सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै


  •    न्युजभित्तो/१६ पुष २०८२, बुधबार १६:५४ 
  • सिन्धुली, १६ पुस । ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो ।

    सदरमुकाम सिन्धुलीमाढी तथा खुर्कोट बजारबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित सिन्धुलीगढीमा अहिले दैनिक २०० भन्दा बढी पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, सिन्धुली शाखाका अध्यक्ष उद्धव श्रेष्ठका अनुसार गढी दरबार, अन्य ऐतिहासिक संरचनाको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय सञ्चालनमा आएपछि पर्यटकको आगमन निरन्तर बढिरहेको छ ।

    उहाँका अनुसार नागबेली सडक यात्रा पार गरी पुगिने सिन्धुलीगढी वर्षभरि कुहिरो र प्राकृतिक दृश्यको रमणीय संयोजनका कारण पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । गर्मी र जाडो दुवै मौसममा तराई क्षेत्रका जिल्लाबाट आउने पर्यटकहरू यहाँको मौसम, शीतल हावा र ऐतिहासिक महत्वबाट प्रभावित हुने गरेका छन् ।

    हाल जुनार तथा सुन्तलाको मौसम रहेकाले सिन्धुलीगढी आउने भारतीय तथा आन्तरिक पर्यटकहरूले स्थानीय उत्पादनलाई उपहारका रूपमा लैजाने गरेका स्थानीय व्यापारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । सिन्धुलीका जुनार, सुन्तला तथा स्थानीय तरकारीले यहाँको आर्थिक गतिविधिमासमेत सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ ।

    नेपाल–अङ्ग्रेज युद्धको जीवित दस्तावेज मानिने सिन्धुलीगढीमा सङ्घीय संरचनापछि उल्लेखनीय पूर्वाधार विकास गरिएको छ । कमलामाई नगरपालिका मातहतमा रहेको सिन्धुलीगढीमा नेपाली सेनाको करिब रु आठ करोडको सहयोगमा युद्ध सङ्ग्रहालय निर्माण भएपछि पर्यटकको चाप बढेको हो । सङ्ग्रहालयमा तोप, घरेलु हातहतियार, युद्ध सामग्री तथा युद्धसम्बन्धी वृत्तचित्र प्रदर्शनीमा राखिएका छन् ।

    विशेषगरी अङ्ग्रेजी तथा नेपाली नयाँ वर्ष, शनिबार र अन्य सार्वजनिक बिदामा सिन्धुलीगढीमा एक हजारभन्दा बढी आन्तरिक तथा भारतीय पर्यटकले अवलोकन भ्रमण गर्ने गरेका व्यापारी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो एक वर्षमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, श्रीलङ्का, पाकिस्तान र भारतलगायत देशका विदेशी पर्यटकसमेत सिन्धुलीगढी पुग्न थालेका छन् ।

    कमलामाई नगरपालिकाका पूर्वप्रमुख खड्गबहादुर खत्रीका अनुसार सिन्धुलीगढी भ्रमणमा आउने पर्यटकहरूले युद्ध सङ्ग्रहालय, रानी दरबार, ठुँडो दरबार, गणेश हिमाल, तराईका फाँट तथा महाभारत क्षेत्रमा पाइने लोपोन्मुख जडीबुटीको अवलोकन गर्न सक्छन् ।

    सिन्धुलीगढीको ऐतिहासिक महत्व, प्राकृतिक सौन्दर्य र पूर्वाधार विकासले यस क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थालेको स्थानीयवासीको भनाइ छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नरभक्षी बाघ खोरमा
    ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै
    • प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    • शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    • मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.