सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी


  •    न्युजभित्तो/१३ पुष २०८२, आईतवार १२:४७ 
  • जानकी (बाँके), १३ पुस । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्नुहुन्छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दैनिकी राप्ती नदीको बगरमाथिको चिसो बालुवामा फलाइएको सखरखण्ड खन्नमै बित्ने गरेको छ ।

    पुसको चिसो बिहान, कुहिरो र सिरेटोबीच रामपति दैनिक जीवनको जिम्मेवारी बोकेर बगरमा आइपुग्नुहुन्छ । छोराछोरीलाई खाना खुवाएर बिहान ८ बजेसम्म उहाँ सखरखण्ड खन्ने ठाउँमा पुग्नुहुन्छ । बिहानदेखि बेलुकासम्म कठोर श्रम गरेर उहाँ दैनिक ६०० रुपैयाँ कमाउनुहुन्छ । 

    “दिनभरिको कमाइले घर व्यवहार चलाउन सकेको छु”, उहाँले भन्नुभयो । गाउँकै व्यक्तिले बगरमा सखरखण्ड लगाएका थारुले बताउनुभयो । सखरखण्ड बालुवाबाट केलाएर झेउवामा हाल्ने र बिक्रीका लागि थुप्रो बनाउने काम रामपतिले दिनहुँ गर्नुहुन्छ । 

    रामपति जस्तै सोही पालिका वडा नम्बर ६ मेहमानपुरका वीरबहादुर थारुको पनि यही दैनिकी बनेको छ । उहाँ पनि राप्ती नदीको बगरमाथिको बालुवामा लगाइएको सखरखण्ड खन्न दिनहुँ आइपुग्नुहुन्छ । दैनिक करिब १० घण्टा काम गरेर उहाँले पनि रामपतिले जस्तै रु ६०० कमाउनुहुन्छ । 

    “घरमा पनि गर्ने खेती नै हो । अहिले खेतीको सिजन छैन । गाउँकै  साथीले लगाएको हुनाले खाली समय काम गरेर कमाउन आएको हुँ”,  उहाँले भन्नुभयो, “दैनिकी ज्याला थोरै भयो । तर खाली बस्नुभन्दा त यही पनि ठूलो कुरो हो ।”  

    जाडो याममा धेरै व्यक्ति आगो तापेर घरभित्रै बस्न चाहन्छन् । तर डाँडाटपरीका नन्कु गदिया भने बिहानै सखरखण्ड खन्न बगरतर्फ लाग्नुहुन्छ । उहाँ पनि रामपति र वीरबहादुर जस्तै दैनिक ज्यालामा काम गरेर परिवारको गुजारा चलाउँदै आउनुभएको छ । सखरखण्ड खनेर कमाएको पैसाले परिवार र घर खर्च जोहो गर्न सहज भएको उहाँ बताउनुहुन्छ । 

    “यो समय यसै पनि किसानहरू खाली बस्ने समय हो । तर यो समयमा सखरखण्ड खनेर भए पनि पैसा कमाउन पाएको छु”, उहाँले भन्नुभयो, “यसले मेरो घर खर्च चल्न सजिलो बनाएको छ ।”  

    बिहानको चिसो सिरेटोसँगै रामपति, वीरबहादुर र नन्कु जस्तै अन्य कामदार पनि सखरखण्ड खन्न राप्ती नदीको बगरमा आइपुग्नुहुन्छ । यही बगरमा डाँडाटपरीका ४५ वर्षीय फत्तेसिंह थारुले विगत ९ वर्षदेखि करिब २५ कठ्ठा क्षेत्रफल जग्गा भाडामा लिएर सखरखण्ड खेती गर्दै आउनुभएको छ । 

    “मैले २०७४ सालमा बगरमाथिको यो जग्गा भाडामा लिएर सकरखण्ड खेती गर्दै आएको छु”, उहाँले भन्नुभयो, “सुरुआती वर्षहरूमा नदीले डुबान पारेर बगरमा लगाएको सखरखण्ड सबै डुबाइदियो । त्यतिबेला मलाई लगभग ६०–७० हजार रुपैयाँ जति घाटा लागेको थियो ।”

    फत्तेसिंहका अनुसार उहाँ सखरखण्डसँगै तरबुजा खेती पनि गर्दै आउनुभएको छ । सुरुआती वर्षहरूमा नदीको बहाव नियन्त्रण गर्न नसक्दा ठूलो घाटा बेहोर्नु परेको उहाँ बताउनुहुन्छ । “पहिला पहिला त खासै अनुभव थिएन । नदीको बगरमा लगाएको हुनाले नदीको बहावले मलाई धेरै घाटा बनायो । अहिले काम गर्दै जाँदा नदीको बहावलाई कसरी रोक्ने भन्ने कुराको अनुभव भयो र अहिले खासै घाटा भएको छैन”, फत्तेसिंहले भन्नुभयो ।

    रु ४५ हजारको लगानीमा लगाएको सखरखण्ड फत्तेसिंहले यस वर्ष ६५ क्विन्टल उत्पादन गरिसक्नुभएको छ । हाल सखरखण्ड प्रतिकिलो ६० का दरले किसानबाट खरिद भइरहेको छ भने बजारमा रु ८० देखि रु १०० सम्ममा बिक्री भइरहेको छ । “अरु खेतीको तुलनामा यो खेती गर्न धेरै सजिलो छ । तर नदीको बहावको धार फर्काउन सक्नुपर्दछ”, उहाँले भन्नुभयो, “यसको बिरुवा उमार्न पनि खासै गाह्रो छैन । उम्रिसकेपछि फल्न फलाउन धेरै मेहनत गर्नु पर्दैन । तर यसलाई लगाउन कामदार धेरै चाहिन्छन र समय पनि धेरै खर्च हुन्छ ।”  

    फत्तेसिंहले फलाउनुभएको सखरखण्ड नेपालगञ्ज, काठमाडौँ, पोखरा, धनगढी, विराटनगर, इटहरी, सुर्खेत, दाङलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिन्छ । सखरखण्ड खरिद गर्न अहिले व्यापारी राप्ती नदीको बगरमा आउने गरेका छन् । फत्तेसिंहले सखरखण्डका बिरुवा आफ्नै घरमा उमार्ने गर्नुहुन्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.