सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने


  •    न्युजभित्तो/२० बैशाख २०८३, आईतवार १६:५१ 
  • काठमाडौँ, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै आज उहाँले रास्वपा र वर्तमान सरकारप्रति सशङ्कित नहुन आग्रह गर्नुभएको हो ।

    सभापति लामिछानेले भन्नुभयो, “निजीक्षेत्र सशङ्कित भएको, अलि डराएको जस्तो देखेर नै मैले तपाईंहरूसँग छलफल गर्न चाहेको हुँ । तपाईंहरू डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरूलाई कुनै खालको दुःख दिन चाहँदैनौँ ।” उहाँले केही व्यवसायी तथा  पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नु परेको स्पष्ट पार्नुभयो । 

    सभापति लामिछानेले वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको ‘रोडम्याप’ रास्वपाले बनाइसकेको पनि जानकारी दिनुभयो । उहाँले समस्या सम्बोधनका लागि उद्योगी–व्यवसायीहरूले आफ्नो घर र पार्टी कार्यालय धाउनै नपर्ने पनि स्पष्ट पार्नुभयो ।

    “तपाईंले मलाई र पार्टी कार्यालयलाई देख्नु पर्दैन, टेक्नु पर्दैन । हामी तपाईंहरूको समस्या सहजै सम्बोधन गर्न चाहन्छौँ । पहिला तपाईंहरूले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला, सहभागी हुनु पनि भयो होला, तर हामी फरक ढङ्गबाट देखिने गरी परिवर्तन महसुस  गराउन चाहन्छौँ,” उहाँले भन्नुभयो ।

    छलफलमा महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र शान्तिको क्षेत्र भएकाले सहज रूपमा काम गर्न दिन आग्रह गर्नुभयो । “हरेक आन्दोलनमा यस क्षेत्रमाथि प्रहार भइरहेको छ । हामी हरेक आन्दोलनको मुख्य निसानामा परिरहेका छौँ । यसो हुनु हुँदैन भन्ने हाम्रो माग हो”, उहाँले भन्नुभयो ।

    परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पुँजी निर्माण घटिरहेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन र हौसला बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले स्पष्ट बहुमतसहितको रास्वपा सरकारसँग ठूलो अपेक्षा रहेको भन्दै विकास निर्माण र आर्थिक सुधारमा सरकारले आवश्यक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

    ‘सरकारले नागरिकलाई घरबारविहीन बनाउँदैन’

     फरक प्रसङ्गमा सभापति लामिछानेले सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने स्पष्ट पार्नुभयो । “देशका नागरिक कसैलाई पनि घरबारविहीन बनाउँदैनौँ । आज केही समस्या भएको छ, तर यसले सधैँका लागि समस्या समाधान गर्छ । हामीले खोलाको किनारामा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजेको छौँ”, उहाँले भन्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.