सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसमा विशेष महाधिवेशन मागिरहेका गगनहरू होलान् सफल ?


  •    न्युजभित्तो/७ आश्विन २०८२, मंगलवार १७:०४ 
  • काठमाडौँ, ७ असोज । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल २०८२ मंसिरमा सकिँदै छ ।

    पार्टी विधानअनुसार नियमित महाधिवेशन आगामी मंसिरमा गर्नुपर्छ, तर केन्द्रीय कार्यसमिति बैठकले बहुमतले एक वर्ष कार्यसमितिको म्याद थप्न सक्ने पनि विधानतः व्यवस्था छ ।

    तर, महामन्त्री गगन थापाले गत शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकमा विषम ‘परिस्थितिलाई चिर्न’ भन्दै विशेष महाधिवेशनको प्रस्ताव राखे । त्यहाँ थापाले भने, ‘विधानले केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा, निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था गरेको छ । अहिलेको विशेष परिस्थितिमा पार्टीको केन्द्रीय कार्यसमितिले नै आवश्यक निर्णय गरेर तत्काल विशेष महाधिवेशन गरौं र नयाँ नेतृत्व चयन गरौं ।’

    नियमित महाधिवेशन गर्नुपर्ने वा त्यसको तयारी गरिरहेको पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापाको उक्त प्रस्तावमा समर्थन जनाए ।

    तर थापाको प्रस्तावबारे कार्यसम्पादन समिति बैठकमा निर्णय भएन । भदौ २४ गते जेनजी प्रदर्शनकारीले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजुलाई बूढानीलकण्ठस्थित उनकै निवासमा गएर लछारपछार पारेर कुटे, घाइते भएर सैनिक अस्पतालमा उपचारत देउवा फर्किएपछि केन्द्रीय समिति बैठक बोलाउने र कसरी बढ्ने भन्ने बैठकले निर्णय गर्‍यो ।

    तर, ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ संयोजकसमेत रहेका महामन्त्री थापा निकटका नेताहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर संकलन सुरु गरेका छन् । थापालाई सभापति देउवाले २०८१ कात्तिक १४ गते समिति संयोजकको जिम्मेवारी दिएका थिए । समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही सदस्य छन् । समितिले अहिलेसम्म नयाँ क्रियाशील सदस्यता वितरण सुरु गरेको छैन । पुरानो सदस्यता नवीकरण पनि पटक–पटक म्याद थप्दा पनि सम्पन्न गर्न सकेको छैन ।

    गत असार १६ गतेदेखि २३ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता नवीकरणका लागि यही असोज मसान्तसम्म समय दिएको छ ।

    थापाले नै कार्यसम्पादन समितिमा नियमित महाधिवेशनका लागि पनि अर्को प्रस्ताव पेस गरेका थिए । ‘पार्टीको विधान अनुसार वर्तमान कार्यसमितिको कार्यकाल मंसिरमा सकिन्छ, अब म्याद नथपौँ, यो परिस्थितिमा थप्न मिल्दैन । नियमित अधिवेशन २०८२ मंसिर मसान्तभित्र गर्न सकिन्छ, गरौं । हालको क्रियाशील सदस्य यथावत् कायम राखेर एक महिनाका लागि नयाँ क्रियाशील सदस्यता लिने समय तोकौँ र त्यही क्रियाशील सदस्यबाट अधिवेशन गरौँ ।’

    यी प्रस्तावलाई केन्द्रीय समितिमा छलफल गर्ने भनिएकै बेला थापा निकटका नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साह, निमा गिरीसहितले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु गरेका हुन् ।

    हस्ताक्षर संकलनमा लाग्नेमध्ये घिमिरे १४ औँ महाधिवेशनमा कोशी सभापतिमा र चालिसे केन्द्रीय सहमहामन्त्रीमा पराजित भएका नेता हुन् ।
    कांग्रेस विधानको धारा १७ को उपधारा २ मा विशेष महाधिवेशनसम्बन्धी व्यवस्था छ । त्यो उपधारामा केन्द्रीय समिति वा महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतले कारण खुलाएर विशेष महाधिवेशन बोलाउन सक्ने उल्लेख छ ।

    हस्ताक्षर संकलन गरिरहेका नेता घिमिरेले आफूहरू २७ जनाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको र १०८ जनासँग हस्ताक्षरका लागि अनुमति लिएको जानकारी दिए । ‘हिजो ९सोमबार० हामी २७ जनाले हस्ताक्षर गरेर सार्वजनिक गर्‍यौँ । १०८ जनाको अनुमति लिएका छौँ,’ घिमिरेले रातोपाटीसँग भने, ‘कोजाग्रत पूर्णिमासम्म आवश्यक संख्यामा हस्ताक्षर पुर्‍याउने लक्ष्य छ ।’

    विधानअनुसार १४औँ महाधिवेशन प्रतिनिधिको ४० प्रतिशत हस्ताक्षर पुर्‍याउनुपर्छ । २०७८ साल मंसिरमा भएको १४औं महाधिवेशनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधि थिए । त्यसको ४० प्रतिशत भनेको १ हजार ८ सय ९७ जना हो ।

    त्यो पुर्‍याउन गाह्रो छ, किनकि १४औँ महाधिवेशनमा सभापतिमा निर्वाचित देउवाले २ हजार ७ सय ३३ मत पाएका थिए, उनका प्रतिस्पर्धी नेता डा। शेखर कोइरालाले १ हजार ८ सय ५५ मत पाएका थिए ।

    संस्थापन पक्ष नियमित महाधिवेशन गर्ने पक्षमा छ । नेता डा। कोइरालाले पनि विशेष महाधिवेशन बोलाउने पक्षमा मुख खोलेका छैनन् । डा। कोइरालाको सचिवालयका अनुसार दसैँपछि देश दौडाहमा जाने र नेता कार्यकर्ताको मत बुझेर त्यसैअनुरुप अगाडि बढ्ने उनको योजना छ ।
    डा। कोइरालासहित महामन्त्री थापा पक्षको महाधिवेशन प्रतिनिधि सबै जोड्दा पनि आवश्यक संख्या पुग्दैन, अझ कोइरालाले नै मुख नखोल्दा यो सफल हुने सम्भावना कम देखिन्छ ।

    अझ केन्द्रीय समितिमा भएकाहरू हस्ताक्षर अभियानमा सहभागी हुँदैनन् । ‘यो हस्ताक्षर अभियानमा केन्द्रीय समितिमा रहेका साथीहरू सहभागी हुनुहुन्न । उहाँहरूले चाहेमा हुने अर्कै बाटो छ,’ हस्ताक्षर अभियानकर्ता घिमिरे भन्छन्, ‘हामी केन्द्रीय समिति बाहिरकाले अभियान सुरु गरेका हौँ ।’

    कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले आइतबार पत्रकारहरूसँग कार्यसम्पादन समितिबाट भएको आधिकारिक निर्णयभन्दा बाहिरबाट थालिएको छलफलले पार्टीलाई राम्रो नहुने बताएका थिए ।

    ‘अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि पूरा हुन पर्खन नसक्ने’ गगन–विश्वप्रकाश लक्षित उनले टिप्पणी गरेका थिए । यस्तो बेला नेतृत्व हस्तान्तरणको बहसले देशलाई निरन्तर अस्थिरतातर्फ धकेल्ने प्रवृत्तिलाई नै मद्दत पुग्ने दाबी महतको थियो ।

    त्यस्तै पाँच पूर्वपदाधिकारीले पनि विशेष महाधिवेशनको विरोध गरेका छन् । आइतबार बसेको पाँच पूर्वपदाधिकारीको बैठकले पार्टीमा कलह निम्त्याउने विशेष महाधिवेशन गर्न नहुने निष्कर्ष निकालेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.