सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फरक ‘प्याटर्न’ अंगालेको कारण नै मलाइ स्रोता दर्शकले रुचाउनु भयो:गायक पशुपति शर्मा


  •    न्युजभित्तो/१ चैत्र २०७७, आईतवार १३:३१ 
  • काठमाडौ,०१ चैत्र । काम पाइएन डिग्री पास गरेर भैंसी पालें गाउँतिरै झरेर चिन्ता छैन केही मलाई अमेरिका यही, मलाई जापान पनि यही, मलाई बेलायत पनि यही ।’

    गायक पशुपति शर्मा सांगीतिक कार्यक्रमको सिलसिलामा कतार पुगेका थिए । उनले देखे, त्यहाँ आफ्ना छिमलका साथीहरु चर्को घाममा काम गरिरहेका छन् । रोगी बुवाआमा, कलकलाउँदो लालाबाला, वैंशालु श्रीमतीसँग बिछोडिएर पराइ भूमिमा कष्ट खेपिरहेका छन् ।

    यसरी दिनरात जोतिएर उनीहरुले कति आर्जन गर्दा हुन् ? पशुपतिलाई जिज्ञासा जाग्यो । पसिना चुहाइरहेका नेपाली दाजुभाइले जवाफ फर्काए, ‘महिनाको २०–२५ हजार रुपैयाँ ।’
    पशुपति खिन्न भए । चर्को घाममा रापिएका नेपाली दाजुभाइको दुःखले उनलाई बिथोलिरह्यो । मनको उकुसमुकुसलाई उनले गीतमार्फत अभिव्यक्त गर्न चाहे । वैदेशिक रोजगारीको यो निर्मम पाटोलाई उनले विरही भाकाको गीतमा पोख्ने योजना बनाएँ । तर, नेपाल फर्किएपछि उनले ठट्यौली शैलीको तर सन्देशमूलक गीत बनाउने तयारी गरे । अन्ततः तयार भयो, ‘बुढा पनि छन् कुरा बुझ्दिने, ठूला भैंसी पाल्या छन् दूध दिने, मलाई बहराइन पनि यही, मलाई इजरायल पनि यही ।’

    अहिले कति युवा आफ्नै बाँझो खेत जोतिरहेका छन् । नयाँ–नयाँ इलम गरिरहेका छन् । गाउँघरमै बसेर मनग्य आर्जन गरिरहेका छन् । जब–जब यी उद्यमशील युवाहरुको प्रसंग आउँछ, धेरैको मुखले स्वतःस्फूर्त यही गीत गुनगुनाउँछ, ‘मलाई अमेरिका यही ।’

    कार्यक्रमका लागि उनी देश–विदेश पुगिरहेका हुन्छन् । जहाँ पुग्छन्, मुलुकको दुरावस्थाबारे दुःखेसो मात्र सुन्छन् । सबै भनिरहेका हुन्छन्–
    ‘देश बर्बाद भयो ।’
    ‘गरिखान नदिने भए ।’
    ‘बेथिति, महँगी, भ्रष्टाचार भन्दा केही छैन ।’
    ‘नेताहरु सबै दलाल जस्ता मात्र भए, लुट्छन् मात्र ।’
    ‘जे कुरामा पनि लुटैलुट मच्याएका छन् ।’
    समाजमा व्याप्त यस्तै गुनासोहरुले उनको पनि पारो तातियो । आखिर उनले गीत लेखे, ‘लुट्न सके लुट कान्छा ।
    लुट्न सके लुट
    अरु देशमा पाइन्न
    नेपालमै छ छुट ।’
    ……………………

    यी दुई गीत काफी छन्, पशुपति शर्मालाई चिनाउन । यी स्याङ्जाली ठिटोले लोक गीतमा आफ्नो बेग्लै साम्राज्य बनाएका छन् । समाजका भित्री तहसम्म छिचोलेर गीत सिर्जना गर्छन् । गीतका शब्द र भाकाले दर्शक–स्रोताको हृदय स्पर्श गर्छ । त्यसैले त उनी सर्वत्र छाएका छन् ।

    यद्यपि पशुपति शर्मा उत्तिकै शान्त छन्, सौम्य छन् ।

    उनी सरल जीवन रुचाउँछन् । हिजो संघर्षका दिनमा जस्तो थिए आज उनको स्वभाव, खानपान उस्तै छ । पशुपति श्रीमती, एक छोरी, एक छोराका साथ काठमाडौंमा बस्छन् ।

    उनका दौंतरीहरु सुनाउँछन्, ‘फिटिक्कै घमन्ड र दम्भ नभएको मान्छे हो ऊ ।’

    बेलाबेलामा घर पुग्दा उनी आफू चर्चित गायक हुँ भन्ने बिर्सिएर ‘काले पशुपति’ भएर रमाउँछन्। उनलाई परिवार, टोलमा काले भन्दा रहेछन् । उनी गाउँ पुगेपछि साथीहरुसँग घुम्न निस्किन्छन्। खेतबारी, खरबारीमा पुग्छन् । घाँस काट्छन् । खनजोत गर्न अघि सर्छन् । जीवन जिउने तरिकाबारे भन्छन्, ‘जीवन सामान्य तरिकाले जिउने हो । जे गर्दा खुसी मिल्छ त्यही गर्ने हो । कसैलाई देखाउन भनेर काम गरियो भने बिग्रिन्छ । त्यसलाई देखाउन गाडी चढ्छु । फलानोले गाडी किनेछ, म पनि किन्छु । फलानोको भन्दा ठूलो घर बनाउँछु भनियो भने त्यहाँ डुबिन्छ ।’

    उनले बुझेका छन्, ‘मेरो चर्चा सधैं रहँदैन, म सधै व्यस्त हुन्न ।’

    पशुपतिले काठमाडौं कलंकीको जग्गा बेचेर स्याङ्जामै घर बनाए । धेरैले गालीसमेत गरे । तर पशुपतिले भविष्यलाई सोचेर स्याङ्जामा घर बनाएको बताउँछन् । उनले अगाडि भने, ‘यहाँ घर बनाउँदा २ करोड बढी लाग्छ । मानौं, यहाँ घर बनाए दुई–तीन वर्षपछि म चल्न छाडें भने गाह्रो हुन्छ । त्योभन्दा गाउँमा घर बनाएपछि बुढेसकालमा त्यहाँ खेतीपाती गरेरै पनि खुसीसाथ जीवनयापन गर्न सकियो ।’

    बाल्यकालको कथा

    संगीतको उर्वरभूमि, स्याङ्जा । त्यहाँको पुतलीबजारमा जन्मिएका पशुपति शर्मा (३७) सानैदेखि गीत गाउन रुचि राख्थे । गाउँमा स्वस्थानी ब्रतको समयमा भजन गाइन्थ्यो । भजन सकिएपछि दोहोरी गाउने गरिन्थ्यो । पशुपति रातको समयमा परिवारका सदस्यहरु सुतिसकेपछि संगीतको त्यो माहोलमा पुगिहाल्थे । राति २÷३ बजे आएर सुत्थे, परिवारलाई सुइँको हुँदैनथ्यो ।

    रेडियो नेपालको प्रभाव बढी थियो । रेडियोमा बज्ने लोकगीतले पशुपतिको ध्यान तान्थ्यो । घाँस दाउरा गर्दा, गोरु चराउन जाँदा तीनै रेडियोमा बज्ने गीत गुनगुनाउथे । कक्षा ५ मा पढ्दा जिल्लास्तरीय दोहोरी प्रतियोगितामा भाग लिएका थिए, द्वितीय भए ।

    यतिबेलासम्म पशुपतिमा भविष्यमा गायक बन्छु भन्ने लागेको थिएन । पाँच सन्तान (तीन दिदी, एक दाई)मा कान्छा पशुपति कसैले सोधे ‘डाक्टर बन्ने हो’ भन्थे । किनकी पशुपति सानोमा पढाइमा निकै तेज थिए ।

    समाजको अहिले पनि धारणा छ, पढ्ने मान्छे डाक्टर–इञ्जिनियर–पाइलट बन्नुपर्छ, सरकारी जागिर खानुपर्छ । उनमा पनि त्यो सोच आउनु स्वभाविक थियो । पशुपतिका दाइ पनि पढाइमा निकै तेज थिए । दाजुभाइ नै भन्थे, ‘हामी डाक्टर बन्ने हो ।’

    तर, समयसँगै पशुपतिको सोच फेरियो । कक्षा ७ मा पढ्दै गर्दा पशुपतिमा डाक्टर होइन, गायक बन्ने अतृप्त चाहना पलाउन थाल्यो । पशुपतिका कान्छा मामा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा कार्यरत थिए । पशुपति बेलामौकामा मामासँग रेडियो नेपाल पुग्थे । त्यहाँ गायक पुरुषोत्तम न्यौपाने पनि कार्यरत थिए । रेडियोतिर जान पाइने, कलाकार देख्न पाइने भएकाले पशुपतिलाई गायक बन्ने चाहना बढ्दै थियो ।

    रेडियोमा ‘देउराली’ भन्ने सांगीतिक कार्यक्रम प्रसारण हुन्थ्यो । जसमा जो–कोही सहभागी भएर गीत गाउन सक्थे । तर, पशुपतिले मामासँग आफ्नो रहर भन्न सक्दैनथे । एलएलसी दिएपछि पोखरा नै बसेर पढ्ने इच्छा व्यक्त गरेका थिए, पशुपतिले । त्यहाँ बसेपछि मामालाई भनेर रेडियोमा गीत गाउन पाइन्छ भन्ने उनलाई लाग्थ्यो । तर परिवारको इच्छा थियो, ठूलो छोरोलाई डाक्टर, कान्छोलाई इञ्जिनियर वा सरकारी जागिरे बनाउने । त्यसैले परिवारको इच्छाअनुसार पशुपति एसएलसीपछि दाइसँग बसेर पढ्न काठमाडौं आए ।

    एउटा गीत गाउन १२ दिन

    एसएलसी सकेपछि पशुपति २०५६ सालमा काठमाडौं आएका थिए । दाइसँगै बसेर पढाइलाई अगाडि बढाए । दाइ त्यतिबेला एमबीबीसी अध्ययनरत थिए । पशुपतिले दाइका अगाडि रहर गुम्स्याएर पढाइमै ध्यान केन्द्रित गरे । दुई वर्षपछि दाइ एमबीबीएसमा नाम निकालेर काठमाडौं बाहिर लागे । पशुपतिलाई लाग्यो, अब त म एक्लै भए, अब चाहिँ गायक बन्न कसले रोक्छ ?

    पशुपति ‘प्लस टु’ सकेर बसेका थिए । एकदिन गोंगबु गल्कोपाखामा एक्लै हिँडिरहेका थिए । संगीतको आवाज कानमा ठोक्कियो, सारेगमप…।
    टक्क रोकिए र त्यसतर्फ फर्किएर हेरे । बाहिर बोर्डमा लेखिएको थियो, मेमोरी कला केन्द्र । उनलाई लाग्यो, ‘यो त स्वर राम्रो बनाउने ठाउँ रहेछ । अब यहाँ गएर स्वर राम्रो बनाएर गायक बन्नुपर्छ ।’

    तर, भित्र गएर आफ्ना कुरा राख्न धक माने । उनलाई त्यहाँ जान एक साता लाग्यो । मासिक ८ सय तिरेर संगीत सिक्न थाले । लाक्पा शेर्पाले उनलाई संगीत सिकाउँथे ।
    त्यतिबेला काठमाडौंमा दोहोरी साँझको माहोल बढ्दै थियो । संगीत सिकिरहेका पशुपतिलाई एकदिन गुरुले प्रस्ताव राखे, ‘मैले दोहोरी साँझ लिएको छु । तिम्रो स्वर लोकदोहोरीमा म्याच गर्छ । मेरो दोहोरी साँझमा गीत गाउँछौं?’

    उनले तलब पनि तोकिदिए, मासिक ३ हजार ।

    पशुपति दुई दशक अगाडिको कुरा सुनाउँदै भने , ‘संगीत सिक्दा मासिक ८ सय तिरिरहेको थिए । दोहोरी साँझबाट ३ हजार आउने भयो । मेरो त बचत हुने भयो । म एकदमै खुसी भएर दोहोरी साँझमा काम सुरु गरें ।’

    ठमेलमा त्रिवेणी दोहोरी साँझमा पशुपतिले दोहोरी गाउन सुरु गरे । पशुपति भन्छन्, ‘त्यहाँबाट मेरो संघर्ष सुरु भयो । त्यहाँ गएपछि मैले दोहोरी कसरी गाउने सिकें । आफूलाई निखार्दै अगाडि बढाए ।’ पशुपतिको आवाजमा दोहोरी साँझ घन्किन थाल्यो । त्यो दोहोरीमा उनले तीन महिना काम गरे ।

    त्यसै बीचमा पशुपतिको पहिलो एल्बम ‘स्याङ्जामाथि वन’ सार्वजनिक भयो । पशुपतिलाई स्टुडियोमा सहज गीत गाउँछु भन्ने लागेको थियो । तर उनलाई पहिलो गीत रेकर्ड गराउन १२ दिन लाग्यो । ‘खत्रा गाउँछु भनेर स्टुडियो गए, सुर नै बसेन भन्नुहुन्छ । आज गयो त्यही भन्नुहुन्छ । भोलि त्यही भन्नुहुन्छ । दिनदिनै जाँदै सिक्दै फर्किंदै गरें । १२ दिनपछि फाइनल रेकर्ड भयो,’ उनी स्मरण गर्छन् ।

    उनको गीत केही रेडियोमा बज्यो । तर राम्रो चर्चा पाएन । पहिलो गीतबारे पशुपति हामीसँग निर्धक्क सुनाउँछन्, ‘आफै गायक, आफै स्रोता भनेजस्तो भयो । तर त्यो गीतले स्टुडियोमा यसरी गाउनुपर्छ भन्ने ज्ञान भयो ।’

    त्यसपछि अर्को दोहोरी साँझबाट प्रस्ताव आयो । चावहिलमा रहेको सप्तकोशी दोहोरी साँझ पुगे । त्यहाँ गएपछि धेरै कलाकारहरुसँग भेट हुन पायो । पशुपतिमा प्रत्यक्ष दोहोरीतर्फ लगाव बढ्दै गयो ।

    पढ्न गएको छोरो भृकुटीमण्डपमा गीत गाइरहेको देखेपछि

    पहिलो एल्बम ल्याइसकेका थिए । दोहोरी साँझमा पनि गाइरहेकै थिए । तर छोरोले गाउँदै छ भन्ने परिवारलाई पत्तो थिएन ।

    एकदिन गाउँबाट बुवा काठमाडौं आए । सोही दिन भृकृटीमण्डमा राष्ट्रिय दोहोरी प्रतियोगिताको फाइनल थियो । बुवालाई भनेर जाऔं भने गाली खाइने डर । कोठाबाट फुत्तिन पशुपतिलाई गाह्रो भयो । अन्ततः उनी पढ्न निस्कने भन्दै झोलामा कपडा राखेर निस्किए । प्रतियोगिता सुरु भयो । फाइनल भएकाले मानिसहरुको बाक्लो भीड थियो । पशुपतिको गाउने पालो आयो । उनले गीत गाउन सुरु गरे । यसो दर्शकदीर्घामा आँखा डुलाए । पछाडिपट्टि बुवाले ताली बजाइरहेका रहेछन् । छोरो बाहिर निस्किएपछि बुवा पनि घुम्न निस्किएका रहेछन् । उनी घुम्दैघुम्दै भृकुटीमण्डप पुगेका रहेछन् ।

    ६२ टिम सहभागी प्रतियोगितामा पशुपति दोस्रो भए । ७५ हजार रुपैयाँ नगद पुरस्कार पाए । पुरस्कार त पाए तर पशुपतिमा डर थियो, अब बुवाले के भन्नुहोला भनेर । ‘उहाँले त केही भन्नुभएन । तर घर फर्केर ममीलाई भन्नुभयो होला । त्यसपछि दाइ, ममीले यो बिग्रिने भयो । गीत नगाइदिए हुन्थ्यो । पढाइमै केन्द्रित भए हुन्थ्यो भन्न थाल्नुभयो,’ पशुपति भन्छन् । तर, पशुपतिले परिवारको कुरा सुनेनन् । नगरकोट दोहोरी साँझ ठमेल, गाउँबेसी दोहोरी साँझ, गण्डकी दोहोरी साँझ लगायतका दोहोरी साँझमा गाए । प्रत्यक्ष दोहोरी प्रतियोगिताहरुमा पनि निरन्तर भाग लिइरहे ।

    लोकसेवाको परीक्षा पनि दिए

    सँगैका साथीहरु पढाइमा अगाडि बढिसके । आफूभन्दा कम ब्याचका साथीहरुले भेटाइसके । पशुपतिलाई पीर पर्न थाल्यो । दोहोरी साँझ छाडे । अनि स्नातक तेस्रो वर्षमा पढ्दै गरेका पशुपति पुनः पहिलो वर्षमा भर्ना भएर पढाइमा केन्द्रित हुन थाले ।

    परिवारको इच्छा थियो, छोराले सरकारी जागिर खाओस् । त्यही इच्छाको खातिर उनले लोकसेवाको तयारी गरे । परीक्षा दिए । तर, सफल भएनन् । सोही क्रममा उनका समकालीन साथीहरु रामजी खाँड, युवराज आचार्य, रमेशराज भट्टराई लगायतका गीतहरु टेलिभिजनमा बज्न थाले । उनीहरुका गीतले चर्चा कमाउँदै थिए ।

    उनी आफू पछाडि परेजस्तो लाग्यो । उनलाई आफ्ना गीत टेलिभिजनमा हेर्ने चाहना बढ्यो । त्यसपछि पढाइमा असर नपार्ने गरी गीत गाउने सोच बनाए । प्रत्यक्ष दोहोरीमा माहिर पशुपतिले आफैं गीत तयार गरे । राधिका हमाल र आफूले गाए, तीजको गीत ‘टलक्कै ऐना टल्कियो’ । यो २०६५ सालको कुरा थियो । गीतले राम्रो चर्चा पायो । पशुपतिलाई लाग्यो, ‘गीत संगीतमा केही गर्न सक्छु कि !’

    अर्को वर्ष तीजमा सबै लगानी हुने गरी आशिष म्युजिक प्रालिबाट अफर आयो, एउटा गीत गरौं भनेर । लगानी आफूले गर्नु नपर्ने भएपछि पशुपतिले अर्को गीत बनाए । राधिका हमालसँगै गाए, ‘अचम्मै राम्रो नाच्छे मोरीले’ । भिडियोसहित गीत सार्वजनिक भयो । यो गीतले पनि राम्रो चर्चा पायो । फेरि आशिष म्युजिकबाट ‘बल्ल पो पीर पर्न थाल्यो’ बोलको गीत ल्याए । त्यो गीत पनि चल्यो । क्रमशः अर्को तीज गीत ‘लरक्कै लक्र्यो रातो सारी भुँइमा’ चल्यो । ‘अब त चाहिने जो मेरै पाली हो’ जस्ता तीजका गीत चले ।

    लगातार तीज गीत चलेपछि पशुपतिको अगाडि एउटा ट्याग लाग्यो, त्यो के भने, ‘तीजे गायक’ ।

    अब पशुपतिलाई त्यो ‘ट्याग’ मेटाउनु थियो । त्यसैले तीजबाट बाहिर हट्न ‘क्याम्पस पढ्न आउने’, ‘एउटा आत्मा छ’ गीत ल्याए । यी दुवै गीतले राम्रो चर्चा पाए । मेला महोत्सव, स्टेज कार्यक्रमहरुमा उनको माग हुन थाल्यो । पशुपति सम्झन्छन्, ‘फाट्टफुट्ट कार्यक्रममा हिँडिरहेको थिए । क्याम्पस पढ्न आउने आएपछि धेरै ठाउँबाट बोलाउन थाल्नुभयो ।’

    पशुपति सांगीतिक माहोलमा रमाइरहेका थिए । सफलता पनि पाउँदै थिए । तर, ठूलो छोराले एमडी सकिसकेका थिए, कान्छो छोरा गीतसंगीतमा लागेर बिग्रियो भन्ने परिवारको चिन्ता यथावत् थियो । गायनमा लागेर भविष्य सुनिश्चित हुँदैन भन्ने परिवारलाई लाग्थ्यो ।

    परिवारको इच्छाविपरित गीतसंगीतमा लागेका कारण पशुपति घरमा लामो समयको अन्तरमा जान्थे ।

    भनौं, दशैं–दशैंमा । उनलाई लाग्थ्यो त्यति घर जान नपरे हुन्थ्यो । किनकी घर गएपछि गुनासो सुन्नुपथ्र्यो । घर जाँदा ठूलो छोरो डाक्टर बन्यो, सानो छोरो बिग्रियो भन्ने गुनासो पशुपतिले धेरै पछिसम्म सुनिरहनुपर्‍यो ।

    घर गएका पशुपति साँझ खाना खान बस्दा आमाले सुनाउँथिन्, ‘फलानोको छोराले खरिदारमा नाम निकालेछ । फलानोले सुब्बामा नाम निकालेछ । ’पशुपति भन्छन्, ‘त्यो भनेको तैले पनि खरिदार, सुब्बामा नाम निकाल्नुपर्छ भन्नुभएको थियो । तर, म गायनमा डुबिसकेको थिए ।’

    २०६७ सालमा पशुपतिले विवाह गरे, पवर्तकी रेखा पौडेलसँग । विवाह उनी आफैंले घरमा केटी खोज्न लगाएर गरेका रहेछन् ।

    हामीसँग सुनाए, ‘समकालीन साथीहरुले विवाह गरिसकेका थिए । सबैले विवाह गरे मम्मी, विवाह गरेपछि जिम्मेवारी भइन्छ कि, अब विवाह गर्छु केटी खोज्नुहोस् भनेर मम्मीलाई भनें ।’ विवाहपछि श्रीमतीको साथले सांगीतिक यात्रा सहज भएको पशुपतिले सुुनाए ।

    २०७० सालमा सार्वजनिक ‘मलाई अमेरिका यही’ बोलको गीतले नेपालीलाई छुट्टै चर्चा दिलायो । विदेशमा हैन स्वदेशमै श्रम र सीप प्रयोग गरौं भन्ने आशय रहेको उक्त गीतलाई स्वदेश तथा विदेशमा बस्ने स्रोता दर्शकले निकै रुचाए । यो गीतमार्फत पशुपतिले पुरस्कारसमेत पाए ।

    यता, यो गीत आएपछि उनीप्रति परिवारको गुनासो पनि दूर भयो । उनी भन्छन्, ‘यो गीत आएपछि भने परिवार पनि खुसी हुनुभयो । अब छोराले गीतसंगीतबाट राम्रैगरी जीवन चलाउला भन्ने सोच्नुभयो ।’

    यसपछि पशुपतिका एकपछि अर्को गीतले राम्रो चर्चा पाउँदै गए । ‘झमझम दर्कियो पानी’, ‘क्रिकेट खेल्न जाम’, ‘ढाड दुखेर मा¥यो’ लगायतका एकपछि अर्को गीत चल्दै गए । दुई वर्षअघि सार्वजनिक ‘लुट्न सके लुटले’ तरंगै ल्याइदियो ।

    त्यसपछिका गीत पनि राम्रो चले । हालसम्म आउँदा पशुपतिले २ सय बढी गीतमा स्वर दिएका छन् । तीमध्ये दर्जनौं गीतले स्रोता-दर्शकको मन जिते । उनले अरुका गीत भने कमै मात्रामा गाए र अहिले पनि कमै गाउँछन् ।

    ‘राजनीतिक ट्याग लगाउँदा चित्त दुख्छ’

    ‘लुट्न सके लुट्’ले छुट्टै हलचल मच्याइदियो । गीत छोटो समयमै भाइरल भयो । धेरैले यथार्थता बोकेको गीत गाए भनेर तारिफ गरे । केहीले गीतको विरोध पनि गरे । सोही कारण पशुपतिले यो गीत युट्युबमा ‘प्राइभेट’ गराए । उनले भने, ‘गीत धेरैले रुचाउनुभयो । तर केहीले विरोध गरेपछि किन नराम्रो हुनु, किन विवादमा आउनु भनेर प्राइभेट गराएँ ।’

    उनका अनुसार गीत आइसकेपछि कतिपयले आफूलाई फलानो पार्टीको कलाकार भने । बहिष्कारसम्मका कुराहरु आए । यसमा आफूलाई निकै चित्त दुःखेको पशुपतिले सुनाए । उनले भने, ‘मैले अहिलेसम्म कुनै पार्टीको झण्डा बोकेको छैन । त्योभन्दा अगाडि बरु ‘देशले जित्नुपर्छ’ भन्ने गीत ल्याएको थिए । तर यस्ता कुराहरु आउँदा निकै चित्त दुख्यो ।’

    तर, धेरैले यो गीत डाउनलोड गरेर अपलोड गरिसकेका थिए । अहिले पनि युट्युबमा यो गीत भेटिन्छ । ‘यो गीत यथार्थ हो । सबैले सुन्न पाउनुपर्छ भन्ने थियो । सबैले सुन्नुभयो । अहिले पनि म गएका कार्यक्रममा यही गीत गाउन भन्नुहुन्छ,’ पशुपतिले भने, ‘विगतमा यो गीतको विरोध गर्नेहरुलाई अहिले लाज लागेको हुनुपर्छ किन विरोध गरेछौं भनेर ।’

    उनी राजनीतिलाई आफूले गहिराइबाट नबुझेको बताउँछन् । मात्र, देशमा सुशासन कायम हुनुपर्छ र विसंगति व्याप्त हुनु हुँदैन भन्ने आफूलाई लाग्ने उनी बताउँछन् । देशमा भइरहेको विसंगतिलाई व्यंग्य गरोस् भन्ने ध्येयले ‘लुट्न सके लुट्’ गीत बनाएको पशुपतिले बताए ।

    उनी देशको राजनीति, नेता र विकाससँग सन्तुष्ट छैनन् । ‘नेताहरु जनतालाई आश्वासन दिइरहेका छन् । त्यसैले जनतामा नेताहरुप्रति वितृष्णा जागेको छ,’ उनले एउटा आफ्नै घटना जोडे ।

    एकदिन घरबाहिर रहेका उनले साँझ घर फर्किदा छोरीलाई आइसक्रिम ल्याइदिन्छु भनेका थिए । तर, उनी आइसक्रिम बिर्सिएर घर फर्किए । छोरी रिसाइन्, त्योभन्दा बढी पीर पशुपतिलाई पर्‍यो । उनी रातभर निदाउन सकेनन् ।

    ‘त्यति सानो आश्वासन दिएर पूरा नगर्दा त यति पीर पर्छ भने नेताले त जनतालाई दिनदिनमै ठूलाठूला आश्वासन बाँडेका छन् । उनीहरुलाई कहिले चिन्ता बढ्ला ?’ पशुपति भन्छन्, ‘नेताप्रति जनताको कति वितृष्णा होला, सहजै अनुमान गर्न सकिन्छ ।’

    पृथकपनले चलेका गायक

    पशुपति विगतदेखि आफूले फरक ‘प्याटर्न’ अंगालेको बताउँछन् । अरुले भन्दा फरक गर्दा आफूलाई स्रोता दर्शकले रुचाएको उनको भनाइ छ । उनका गीत र भिडियो दुवै पृथक हुन्छन्।

    उनले सन्देशमूलक र कमेडी शैलीका गीतहरु ल्याउँदै आएका छन् । रचना आफैं गर्छन्, संगीत आफै भर्छन् । भिडियोमा समेत आफैले अभिनय गर्छन् । अरुभन्दा फरक शैलीका गीत गर्नुको पछाडि केही कारणहरु छन् । करिअरको प्रारम्भमा उनी आफूलाई अरुभन्दा कमजोर सोच्थे । किनकी कतिपयले भन्थे, ‘तेरो स्वर राम्रो छैन । शब्द–संगीत ठीक छ ।’

    उनी आफैलाई पनि लाग्यो, ‘अरुकै शैलीमा गीत गरें भने नचल्न पनि सक्छु । म हराउन पनि सक्छु ।’

    उनले भने, ‘बजारको लहरभन्दा फरक गरें भने मेरो प्रतिस्पर्धी कोही हुँदैन । त्यसैले म अरुभन्दा फरक बाटो हिँडे ।’ विगतमा उनका अधिकांश गीतहरु पृथकपनले जन्मिएका हुन् । उनले अगाडि भने, ‘सीआरबीटी-पीआरबीटीको समयमा मैले त्यसलाई टार्गेट गरेर गीत निकालिन् । अहिले पनि धेरैले भाइरल भाइरल भन्छन् । भाइरललाई खेलाएर काम गरौं भन्छन्। तर मलाई त्यसरी काम गर्ने मन नै हुँदैन ।’

    उनकै भनाइमा उनलाई धेरै चर्चा चाहिएकै छैन । पशुपति भन्छन्, ‘मलाई धेरै चर्चा चाहिएकै छैन । म आफ्नै बाटो लुरुलुरु हिँड्छु । यस क्षेत्रमा म छु है भन्ने पारिरहनुपर्‍यो । त्यो बाहेक धेरै चर्चाको लोभ छैन ।’ आउँदा दिनमा पनि आफ्नो फरक (कमेडी र व्यंग्य) शैलीलाई अवलम्बन गर्दै सोही अनुसारका गीतहरु ल्याउँदै जाने पशुपतिले बताए । जसले केही सन्देश प्रवाह गर्न सकोस् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.