सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचन तयारी: थपिँदै नयाँ मतदाता र राजनीतिक दल


  •    न्युजभित्तो/२७ कार्तिक २०८२, बुधबार १२:४० 
  • काठमाडौँ, २६ कात्तिक । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणापछि नयाँ मतदाता र राजनीतिक दल थपिने क्रम जारी रहेको छ ।

    निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा हालसम्म दुई लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् भने निर्वाचन घोषणापछि २१ नयाँ दलले दर्ताका लागि आयोगमा आवेदन दिएका छन् । केही दलले दर्ता प्रमाणपत्र पाइसकेका छन् भने केही दल विभाजन भई नयाँ दलको मान्यता पाएका छन् । केही दल एकताको प्रक्रियामा छन् ।

    आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरी आयोगद्वारा सञ्चालित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक उत्साहजनक सहभागिता भइरहेको र मङ्गलबारसम्ममा दुई लाख नौ हजार पाँच सय २२ नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    यही कात्तिक २५ गतेसम्ममा एक लाख २२ हजार सात सय ४० पुरूष, ८६ हजार सात सय ८५ महिला र अन्य २७ गरी दुई लाख नौ हजार पाँच सय २२ जना नयाँ मतदाता थपिएका हुन् । कात्तिक २५ गते मात्रै १३ हजार ६६ पुरूष, १० हजार पाँच सय ६७ महिला र अन्य पाँच गरी २३ हजार छ सय ३८ नयाँ मतदाता भएका छन् ।

    आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक भइरहेको छ । आयोगले गत असोज ९ गतेदेखि सञ्चालन गरेको नामावली सङ्कलनको कार्य यही कात्तिक ३० गतेसम्म जारी राख्नेछ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा भाग लिई विवेकको मत प्रयोग गर्ने अवसरका लागि नाम दर्ता गराउन युवा युस्तालाई आह्वान गर्दै आउनुभएको छ ।

    नाम दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्ता स्थलमा नेपाली नागरिकताको प्रमाणपत्रका साथ सम्बन्धित व्यक्ति उपस्थित भई जैविक विवरण ९बायोम्याट्रिक० दिनुपर्छ । यसरी विवरण दिने समय लिनका लागि अनलाइन माध्यमबाट प्रि–रजिष्ट्रेशन (पूर्वदर्ता) पनि गराउन सकिन्छ ।

    अहिले नाम दर्ता गर्ने नागरिकले मताधिकार प्रयोग गर्न निर्वाचन हुने अघिल्लो दिन आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्नेछ । आयोगले हाल नामावली सङ्कलनमा देखिएको भीड व्यवस्थापनका लागि नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा नहुने नागरिकलाई हालको नाम दर्तामा भाग नलिन आग्रह पनि गरेको छ । निर्वाचनपछि पुनः नामावली सङ्कलन हुने भएकाले आशन्न निर्वाचनमा भाग लिन नपाउनेहरूले अहिले नामावली सङ्कलनमा हतार नगर्न आयोगले आग्रह गरेको हो ।

    आयोगले नाम दर्ता स्थलहरूमा देखिएकोे अधिक चापलाई व्यवस्थापन गर्न र सहजरूपमा सेवा प्रवाह गर्नका लागि दैनिक आठ सयभन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा छरछ घन्टाका दरले दुई सिफ्टमा (दैनिक १२ घन्टा) सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । यसका लागि काठमाडौँ उपत्यकाभित्रका तीन जिललाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना कर्मचारी खटाइ सेवा प्रवाहको व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । अन्य जिल्लाका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापका आधारमा जनशक्ति खटउने गरी आयोगले नेपाल सरकार, गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

    मतदाता नामावली दर्ता गर्न भने १६ वर्ष उमेर पुगेपछि मिल्नेछ । गत कात्तिक १७ गतेसम्म १८ वर्ष उमेर पूरा भई मताधिकार प्रयोग गर्न पाउनेहरूको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार दुई सय ३० रहेको थियो । नागरिकले नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरिक्त बसाइँसराइका प्रमाणपत्र वा विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ । नामावली सङ्कलनका क्रममा विगतमा भएको नामावलीमा त्रुटि सच्याउने, नाम सार्ने, नाम हटाउने, दाबीविरोध गर्ने र नयाँ नाम थप गर्नेलगायतका कार्यहरू हुँदै आएको छ ।

    दल दर्ताको सङ्ख्या एक सय २५ पुग्यो

    आयोगमा हालसम्म राजनीतिक दल दर्ताको सङ्ख्या एक सय २५ पुगेको छ । । निर्वाचन घोषणापछि विभिन्न २१ नयाँ दलले निर्वाचन आयोगका दर्ताका लागि निवेदन दिएकामा अध्ययनपश्चात् स्वीकृत हुने क्रम जारी रहेको छ । पछिल्लो दिनमा कबिर सोपको नेतृत्वमा ‘जाँतो’ निर्वाचन चिह्न भएको नागरिक उन्मुक्ति पार्टी नेपाल नयाँ दर्ता भएको छ भने वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान खारेज भएको छ । हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी र दिनेशराज प्रसाईँ नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी नयाँ थपिएको छ । दल विभाजन भई राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी नयाँ दल भएका छन् ।

    नेपालको संविधान, २०७२ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम राजनीतिक दल दर्ताको निवेदनका लागि दलको विधान, नियमावली र घोषणापत्र दुईरदुई प्रति, झण्डा, लोगो, छाप, रोजिएको चुनाव चिह्न, दलको नाम र सो दलको प्रधान कार्यालयको ठेगाना, केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीयस्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना, दलको आय स्रोतको कोष र सो जुटाउने स्रोतको विवरण आदि खुलाउनुपर्छ ।

    निर्वाचन प्रयोजनका लागि अलग्गै दर्ता हुनुपर्ने

    निर्वाचन प्रयोजनका लागि आयोगले सूचना प्रकाशन गरेपछि पुराना र यी नयाँ दलले निर्वाचनमा भाग लिने भएमा पुनः दल दर्ताको निवेदन दिनुपर्ने हुन्छ । त्यसअघि नयाँ दलले दर्ताको निवेदन स्वीकृत गराई दर्ता प्रमाणपत्र लिइसकेको हुनुपर्छ । आयोगले गत असोज २० गते स्वीकृत गरेको निर्वाचन कार्यतालकाअनुसार यही कात्तिक २८ गते निर्वाचन प्रयोजनाका लागि दल दर्ताको सूचना प्रकाशन गर्नेछ । सोका लागि आयोगले आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म १० दिनको समय दिनेछ । यसरी दर्ता गर्ने दलले मात्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका दल दर्ताका लागि निवेदन दिन पाउनेछन् ।

    प्रधानमन्त्री र आयोगबीच छलफल हुँदै

    यसैबीच निर्वाचनको समग्र तयारी, आयोग र सरकारको समन्वयका विषयमा आज प्रधानमन्त्री कार्की र आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुँदैछ । सरकारले विदेशमा रहेका मतदातालाई कसरी मतदानको अधिकार दिलाउन सकिन्छ र त्यसका लागि कस्तो कानुनी र प्राविधिक सम्भावनाका विषयमा आयोगसँग परामर्श गर्दै आएको छ । निर्वाचनका लागि प्रभावकारी समन्वय गर्न प्रधानमन्त्री कार्की र आयोगका पदाधिकारीबीच यसअघि गत असोज ७ गते छलफल भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.