सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्यकर्मीको आत्मबल बढाउँदै अध्यादेश


  •    न्युजभित्तो/२४ जेष्ठ २०७८, सोमबार १०:२८ 
  •  चितवन, २४ जेठ ।  सरकारले जारी गरेको अध्यादेशले आफूहरुको आत्मबल बढाएको यहाँका स्वास्थ्यकर्मीले प्रतिक्रिया दिएका छन् । अध्यादेशले भौतिक आक्रमणलाई निरुत्साहित गरेको र काम गर्ने वातावरण बनेको उनीहरुको भनाइ छ ।

    नेपाल नर्सिङ सङ्घ चितवनका सचिव विष्णुमाया अधिकारी अध्यादेश पूर्णरूपमा कार्यान्वयनमा आउनेमा विश्वस्त रहँदै आफूहरुको आत्मबल बढेको बताउनुहुन्छ । स्वास्थ्यकर्मीहरुले पनि आफू कर्तव्यबाट कत्ति पनि विचलित हुन नहुने भन्दै उहाँले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो अध्यादेशले हामीलाई ऊर्जा थपेको छ ।”

    स्वास्थ्यकर्मीहरुमाथि जिम्मेवारी थपिएको पनि उहाँले बताउनुभयो । विगतमा भएका घटनामा कतिपयमा स्वास्थ्यकर्मीहरु पनि दोषी भएको भन्दै उहाँले यस्ता घटनाप्रति सचेत हुनुपर्ने धारणा राख्नुभयो । चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा लोकबहादुर सेढाईंले अध्यादेशलाई ऐनमा ल्याएर पूर्णरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “एउटा खुट्किलो उक्लिएको छ, यसलाई ऐनमा ल्याउनुपर्छ ।” स्वास्थ्यकर्मी र संस्थाहरु सुरक्षित हुने भन्दै उहाँले काम गर्न सबैमा आत्मबल बढाएको बताउनुभयो । नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा.अनिलविक्रम कार्कीले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने भौतिक आक्रमणका दोषीलाई प्रमुख जिल्ला अधिकारीले धरौटीमा छाड्ने गरेकामा यो अध्यादेशसँग अदालतबाट सजाय दिलाइने अवस्थाको सिर्जना भएको बताउनुभयो ।

    हालसम्म भएका घटनामा आवेगमा आएको नाममा दोषीलाई उन्मुक्ति दिने गरिएको भन्दै उहाँले यससँगै यस्ता तत्व हच्किने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले कानून थिएन, अब कार्यान्वयनको पक्षमा लाग्नुपर्छ ।” पहिले यस्ता मुद्दाहरु सार्वजनिक अपराधअन्तर्गत सामान्य कारवाही गरेर छाड्ने गरिएको उहाँले जानकारी दिनुभयो । पछिल्ला वर्षमा अधिकांश व्यक्तिको जन्म र मृत्यु अस्पतालमै हुने गरेको छ । क्रमशः यो प्रक्रिया सतप्रतिशत अस्पतालमा हुने अनुमान गरिन्छ ।

    अस्पतालमा जति बिरामी थपियो, मृत्युदर त्यतिनै बढ्ने चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपाने बताउनुहुन्छ । चिकित्सक स्वास्थ्यकर्मीले हरसम्भव बिरामीलाई बचाउन प्रयास गर्ने भए पनि कतिपय समयमा असम्भव हुने भन्दै उहाँले त्यसलाई सहजरूपमा स्वीकार्नुपर्ने बताउनुभयो ।

    सरकारले ल्याएको अध्यादेश महत्वपूर्ण भएको भन्दै उहाँले केही वर्षअघि चितवन मेडिकल कलेजमा तोडफोड गर्ने ११ जनालाई पक्राउ गरेर यहाँ गरिएको कारवाही नै सबैभन्दा ठूलो रहेको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “चिकित्सक र स्वास्थ्यकर्मी ज्यान फालेर बिरामीको उपचारमा तल्लिन हुने गर्छन्, जब बाहिर निस्किन्छन् अस्पताल तोडफोड र आफ्नै असुरक्षा देख्दा दिग्दार लाग्छ ।”

    कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधान अस्पतालमा स्वास्थ्यकर्मीहरुले सके र भएसम्म बिरामी बचाउने प्रयास गर्ने बताउनुहुन्छ । प्रयास असफल हुँदै गर्दा स्वास्थ्यकर्मी र अस्पतालमाथि आवेगमा गरिने भौतिक आक्रमण रोकिनेमा उहाँ आशावादी हुनुभयो । उहाँले भन्नुभयो, “चिकित्सक स्वास्थ्यकर्मीको आत्मबल उच्च नबनाई काम गर्न सकिँदैन ।

    ” भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन, २०६६ लागू भएदेखि नै आफूहरु यसको परिमार्जन हुनुपर्ने पक्षमा रहेको भन्दै यो अध्यादेश स्वागतयोग्य रहेको बताउनुभयो । भेरीको घटनाले अहिलेको अवस्था सिर्जना भएको भन्दै उहाँले अध्यादेशलाई पूर्ण कार्यान्वयनमा ल्याउनु पर्ने प्रतिक्रिया दिनुभयो । ठूलाठूला घटना हेर्नका लागि मन्त्रालयमा रहेको समितिले काम गर्ने भए पनि तल्लो तहमा हुने सानासाना घटनाहरुको अनुगमन कसरी गर्ने बारेमा छलफल गरी संयन्त्र बनाइनु पर्ने उहाँको भनाइ छ ।

    यस्ता अधिकांश घटना रातिको समयमा हुने भन्दै उहाँले तत्काल कार्यान्वयनका लागि संयन्त्र बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । यसले स्वास्थ्यकर्मी र सेवाग्राही दुवै पक्षलाई फाइदा पुग्ने उहाँको तर्क छ । अध्यादेशमा स्वास्थ्यकर्मीमाथि कुटपिट हुँदा दुई वर्षदेखि पाँच वर्षसम्म कैद र रु दुई लाखदेखि पाँच लाखसम्म जरिवाना हुने व्यवस्था छ । स्वास्थ्य संस्था घेराउ गरे पनि एक वर्षसम्म कैद सजाय हुनसक्छ ।

    कोभिड महामारीसँसँगै अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीमाथि पछिल्ला दिनमा आक्रमणका घटना बढेपछि सरकारले यो अध्यादेश ल्याएको हो । यसले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाएर कोभिड महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.