सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरको हरियालीसँगै वरपीपल रोप्ने अभियान


  •    न्युजभित्तो/८ असार २०८२, आईतवार १५:५९ 
  • चितवन, ८ असार । भरतपुर महानगरपालिकाले समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित सहर निर्माणलाई प्राथमिकतामा राखेको छ । महानगर प्रमुख रेनु दाहालले आज १७ औँ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महानगरपालिकाले पूर्वाधार निर्माणलाई निरन्तरता दिदै हरियाली प्रर्वधन र सुरक्षित महानगरका रुपमा विकास गर्न एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।
    ।संघीय सरकारसँगको सह लगानीमा महानगरभित्रका वडा नं। २९, रामनगर, नारायणगढ र भरतपुर बजार क्षेत्रलाई समेट्ने गरी एकीकृत सहरी खानेपानी तथा ढल व्यवस्थापन आयोजना आ.व. ०८२/०८३ बाट कार्यान्वयन प्रारम्भ गरिने महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।

    “उज्यालो भरतपुर” अभियान अन्तर्गत नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा निर्माणधीन पहिलो र दोस्रो चरणको स्मार्ट सडक बत्ती, हाई मास्ट एवम् मिनी मास्ट बत्ती जडान र विस्तारको साथै मुख्य बजार क्षेत्रमा बिजुलीका तारहरुलाई भूमिगत प्रणालीमा लैजाने काम सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    महानगरभित्रका पार्क, सामुदायिक वन तथा अन्य पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्ने व्यवस्था गरी राजस्वको दायरामा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगर प्रमुख दाहालले सम्बन्धित निकायहरूको सहयोग तथा समन्वयमा साझा पूर्वाधार अवधारणा अनुसार नगरभित्रका विद्युत, टेलिफोन, केबुल लाईन र ईन्टरनेटका तारलाई भूमिगत गर्ने कार्यलाई निरन्तरता दिइने बताउनुभयो ।

    महानगरपालिकाभित्रका खोला तथा नाला संरक्षण अभियानलाई तीव्रता दिई केरूङ्गा घोल, पुङ्गी खोला, पोखरी, ताल, सिमसार क्षेत्रहरूको संरक्षण गरी आकर्षक पर्यटकीय करिडोरका रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरभित्रका नगर गौरवका आयोजनाहरूलाई सार्वजनिक–निजी–साझेदारी विधिबाट सञ्चालन गर्ने नीतिअनुरुप लायन्स चोकमा महानगरीय व्यवसायिक भवन यसै आ।व।मा निर्माण सुरु गरिने छ । फोहरमैला व्यवस्थापनको लागि आधुनिक पूर्वाधारसहितको ल्याण्डफिल साईट निर्माण कार्य सार्वजनिक निजी साझेदारीमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    संघ तथा प्रदेश सरकारको साझेदारीमा महानगरपालिकाभित्र निर्माणाधीन देशकै बृहत् महानगरीय चक्रपथ र लिङ्करोडको बाँकी खण्डमा निर्माण कार्य अगाडि बढाउने लक्ष्य लिएको छ । १७ औँ नगरसभामा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको सिटीहल, रानीपोखरी पार्क, लक्ष्मी नारायण मन्दिर तथा पार्कलगायतका आयोजनाहरू संघीय सरकासँगको समन्वयमा निर्माण सम्पन्न गरी आ।व। ०८२/०८३ भित्र सञ्चालनमा ल्याइने जनाइएको छ ।

    दियालो बङ्गला सङ्ग्रहालयलाई थप व्यवस्थित बनाइने

    भरतपुर महानगरपालिकाले दियालो बङ्गला सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा सर्वसाधारणका लागि खुला गरिएको संग्राहालयलाई हरियाली पार्क र अन्य पर्यटकीय पूर्वाधार निर्माण गरी थप व्यवस्थित बनाइने नीति तथा कार्यक्रममा जनाइएको छ । यो सँगै देवनगर वन्यजन्तु उद्धार केन्द्र, राईनो चिल्ड्रेन पार्क, लक्ष्मीनारायण मन्दिर, प्रज्ञा स्मृति पार्क, रानिपोखरी, जोरकुसुम पार्क, देविस्थान पार्क लगायतलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रवर्धन गरिने महानगर प्रमुख दाहालले बताउनुभयो । पटिहानी ईको पार्कलाई गुरुयोजना बमोजिम प्रदेश सरकारको सहकार्यका निर्माण बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    फोहर व्यवस्थापनलाई प्राथमिकता दिइने

    भरतपुर महानगरपालिकाले फोहरलाई स्रोतमा नै वर्गीकरण गर्न प्रेरित गरिनेछ ।वर्गीकरण नगरी फोहर उत्सर्जन गर्ने उत्सर्जकहरुलाई कडाइका साथ दण्ड जरिवाना गर्ने नीति अवलम्बन गर्ने जनाएको छ । अन्तिम विसर्जनका लागि ल्याइएका फोहरहरुलाई वातावरणमैत्री विधिबाट व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सूचकमा आधारित वातावरणमैत्री घर, टोल, वडा घोषणा गर्ने कार्यक्रमलाई निरन्तरता दिइने प्रमुख दाहालले बताउनुभयो । आवश्यक मापदण्ड पूरा गर्ने वडाहरुलाई वातावरणमैत्री वडा घोषणा गरिने नीति लिइएको छ ।

    यस्तै अस्पतालजन्य फोहरमैला व्यवस्थापन गर्न सम्बन्धित स्वास्थ्य संस्थालाई निर्मलीकरण गराउन पूर्ण जिम्मेवार बनाइने बताइएको छ । निर्मलीकरण गर्न नसक्ने संस्थाहरुको फोहरलाई महानगरको समन्वयमा निजी सेवा प्रदायक संस्थामार्फत निर्मलीकरण गरी अन्तिम विर्सजन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    महानगरकै नर्सरीमा उत्पादित विरुवा रोपिनुका साथै विक्री वितरण गरिने

    हरियाली महानगरपालिका कार्यक्रमको लागि महानगरको आफ्नै नर्सरीबाट उत्पादित विभिन्न जातका फलफूलका विरुवाहरु रोपिनुका साथै विक्री वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । चोक सुधार कार्यक्रमलाई निरन्तरता दिइने प्रमुख दाहालले बताउनुभयो ।

    “भरतपुर महानगरः हरियाली तथा स्वच्छ सहर” अवधारणालाई सार्थक बनाउन हरियाली एवं सरसफाई वर्ष कार्यक्रम सञ्चालन गरी हरियाली प्रवर्धनका कार्यक्रमलाई टोल विकास संस्थाहरु समेतलाई परिचालन गरी सरसफाई र हरियालीलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । मापदण्ड पुगेका सडक दायाँबायाँ वृक्षरोपण र नगरवासीलाई बहुवर्षीय एवम् फलफूलका विरुवा निःशुल्क वितरण गरिने जनाइएको छ । “एक घर, दुई रुखको नीति” लाई घर निर्माण सम्पन्न प्रकृयामै समावेश गरी प्रभावकारी कार्यान्वयन र उचित संरक्षणको व्यवस्था गरिने पनि जनाइएको छ । यस्तै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई मागको आधारमा निःशुल्क विरुवा वितरण गरी वृक्षरोपण र संरक्षणको व्यवस्था मिलाइने बताइएको छ ।

    व्यवसायिक संस्थागत उत्तरदायित्व अन्तर्गत निजी क्षेत्र र सामाजिक संघसंस्थासँगको साझेदारीमा सडक तथा नदी किनार र सार्वजनिक जग्गामा वृक्षरोपण गर्दै विरुवा हुर्काउने अभियानलाई निरन्तरता दिइनेछ। टोल टोलमा वर, पिपल रोप्ने अभियान सञ्चालन गरिने बताइएको छ ।-रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवद्र्धन गरिँदै
    • सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
    • पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
    • सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    • भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.