सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होलीमा ‘जोगिरा’ सुनिन छाड्यो, संस्कृतिप्रेमीहरू चिन्तित


  •    न्युजभित्तो/१३ फाल्गुन २०८२, बुधबार १३:२३ 
  • धनुषा, १३ फागुन । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर धुन यतिबेला सुनिन छाडेको छ । श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म घरआँगन, चोक र गल्लीहरूमा जोगिरा गाउने युवापुस्ता विदेश पलायन हुँदा परम्परा लोप हुने चिन्तामा स्थानीय संस्कृतिप्रेमीहरू छन् । 

    “कौन ताल पर ढोलक बाजे, कौन ताल मृदङ्ग… जोगीरा सररर…!”

    यस्ता प्रेम, हास्य र सद्भावले भरिएका गीतले पहिले मिथिलाको होलीलाई जीवन्त बनाउँथे । होलीका अवसरमा गाइने यी विशेष गीतलाई ‘जोगिरा’ भनिन्छ ।

    संस्कृतिविद् किशोरी साहका अनुसार जोगिराले होली खेल्नेहरूबीच माया, सद्भाव र उत्साहको सन्देश प्रवाह गर्दछ । उहाँले भन्नुभयो, “होली र सङ्गीतबीच गहिरो सम्बन्ध छ । सङ्गीतबिना होलीको परिकल्पना गर्न सकिँदैन । होलीले मनभित्रका कुण्ठित भावनालाई समेत शुद्ध पार्ने विश्वास रहिआएको छ ।”

    मिथिला नगरपालिका–२ नक्टाझिजका ७२ वर्षीय रामपृत महतोले विगत सम्झँदै भन्नुभयो, “पहिला वसन्त पञ्चमीदेखि फागुपूर्णिमासम्म गाउँगाउँ घुमेर जोगिरा गाइन्थ्यो । अहिले ढोल, मृदङ्ग केही बज्दैँनन्, फागुका गीत पनि सुनिदैँन ।” उहाँका अनुसार जोगिरा गाउने पुस्ता क्रमशः घट्दै गएकाले परम्परा सङ्कटमा परेको छ ।

    क्षीरेश्वरनाथ  विदेश पलायन हुनु, संस्कति हस्तान्तरण हुन नसक्नुलगायत कारणले मौलिक परम्परा लोप हुने जोखिम बढेको बताउनुभयो । “यसपालिको होली नजिक आइपुग्यो, तर न जोगिराको स्वर सुनिन्छ, न बाजाको ताल”, उहाँले भन्नुभयो, “पुराना परम्परा जानेका, बुझेका साथीहरू धेरै बित्नुभयो, हामी पनि उमेरले थलिएका छौँ । गाउने रहर अझै छ, तर साथ दिने युवा छैनन् ।”

    हरिहरपुरका ७० वर्षीय रामसुन्दर महतोले जोगिराको पुरानो शैली स्मरण गर्दै सुनाउनुभयो–

    “किनका के हाथ कनक पिचकारी,

    किनका के हाथ अबीर झोरी ?

    रामजी के हाथ कनक पिचकारी,

    सियाजी के हाथ अबीर झोरी… जोगिरा सररर…!”

    यस्ता पौराणिक प्रसङ्ग, भक्ति, प्रेम र ख्यालठट्टाले भरिएका मैथिली जोगिरा अब विरलै मात्र सुनिन थालेका छन् । पुराना होलियाहरूका अनुसार जोगिराले सामाजिक भेद्भाव मेट्दै समानता र सद्भावको सन्देश दिन्थ्यो । तर अहिले ‘डिजे’ संस्कृतिको प्रभाव बढ्दै जाँदा मौलिकता हराउँदै गएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कर्णले बताउनुभयो ।

    मिथिलाञ्चलमा वसन्त पञ्चमीदेखि सुरु हुने होलीगीत मिथिला माध्यमिकी परिक्रमासँग जोडिएको सांस्कृतिक परम्पराको हिस्सा पनि हो । धार्मिक मान्यताअनुसार फाल्गुण शुक्ल पूर्णिमाको रात होलिका दहन गरी भोलिपल्ट रङ खेल्ने परम्परा रहिआएको छ । जोगिराले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको सेतुको भूमिका खेल्ने गरेको जानकारहरू बताउँछन् ।

    जनकपुरधाम–१२ का सतीशलाल कर्णले भन्नुभयो, “पहिलाका होली गीतमा धार्मिकता, जीवनको उमङ्ग र सांस्कृतिक प्रकाश झल्किन्थ्यो । अहिले भने उच्छृङ्खल गीतले स्थान लिएको छ ।” 

    हरिहरपुरका रामलाल महतोका अनुसार आपसी रागद्वेष र सामाजिक विखण्डनले पनि जोगिरा परम्परा कमजोर बनाएको छ । सखुवा बजारका सत्यनारायण सिंहले स्मरण गर्दै भन्नुभयो, “पहिले राति चोकमा भेला भएर झ्याल, मृदङ्ग, ढोल र डम्फा बजाउँदै समूहगत रूपमा जोगिरा गाइन्थ्यो । अहिले त्यो दृश्य देख्न पाइँदैन ।” वैदेशिक रोजगारीका कारण युवा पुस्ता बाहिरिनु पनि यसको अर्को कारण मानिएको छ ।

    संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडीका अनुसार ग्रामीण क्षेत्रका होली गीतमा स्थानीय माटोको सुगन्ध र मौलिकता झल्किन्थ्यो । “पश्चिमी प्रभाव र अश्लीलताले मौलिक जोगिरालाई विस्थापित गर्दै गएको छ”, उहाँले भन्नुभयो । 

    साहित्यकार तथा संस्कृतिविद् डा राजेन्द्र विमलले जोगिरा संरक्षणका लागि सामूहिक पहल आवश्यक रहेको बताउनुभयो । “होली यस्तो हुनुपर्छ जहाँ महिला, पुरुष निर्धक्क भएर सहभागिता जनाउन सकून् र विश्वले मिथिलाको उदाहरण प्रस्तुत गरोस्”, उहाँले जोड दिनुभयो ।

    यसैबीच, जनकपुरधामस्थित मिथिला नाट्य कला परिषद् (मिनाप) ले पछिल्ला वर्षहरूमा जोगिरा प्रतियोगिता आयोजना गर्दै संरक्षणको प्रयास गरिरहेको छ । यद्यपि, परम्परागत जोगिराको मौलिकता जोगाउन राज्य, स्थानीय तह र समुदाय सबैको सक्रिय चासो आवश्यक रहेको संस्कृतिप्रेमीहरूको धारणा छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.