सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चनौली शीत भण्डार सात वर्षमा पनि सम्पन्न हुनसकेन,आवश्यक उपकरण जडान हुँदै


  •    न्युजभित्तो/१० फाल्गुन २०७७, सोमबार १५:०३ 
  • भरतपुर, १० फागुन  ।   चितवनको भरतपुर महानगरपालिका–१८ मा निर्माणाधीन चनौली शीत भण्डार सात वर्षमा पनि सम्पन्न हुनसकेको छैन । कृषि उत्पादन फलफूल, दुग्ध र मासुजन्य पदार्थको सुरक्षित भण्डारण गर्न २०७० वैशाख २७ मा निर्माण शुरु भएको शीत भण्डार अझै सम्पन्न हुन नसकेको हो ।

    यान्त्रिक उपकरण जडान गरी २०७५ सालभित्रमा शीत भण्डार सञ्चालन गर्ने लक्ष्य राखिए पनि तोकिएको समयमा काम हुनसकेन । अहिले भवन निर्माणको काम सकेर यान्त्रिक उपकरण जडानको काम भइरहेको छ । बाढिपहिरो, भूकम्प, नाकाबन्दी, ठेकदार कम्पनीको ढिलासुस्तीलगायतका कारणले निर्माणमा ढिलाइ भएको चनौली शीत भण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष सूर्यमणि पौडेलले बताउनुभयो । पछिल्लो समय कोरोनाका कारण एक वर्ष काम हुन नसकेको उहाँले बताउनुभयो । आगामी वर्षको असोजमा जसरी पनि सञ्चालन गर्ने गरी काम भइरहेको पौडेलले जानकारी दिनुभयो । भवन निर्माणसम्बन्धी काम एक वर्षअघि नै सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“शीत भण्डारमा हाल मेसिनरी सामान जडानको काम भइरहेको छ ।” २०७७ चैतमा मेसिनरी जडानको काम सक्ने गरी २०७६ असार २३ मा ठेक्का सम्झौता गरिएको थियो । मेसिनरीको काम ठेकेदारले समयमा सक्ने सङ्केत देखिएको पौडेलले बताउनुभयो । तर, ट्रान्सफर्मरका कारण सञ्चालनमा ढिला हुनसक्ने उहाँको भनाइ छ ।

    ऊर्जा मन्त्रालयमा ट्रान्सफर्मर अनुदानमा उपलब्ध गराउन माग गरिएको जनाउँदै पौडेलले चैतसम्ममा ट्रान्सफर्मर आएमा आगामी असोजमा सञ्चालन गर्न सकिने बताउनुभयो । “चैतसम्ममा मेसिनरीको काम सकियो र ट्रान्सफर्मर पनि आयो भने वैशाखमा सबै सेटिङ मिलाएर जेठमा हामीले परीक्षण गर्छाै”, उहाँले भन्नुभयो,“परीक्षण सफल भएमा असारबाटै सञ्चालनमा ल्याइन्छ । नभए असोजमा पक्का सञ्चालन गर्छाैं ।” कृषिजन्य उत्पादन सुरक्षित तरिकाले भण्डारण गरी बेमौसममासमेत उपयोग गर्न पिपिसिपी मोडलको आधुनिक उपकरण भएका कारण यो उपयोगी रहेको पौडेलले बताउनुभयो ।

    यस परियोजनाले सिजनमा उत्पादन भएका विभिन्न फलफूल तथा तरकारी अफ सिजनमा बिक्री गर्ने छ । परियोजनाले अतिरिक्त आम्दानीको लागि आइस तथा सोसँग सम्बन्धित उत्पादन गरी बिक्री वितरण गर्ने छ । करीब रु १५ करोडको लगानीमा निर्माण भइरहेको सो भण्डारको क्षमता करीब दुई हजार ५०० मेट्रिक टन रहने छ । लिफ्टसहित शीत भण्डार पाँच तले हुनेछ । सबै तलामा सबै प्रकारका तरकारी तथा फलफूल भण्डारण गर्न सकिन्छ । शीत भण्डार रहने भवन अघिको प्रशासनिक काम हुने भवनको अण्डर ग्राउण्डमा मासुजन्य पदार्थ भण्डार गर्ने सोच भए पनि त्यसबारे ठोस् निर्णय भइनसकेको पौडेलले जानकारी दिनुभयो । उक्त स्थानको क्षमता करीब तीन सय टन छ । चनौलीमा शीत भण्डार सञ्चालन गर्ने निर्णय अनुसार विसं २०६९ असार २४ मा चितवन चनौली शीत भण्डार सहकारी संस्था लिमिटेड दर्ता गरिएको थियो । सार्वजनिक निजी सझेदारी अन्तर्गत निर्माण गर्ने गरी सरकार र सहकारी तथा किसानले संयुक्त लगानी गरेका हुन् । शेयर, पूँजी समयमा जुटाउन नसक्नु नै निर्माण कार्यमा ढिलाइ हुनुको प्रमुख कारण भएको अध्यक्ष पौडेलले बताउनुभयो ।

    “समयमा पूँजी जुटाएर सिभिलको काम सकि मेसिनरीको काम थाल्न पाएको भए छिटो हुन्थ्यो । तर, न सरकारी तवरबाट छिटो बजेट आयो न सहकारीबाट छिटो पूँजी सङ्कलन गर्न सकियो ।” मध्यमाञ्चल विकास कार्यक्रमअन्तर्गत स्थापना शुरु गरिएको शीत भण्डार हाल प्रदेश सरकार सहकारी विभाग मातहत छ । सार्वजनिक निजी सझेदारीअन्तर्गत निर्माण गर्ने गरी शीत भण्डारको सिभिल सम्बन्धी काममा ५० प्रतिशत सरकारको र ५० प्रतिशत सहकारी संस्था एवं किसानको लगानी छ । मेसिनरीमा भने सरकारको ६० प्रतिशत र किसानको ४० प्रतिशत हुनेछ । सहकारीले ऋण लिएर लगानी गरेको हुँदा उक्त ऋणको ब्याजले गर्दा लगानी अझै बढ्नसक्ने सङ्केत देखिएको पौडेल बताउनुहुन्छ । शीत भण्डारमा चितवनका ४४ सहकारीको लगानी छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.