सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तरकारी र दूध बेचेर मासिक एक लाख आम्दानी


  •    न्युजभित्तो/१७ असार २०८२, मंगलवार १५:५९ 
  • ढोरपाटन, १७ असार ।  बुर्तिबाङ बजारसँगै जोडिएको भब्रेटा गाउँ छ । भब्रेटा गाउँमा उक्लिँदा बित्तिकै ठूलो कृषि फार्म देखिन्छ । फार्ममा लहलह फलेका काँक्रा, गोडेडा, काउली र बन्दा । फार्म छेउमै रहेको बारीमा भेटिनुहुन्छ चन्द्रलाल पाण्डे । बारीको घाँस काट्ने, तकारीमा पानी लगाउने र भैँसी दुहुने चन्द्रलालको दैनिकी नै हो । आकस्मिक कामबाहेक उहाँ फार्म छाडेर कतै जानुहुन्न । जानका लागि उहाँलाई फुर्सद पनि हुँदैन ।
    करिब २० वर्ष अगाडि कतार पुग्नुभएका चन्द्रलालले पाँच वर्ष उहीँ बिताउनुभयो । परदेशी भूमि, दुःखको काम त्यसमाथि साहुको गालीबोली जसले गर्दा उहाँलाई विदेश बस्नै मन भएन । पाँच वर्ष बिताएपछि उहाँ स्वदेश फर्किनुभयो । गाउँ फर्किएपछि उहाँले विक्रम संवत् २०६७ देखि व्यावसायिक रुपमा तरकारीखेती गर्न थाल्नुभयो । बिस्तारै भैँसी पालेर दूध बिक्री गर्न थाल्नुभयो । अहिले चन्द्रलालले तरकारी र दूध बिक्री गरेरै राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
    उहाँले २४ रोपनी क्षेत्रमा तरकारीखेती गर्नुभएको छभने पाँचवटा भैँसी पालेर दैनिक ३० लिटर दूध बिक्री गर्दै आउनुभएको छ । बुर्तिबाङ बजार नजिकै रहेको हुँदा उहाँले उत्पादन गरेको तरकारी र दूध बिक्रीका लागि समस्या छैन । जति पनि बजारमै खपत हुने हुँदा उत्पादन बढाउनतर्फ उहाँ लाग्नुभएको छ । पन्ध्र वर्षसम्म निरन्तर तरकारीखेती र दूध उत्पादन गर्दै आउनुभएका चन्द्रलाल विदेशमा भन्दा बढी खुसी र सुखी हुनुहुन्छ । विदेशको पीडाले आफूलाई गाउँमै उद्यमी बन्न सिकाएको उहाँ बताउनुहुन्छ ।
    “म विदेश जानभन्दा पहिला पनि सामान्य रुपमा तरकारीखेती गरेको थिए, तर अहिले जस्तो व्यावसायिक बन्न सकेको थिएन, धेरै कमाइएला भनेर कतार पुँगे, त्यहाँ त निकै कडा काम गर्नु पर्दोरैछ, साहुको नमिठो गालीबोली सहन नसकेर गाउँ फर्किएर यही केही गरौँ भनेर लागेँ”, उहाँले भन्नुभयो, “म अहिले ४० वर्ष भए, मेरा उमेरका धेरै युवा विदेश छन्, गाउँ फर्किएर व्यावसायिक रुपमा तरकारीखेती गर्ने हो भने साउदी कतारमा भन्दा बढी आम्दानी गर्न सकिन्छ ।”
    उहाँले तरकारी र दूध बेचेरै आठ जनाको परिवार चलाउनु भएको छ । बुबा, आमा, श्रीमती र चार छोराछारी यही पेसाबाटै धानेको उहाँको भनाइ छ । पहिले घरपरिवार चलाउनका लागि समस्या हुने गरेको स्मरण गर्दै तरकारीखेतीले सहज रुपमा जीवनयापन गर्नसक्ने बनाएको पाण्डेले बताउनुभयो । खासगरी हिउँदको बेमौसरी तरकारी उत्पादन गर्दै आएको उहाँले सुनाउनुभयो । सुरुमा आफूले रु १५ हजारबाट व्यवसाय सुरु गरेको भन्दै अहिलेसम्म करिब रु ३५ लाख लगानी भएको उहाँको भनाइ छ ।
    कृषि ज्ञान केन्द्र बागलुङले टनेल, भकारो गर्न र अन्य व्यस्थापनका लागि रु १५ लाख सहयोग गरेको जनाउँदै उहाँले नगरपालिकाबाट अपेक्षित सहयोग पाउन नसकेको गुनासो गर्नुभयो । आफूले पूर्णकालीन रुपमा एकजना कामदार राखेर रु १८ हजार तलब दिने गरेको सुनाउँदै समयसमयमा गाउँका अन्य युवालाई पनि रोजगार दिने गरेको उहाँको भनाइ छ । चन्द्रलालले तरकारी र दूध बेचेर मासिक रु एक लाख आम्दानी गर्ने सुनाउनुभयो । तरकारीखेतीबाट केही सम्पत्ति जोडेको उहाँ बताउनहुन्छ ।
    उहाँले भन्नुभयो, “तरकारीखेतीले मेरो आर्थिक अवस्था पनि उकास्यो, पहिले छ मुरी धान फल्ने खेत मात्रै थियो, अहिले मैले थप ३४ मुरी धान खेत किने, तराईमा एउटा घडेरी जोडेको छु, धैर्य भएर मेहनत गरेपछि सफलता हासिल गर्न सकिने रैछ भन्ने बुझ्दैछु, यो पेसाबाट मेरो सिङ्गो परिवार नै सन्तुष्ट छ, सक्दासम्म यही पेसा गर्ने हो, बाँकी पछि छोराछोरीले केही इलम गर्नेछन्, आत्मसन्तुष्टि सबैभन्दा ठूलो कुरा रैछ, धन सम्पत्ति त मेहनत गरे जोडी हालिन्छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.