सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर


  •    न्युजभित्तो/९ पुष २०८२, बुधबार १३:२६ 
  • धौलागिरि (म्याग्दी), ९ पुस । म्याग्दीको बेनी नगरपालिका–३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले गत वर्षको सुन्तला बेचेर थाल्नुभएको पक्की घर निर्माण यस वर्षको सुन्तला बिक्रीसँगै सम्पन्न हुँदैछ ।

    उमेरले ७२ वर्ष पुग्नुभएकी कर्णकुमारीले गत वर्ष सुन्तला बेचेर कमाएको रु १५ लाखसहित आफूसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा रङरोगन भइरहेको छ । यस वर्ष उहाँको बारीमा रु १० लाखभन्दा बढीको सुन्तला फलेको छ । कर्णकुमारीले फलाएको सुन्तलाको दुई वर्षकोे कमाइबाट घर ठडिन्छ । सुन्तलाबाट पर्याप्त आम्दानी हुन थालेपछि उहाँको पहिलो रोजाइमा घर निर्माण परेको हो । यसअघि उहाँको कच्ची घर जिर्ण अवस्थामा रहेको थियो ।

    श्रीमान्को निधनपछि जोत्ने हलगोरू र काम गर्ने खेताला खोज्न झन्झट लागेर सुन्तलाखेती गर्नुभएकी कर्णकुमारीको बगैचा अहिले पहेँलपुर छ । मकै, कोदो, गहुँजस्ता परम्परागत खेतीबाली लगाउन छाडेर करिब २० वर्ष अगाडि सुन्तलाका केही थान बिरूवा ल्याएर खेती थाल्नुभएकी कर्णकुमारीले पहिलो उत्पादन बेचेर रु एक हजार ६०० कमाउनुभएको थियो । सुन्तलाबाट रु एक सय, रु एक हजार हँुदै रु १५ लाखसम्म बुझ्नुभएको छ । अहिले कर्णकुमारीको १० रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ ।

    कुनै वर्ष रोगले सुन्तला सखाप हुँदा निराश भए पनि हरेस नखाएकी कर्णकुमारीको दैनिकी सुन्तला बगैँचामै बित्ने गरेको छ । “आफ्ना सन्ततिलाई जस्तै गरी सुन्तलाको बोटलाई स्याहार गर्छु, मलाई खुसी दिने यही सुन्तलाका बोट बनेका छन्, बूढेसकालमा पनि मेरो दैनिकी सुन्तलासँगै चलेको छ”, उहाँले भन्नुभयो । गत वर्षको तुलनामा कम फले पनि उत्पादनबाट सन्तुष्ट रहेको कर्णकुमारी बताउनुहुन्छ ।

    रोजगारीको सिलसिलामा अफगानिस्तान पुग्नुभएका श्रीमान्को २०६७ सालमा आतङ्ककारीको आक्रमणबाट निधन भएपछि घर व्यवहार धान्न हम्मेहम्मे परेको कर्णकुमारीले बताउनुभयो । सुन्तलाले दैनिकी सहज बनाएको उहाँको भनाइ छ । सुन्तलाको कमाइले छोरीहरूको शिक्षादीक्षा, विवाहलगायतका घरायसी खर्चसँगै बचतसमेत गरेको कर्णकुमारीले बताउनुभयो ।

    “आफ्नो संसार उजाडिएपछि मलाई बाँच्न सुन्तलाले सिकाएको छ, सुन्तलाले आर्थिक रुपमा बलियो बनाएको छ”, कर्णकुमारीले भन्नुभयो ।

    सुन्तलाखेती बूढेसकालको सहारा बनेको छ । घरखर्च चलाउन श्रीमान्, सन्तानमाथि निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न फलफूल र तरकारीखेती गरे पुग्ने कर्णकुमारीको सुझाव छ । उहाँ मरेक गाउँमा सबैभन्दा धेरै सुन्तला फलाउने कृषकको रुपमा चिनिनुहुन्छ । सुन्तला खरिदका लागि आएका व्यापारीले समेत कर्णकुमारीको बगैँचालाई पहिलो रोजाइमा पार्ने गर्दछन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै
    • माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    • अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    • हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.