सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय पहिचान झल्काउने ‘स्तम्भ’


  •    न्युजभित्तो/२० पुष २०८२, आईतवार १२:५२ 
  • तेह्रथुम, २० पुस । वसन्तपुर बजार गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे)क्षेत्र प्रवेश गर्ने प्रवेशद्वार हो । यहाँस्थित लालीगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको पर्यटकीय बजार पुग्दा मुख्य चोकको बीच सडकमा निर्मित लालीगुराँसको स्तम्भले सबैभन्दा पहिले स्वागत गर्छ । स्तम्भले गुराँसको राजधानी टिएमजे क्षेत्र पुगेको सङ्केत गर्छ ।

    यो स्तम्भ २०७१ सालमा तत्कालीन पर्यटन कार्यालय काँकरभिट्टाको रु तीन लाख र स्थानीयको सहयोग गरी कुल रु पाँच लाख ८५ हजार बजेटमा निर्माण गरिएको हो । लालीगुराँस स्तम्भ लालीगुराँस नगरपालिकाको पहिचानजस्तै बनेको पूर्वप्रदेशसभा सदस्यसमेत रहनुभएका लालीगुराँस संरक्षण अभियन्ता लक्ष्मण तिवारीले बताउनुभयो । गुराँस याममा मात्रै फुल्छ, तर यहाँ पुग्ने पर्यटकलाई गुराँसको सदाबहार विम्ब देखाउन लालीगुराँस स्तम्भ निर्माण गरिएको उहाँले बताउनुभयो ।

    कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुममा स्थानीय पहिचान झल्काउन र स्थान विशेषको विशेषता बुझाउन ‘स्तम्भ’ निर्माण गर्ने गरिएको छ । स्थान विशेषसँग सम्बन्धित यस्ता स्तम्भले सम्बन्धित ठाउँको पहिचान दिन साथै प्रचारप्रसारमा सहयोग पुगी पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुगेको स्थानीय बताउँछन् । स्थान विशेषको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व साथै स्थानीय विशेषता ती स्तम्भले बोकेका हुन्छन् ।

    जिल्ला सदरमुकाम म्याङलुङमा निर्मित मेयङ अर्थात् बिरालोको स्तम्भले म्याङलुङको ऐतिहासिकता बोकेको छ । मेयङ अर्थात् बिरालोको स्तम्भ म्याङलुङको विम्ब हो । परापूर्वकालमा म्याङलुङ नगरपालिका–२ नागदहमा बिरालो आकारको ढुङ्गाको रूपमा प्रकट भएकी शक्तिशाली मेयङलुङ देवीलाई पछि हालको म्याङलुङ बजारमा प्रतिस्थापन गरिएको इतिहास छ ।

    यहीँ देवीको नामबाट सदरमुकामको नाम मेयङलुङ हुँदै म्याङलुङ रहन गएको हो । स्थानीय पालिकाको नामसमेत यसै देवीको नामबाट म्याङलुङ नगरपालिका राखिएको छ । यहीँ मेयङलुङको मिथक र ऐतिहासिकतालाई जीवन्त राख्न यो स्तम्भ निर्माण गरिएको स्तम्भ निर्माणको अगुवाइ गरेको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका तत्कालीन सचिव तेजमान कन्दङवा बताउनुहुन्छ ।

    आर्थिक वर्ष २०७२÷७३ मा म्याङलुङ नगरपालिकाको रु पाँच लाख र अन्य सहयोगी दाताको सहयोग गरी करिब रु ३५ लाख लागतमा रेलिङ, सिसी क्यामेरा र घण्टाघण्टामा बिरालोको आवाज निकाल्ने साउन्ड प्रविधिसहितको मेयङलुङ स्तम्भ निर्माण गरिएको थियो ।

    स्थानीय पहिचान र विशेषता झल्काउन निर्माण गरिएका यस्ता स्तम्भले पर्यटकलाई आकर्षित गर्ने र उनीहरूमा त्यसबारे जान्ने इच्छा जागृत गराउने स्थानीय बताउँछन् । पर्यटक र यात्रा गर्ने क्रममा यात्रुहरूले यी स्तम्भमा तस्बिर खिच्ने, रिल र टिकटक बनाई सामाजिक सञ्जालमा पोष्ट गर्दा यी स्थानको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुगेको स्थानीयको भनाइ छ । सदरमुकाम म्याङलुङमा मेयङलुङको स्तम्भ निर्माण गरिएपछि मानिसहरूको चहलपहल बढेको म्याङलुङकी स्थानीय कल्पना ल्वागुनले सुनाउनुभयो ।

    विशेषतः मध्यपहाडी लोकमार्गमा पर्ने बजार र चोकहरूमा यस्ता स्तम्भ निर्माण गरिएका छन् । स्थानीय बजार र गाउँठाउँको इतिहास र चिनारी झल्काउनेमात्र होइन स्थानीय कृषि उपजको प्रचारप्रसार र प्रवर्द्धन गर्न पनि स्तम्भ निर्माण गरिएका छन् । स्थानीय कृषि उपज लसुनको लागि प्रख्यात लसुने बजारमा लसुनको स्तम्भ निर्माण गरिएको छ । लालीगुराँस नगरपालिका वडा नं ७ र ९ को सङ्गमस्थलमा पर्ने लसुने बजारमा देश–विदेशमा रहेका लसुनेवासीको सहयोगमा २०७२ सालमा लसुनको स्तम्भ निर्माण गरिएको स्थानीय हिमबहादुर खत्रीको भनाइ छ । बजारको मध्यभागमा मध्यपहाडी लोकमार्ग सडकसँगै रहेको ‘लसुन स्तम्भ’ देखेरै धेरैले यो ठाउँको नाम र विशेषता थाहा पाउने गरेको उहाँले बताउनुभयो ।

    त्यस्तै, म्याङलुङ नगरपालिका–९ स्थित हलिमेला बजारमा पनि काँधमा हलो बोकेको हलीको स्तम्भ निर्माण गरिएको छ । म्याङलुङ नगरपालिका र स्थानीयको सहयोगबाट निर्माण गरिएको स्तम्भको गएको वैशाखमा उद्घाटन गरिएको थियो । खेतैखेत रहेको हलिमेलामा पहिले खेतीपाती गर्ने क्रममा हलीहरू बस्दथे । पछि उनीहरुले नै यहाँ मेला लगाउने प्रचलनसमेत सुरु गरे । अहिले पनि हरेक वर्ष वैशाख १, २ र ३ गते हलीमेलामा मेला लाग्छ । त्यसैले यो ठाउँको नाम हलीमेला रहन गएको बताइन्छ । हलीमेलाको यहीँ ऐतिहासिकतालाई अक्षुण राख्न स्तम्भ निर्माण गरिएको स्थानीय खगेन्द्र तामाङले बताउनुभयो ।

    सदरमुकाम म्याङलुङको टुँडिखेलमा ढाका बुनिरहेको महिलाको स्तम्भ निर्माण गरिएको छ । यसले २०७९ सालमै ढाकाको राजधानी घोषणा गरिएको तेह्रथुमे ढाकाको लोकप्रियतालाई उजागर गर्छ । प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको यो स्तम्भले स्थानीय ढाका बुन्ने महिलाहरूको सम्मान भएको म्याङलुङ नगरपालिकाका उपप्रमुख जमुना कार्की सुवेदीले बताउनुभयो ।

    यसरी निर्माण गरिएका स्तम्भले इतिहास र परम्परालाई जीवन्त राख्न, स्थानीय विशेषता र महत्व दर्शाउन साथै पर्यटन प्रवर्द्धन गर्न सहयोग पुगेको जिल्लावासी बताउँछन् । यसका लागि स्थानीय सरकार र स्वयं स्थानीयसमेत एकजुट हुने गरेका छन् । पर्यटन प्रवर्द्धन र मौलिकता संरक्षणका लागि अपनाइएको यो शैली सुन्दर र प्रभावकारी बनेको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका सचिव राजकुमार तेयुङले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.