सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नुः आयुक्त भण्डारी


  •    न्युजभित्तो/१० फाल्गुन २०८२, आईतवार १६:४८ 
  • काठमाडौँ, १० फागुन । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

    गोरखपत्र संस्थानले आज यहाँ आयोजना गरेको निर्वाचन प्रचारप्रसारसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उहाँले केही कुण्ठित व्यक्तिहरूले अहिले पनि निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न आग्रह गर्नुभयो । उहाँले तोकिएको मिति र समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आह्वान गर्नुभयो । सञ्चारकर्मीले निष्ठापूर्वक भूमिका निर्वाह गरिरहेकाले निर्वाचन हुने वातावरण बनेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनुभयो ।

    “सुशासनका लागि पनि निर्वाचन हुनुपर्छ, निर्वाचनले पाँच वर्षसम्म सुशासन कायम गर्ने अख्तियारी दिनेछ । निर्वाचन आचारसंहिता लागू भइरहेको छ, आचारसंहिता उल्लङ्घन भयो, भनी धेरै उजुरी आएका छन्, त्यसमा छानबिन गरेर निर्णयमा पुग्छौँ । सूचना सम्प्रेषण पनि आचारसंहिताभित्र बसेर गर्नुपर्छ, आचारसंहिता अनुसार मत सर्वेक्षण गर्न पाइँदैन, मत सर्वेक्षणका नाममा निर्वाचनअघि यसले जित्छ र उसले हार्छ भनेर लेख्दा जित्नेले हार्ने र हार्नेले जित्ने अवस्था आउने देखिएकाले यसो गर्नुहुँदैन”, उहाँले भन्नुभयो ।

    प्रतिष्ठित व्यक्ति स्वयं संविधानको धारा १९ ले अधिकार दिएको भन्दै मत सर्वेक्षणमा लागेकाले सर्वोच्च अदालतबाट यसअघि यस्तै विषयमा भएको व्याख्या र विश्लेषण हेर्न पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले ध्यानाकर्षण गराउनुभयो । निर्वाचन पर्यवेक्षकले गर्ने पर्यवेक्षणका विषयमा पनि समाचार सङ्कलन गर्न उहाँले सञ्चारकर्मीलाई आह्वान गर्नुभयो ।

    फागुन २१ गते हुन लागेको निर्वाचन शताब्दीकै पेचिलो भए पनि यसलाई आयोगले सहज रूपमा सम्पन्न गर्न लागेको उहाँले जानकारी दिनुभयो । चलायमान अवस्थाबाट भाँडिएको देशलाई पुनः चलायमान बनाउन पनि निर्वाचन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

    आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सबै नागरिक मतदानका लागि जाने र यसअघिको निर्वाचनमा भन्दा बढी प्रतिशत मतदान हुने गरी सञ्चारमाध्यमले मतदाता शिक्षा दिइरहेकाले त्यसलाई अबको एक हप्ता तीव्र बनाइनुपर्नेमा जोड दिनुभयो ।

    विसं २०७९ को निर्वाचनमाभन्दा बढी प्रतिशत मतदान भयो भने सफल भएको मानिने उहाँको भनाइ छ । गोरखापत्रले ४६ भाषामा समाचार सामग्री प्रकाशन गरिरहेकाले ती सबै भाषामा निर्वाचनसम्बन्धी मतदाता शिक्षाका सामग्री राख्नुपर्नेमा पनि प्रवक्ता भट्टराईले जोड दिनुभयो ।

    गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारीले निर्वाचन र मतदाता शिक्षासम्बनधी जानकारी निर्वाचन आयोगले निर्वाचनका बेलामात्र दिने नभई यो विषयलाई विद्यालय तहको पाठ्यपुस्तकमा पाठ्यसामग्रीका रूपमा राखिनुपर्नेमा जोड दिनुभयो । आमसञ्चारमाध्यमले गर्ने शिक्षा, सूचना, सन्देश र मनोरञ्जनका काममा निर्वाचन एवं मतदाता शिक्षा पनि पर्ने भएकाले त्यसै अनुसार काम गरिनुपर्ने उहाँले बताउनुभयो ।

    संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले निर्वाचन, सुशासन र लोकतन्त्रलाई प्राथमिकतामा राखेर १०० दिनअघिदेखि गोरखापत्रले काम सुरु गरेको जानकारी दिनुभयो । अभिमुखीकरणमा संस्थानका सबै प्रकाशनमा कार्यरत सम्पादक, समाचारदाता, भाषा सम्पादक, भाषाभाषी पृष्ठका संयोजक र सहसंयोजक, प्रदेश संयोजकलगायत सहभागी भएका उहाँले जानकारी दिनुभयो ।

    अभिमुखीकरणमा आयोगका सहसचिव राजेन्द्रकुमार केसीले निर्वाचन प्रचारप्रसार मतदाता शिक्षासम्बन्धी प्रस्तुतीकरण दिनुभएको थियो । बढी साक्षर भएको प्रदेशमा मत सदर प्रतिशत बढी हुने गरेको र कम साक्षरता प्रतिशत भएका प्रदेशमा मत बदर बढी हुने गरेकाले यसतर्फ सरोकार भएका निकायले बेलैमा ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
    • बल्खु र वंशीघाट क्षेत्र नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै
    • गण्डकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु छुट्टयाउन थालियो
    • साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.