सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गङ्गा दशहरा स्नान मेला शुरु


  •    न्युजभित्तो/२८ जेष्ठ २०७८, शुक्रबार ११:२६ 
  • काठमाडौँ, २८ जेठ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा लाग्ने गङ्गादशहरा मेला आजदेखि शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित वाग्मतीमा शैलमती मिसिएर बनेको तीर्थ सिद्धगयाको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा बिहानैदेखि स्नान गर्ने भक्तजन भेला भएका छन् । वाग्मती र शैलमतीको सङ्गममा गङ्गादशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भई मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

    नयाँ भेरियन्टसहितको कोरोना भाइरसबाट बच्न जारी निषेधाज्ञाका कारण सीमित भक्तजन भौतिक दूरी कायम गरी स्नान गर्न भेला भएका छन् । गत वर्ष पनि यस पर्वका अवसरमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले थोरै भक्तजन मात्र मेलामा उपस्थित भएका थिए । दश प्रकारका पाप हरण गर्न ज्येष्ठ शुक्ल दशमीका दिन स्वर्गबाट पृथ्वीमा भागीरथिले गङ्गा अवतरण गराएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ । ज्येष्ठ शुक्ल दशमीका दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा १० प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पु¥याउने इच्छा राख्नु र विनाकारण दुराग्रह राख्नेजस्ता पाप दशहराका दिन गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।

    सिद्धगयाका साथै काठमाडौँको हत्यामोचनघाट, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणी सङ्गमलगायत देशभरका नदीमा दशहरा स्नान मेला लाग्ने गर्दछ । शरीर, मन र वचनले गरिने दश प्रकारका पाप आजका दिन स्नान गरेर नाश हुने विश्वासमा गङ्गा दशहरा भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

    कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गमस्थित वाग्मती नदी किनारमा रहेको हत्यामोचनघाटमा पनि स्नान मेला लागेको गङ्गा दशहरा स्नान एवं पूजा समितिका अध्यक्ष रोहित लिम्बूले जानकारी दिनुभयो । कोरानाकालअघि जति भक्तजनको भीड जम्मा हुन नदिए पनि नजिकैका भक्तजन दूरी कायम गरी स्नान गर्न आएको उहाँले सुनाउनुभयो । पौराणिक कथाअनुसार परशुरामले पिता ऋषि जमदग्निको आदेशानुसार माता रेणुकाको हत्या गरेपछि यही स्थलमा स्नान गरी हत्याको पापमोचन गरेकाले यो स्थानलाई हत्यामोचनघाट भनिएको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

    यसअघि परशुरामले भारत वर्षका हजारौँ तीर्थमा स्नान गर्दा पनि मातृ हत्याको पापमोचन भएको थिएन । पापमोचनस्वरुप परशुरामकी आमा रेणुकाले पुनर्जीवनसमेत पाएको पौराणिक कथन छ । दशहराका दश दिने अवधिमा जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, बुधबार, हस्ता नक्षत्रलगायत दश योग पर्ने गरेको छ ।

    पौराणिककालमा यही दश दिन लगाएर स्वर्गबाट गङ्गा पृथ्वीमा अवतरण भएको शास्त्रीय मान्यता छ । गङ्गा किनारस्थित भारतको काशीको दशाश्वमेधघाट पनि यो दश दिने अवधिमा विशेष मेला लाग्छ । यसैगरी त्रेतायुगमा भगवान् रामले सेतुबन्धमा स्थापना गरेको रामेश्वरघाटमा यस अवसरमा मेला लाग्ने गर्छ । यी तीर्थमा स्थान गरी भगवान्को दर्शन गरेमा दश प्रकारको पाप नाश हुने धार्मिक विश्वास छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.