था रहे सौराहाबाट हात्ती विस्थापित हुने चेतावनी दिनुभयो । हात्ती सफारी निकुञ्ज घुम्न आउने पर्यटकका लागि मुख्य गतिविधि हो । यहाँ आउने अधिकांश पर्यटक हात्ती चढेर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु हेर्न जान्छन् । हात्तीमा नै चढेर बाघ, गैँडा, मृग, हरिण, बँदेलजस्ता जनावारसँगै चराचुरुङ्गी हेरेर रमाउने गर्दछन् ।

    गत वर्ष कोरोना सङ्क्रमणका बेला केही समय राप्ती किनारमा हात्तीका लागि निकुञ्जले घाँस काट्न दिएको भए पनि पछि रोक लगाएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले व्यवसायीले चरनका लागि माग गरेको विषय आफूले निकुञ्ज विभागमा लिखित रुपमा पठाएको भए पनि कुनै निर्णय भइनसकेको बताउनुभयो । व्यवहारिक रुपमा हात्ती पाल्न कठिन भएपनि नीतिगत रुपमा हात्तीलाई निकुञ्जमा चरणका लागि ठाउँ दिन नसकिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “माथिल्लो निकायबाट निर्णय हुन सकेमा सहज हुन्थ्यो ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.