सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थारु बस्तीमा माघी पर्वको तयारी सुरु


  •    न्युजभित्तो/१८ पुष २०८२, शुक्रबार १३:५५ 
  • देउखुरी (दाङ), १८ पुस । माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा तयारी सुरु भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुसार आजभोलि थारु बस्तीका स्थानीयको व्यस्तता बढेको छ ।

    यस पर्वमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही उपमहानगरपालिका–७ शुक्रबारका रमा चौधरीले बताउनुभयो । उहाँले भन्नुभयोे, “माघीको तयारीका लागि वनबाट दाउरा, पात ल्याएका छौँ । पातको दुनाटपरी गास्ने काम गरिरहेका छौँ । ढिक्री, रोटी, जाँड पकाउन धान, चामल कुटाउने र पिसाउने काम पनि सुरु भएको छ ।”

    खानाका परिकार बनाउनका लागि एक महिनाअघिदेखि तयारी गरेर माघेसङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघ पर्व मनाउने प्रचलन रहेको छ ।

    घोराही–२ का सुशील चौधरीले थारु समुदायले माघमा गाउँको मुखिया, घरमूली चुन्ने, चौकीदार, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेष रूपमा लिने गरिएको बताउनुभयो । वर्षभरि गरेका कामको समीक्षा र आगामी कार्ययोजना बनाउने पर्वका रूपमा पनि माघीलाई लिने गरिएको उहाँले सुनाउनुभयो ।

    थारु समुदायका पुरुषले माघीको अघिल्लो दिन आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकैठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी वा खोलामा नुहाउने प्रचलन छ । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगभेट गरी आशीर्वाद लिने र घरमा खिचडी दान गर्ने प्रचलन रहेको छ । खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याउने गरिएको थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष अशोक चौधरीले बताउनुभयो । “छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र पाहुर ९कोसेली०का रूपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन छ”, उहाँले भन्नुभयो ।

    माघीको अघिल्लो दिन बिहानै गाउँघरका मानिस जम्मा भई बङ्गुर, सुँगुर मारेर ९थारु भाषामा जिता मार्ना० बराबरी बाँड्ने चलन छ । घोङ्गी, गँगटा र माछाको विशेष परिकार बनाएर खानुका साथै यस अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ ।

    घोराही– ६ का थारु अगुवा भीमबहादुर चौधरीका अनुसार थारु समुदायमा माघ महिनालाई नयाँ वर्षका रूपमा लिने गरिन्छ । पुस मसान्तमा आआफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने चलन छ । माघीमा परिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीसहित अन्य व्यवहारको नवीकरण गरिने उहाँले उल्लेख गर्नुभयो ।

    माघी महोत्सवको तयारी

    माघ नजिकिदै गएसँगै थारु समुदायसँग सम्बन्धित सङ्घसंस्थाले धमाधम सांस्कृतिक महोत्सव आयोजना गर्न थालेका छन् । थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीका अवसरमा यही पुस १९ गते घोराही उपमहानगरपालिका– १५ सहिद पार्कमा माघ महोत्सव हुने भएको छ । थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष चौधरीले भन्नुभयो, “थारु भाषा, साहित्य तथा लोक कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले माघी महोत्सवको आयोजना गरिएको हो ।”

    यसै अवसरमा थारु सम्वत् २६४९ आयोजना गरिने भएको छ । थारू समुदायको मौलिक कला, संस्कृति, वेषभूषा तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । महोत्सवमा मघौटा नाचसहित थारू सांस्कृतिक नाचगान, झाँकी प्रदर्शन तथा विभिन्न सांस्कृतिक कार्यक्रम समेटिने आयोजकले जनाएको छ ।

    यस्तै, महोत्सवमा थारु परिकारहरू घोंघी, माछा, गङ्गटा, ढिक्री, अनदीको रोटीलगायत परिकारको बिक्री तथा वितरण गरिनेछ । साथै, थारू भाषाका विभिन्न पुस्तक र हस्तकलाका सामग्री पनि प्रदर्शनी तथा बिक्रीका लागि राखिने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.