सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विकासले फेरियो पश्चिम चितवन, फराकिलो सडक सञ्जालदेखि स्तरीय अस्पतालसम्म


  •    न्युजभित्तो/११ माघ २०७९, बुधबार १५:५१ 
  • चितवन,११ माघ । दश वर्षपछि अष्ट्रेलियाबाट घर आएका पश्चिम चितवनको रामपुरका विष्णु अधिकारीलाई यहाँको सडक सञ्जाल देखेर अनौठो लाग्यो । हिँड्नुपर्ने अधिकांश सडक कालोपत्र देखेपछि उनी दंग थिए । रामपुरबाट गोलाघाट, शिवघाट, पटिहानी, भरतपुर जहाँ जाँदा पनि कालोपत्र सडक छोड्न नपरेको उनले बताए । अधिकारी यसअघि अष्ट्रेलियाबाट आउँदा सडकमा ठूला–ठूला खाल्डा पर्दा बसबाट झरेर बस खाल्डो कटाएरमात्रै फेरि बस चढेको उनलाई अनुभव छ । भरतपुरबाट मेघौली जाने सडकका ठाउँ–ठाउँमा ठूला–ठूला खाल्डा पर्दा पाँच वर्षअघिसम्म यो सडक यात्रा गर्नेहरू ठाउँ–ठाउँमा झर्नुपर्ने बाध्यता थियो । अहिले यो सडक पार गर्दैगर्दा आपूm कुन सडकमा छु भन्ने आभास नहुने गरी फराकिलो कालोपत्र सडक बनेको छ ।

    सडक सञ्जालमात्रै होइन, खानेपानी, पर्यटन, सिँचाइ, शिक्षालगायतका क्षेत्रमा आमूल परिवर्तन आएको छ । झण्डै २० वर्षपछि यो क्षेत्रले जनप्रतिनिधि पाएसँगै विकासको लहर आएको हो । सोही क्षेत्रबाट यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए । त्यसो त भरतपुर महानगरपालिकामा प्रमुखमा रेनु दाहाल आएसँगै उनको विकास ध्यान पश्चिम चितवनमा केन्द्रित भएको हो ।

    नेपाली कांग्रेसका नेता गुञ्जनगर निवासी विष्णु ढकाल विगत पाँच वर्षमा पश्चिम चितवनमा विकासका धेरै काम भएको बताउँछन् । उनले स्मरण गर्दै भने, ‘गञ्जसिंह गुरुङको घरदेखि तल मेघौलीसम्मको बाटो हिँड्दा निकै दुःख हुने गथ्र्यो ।’ ढकालकै नेतृत्वमा सडक निर्माणका लागि धेरैपटक डिभिजन सडक कार्यालयमा डेलिगेसन गएको उनले स्मरण गरे ।

    ढकालको भनाइमा सडकसँगै वडा–वडामा भूमिगत जलसिँचाइ भएका छन् । सबैजसो वडामा खानेपानी पुगेको छ । पटिहानी, मेघौली, रानीपोखरी, लक्ष्मीनारायण मन्दिर, राइनो कुञ्ज, गोलाघाट, राइनो पार्कलगायतका धेरै ठाउँ पर्यटकीय गन्तव्य बनेको ढकाल बताउँछन् ।

    यससँगै नदी किनारमा बस्नेहरूका लागि सधैँ जोखिम बनेको नारायणी नदी तटबन्धनको काम धमाधम भइरहँदा स्थानीयवासीले सुरक्षित बनेको महसुस गरेका छन् । नदी किनारलाई पर्यटकीय मार्गको रूपमा विकास गरिँदै छ । तत्कालीन गुञ्जनगर गाउँ विकास समितिका उपाध्यक्षसमेत रहेका ढकाल विद्यालयको भौतिक पूर्वाधार बढेको र स्कुल बसले टाढाका विद्यार्थी सहजै विद्यालय पुगेको बताए । ढकालले भने, ‘महानगरपालिकामा प्रमुख दाहाल आएपछि पश्चिम चितवनले विकासको फड्को मारेको छ ।’

    नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापति ओम लामिछाने पछिल्लो समय विकासका धेरै काम भएको बताउँछन् । ग्रामीण क्षेत्रमा बनेका सडक सञ्जालले स्थानीयलाई राहत दिएको उनको बुझाइ छ । पछाडि परेको यस क्षेत्र लामो समयपछि आएका जनप्रतिनिधिका कारण विकास भएको उनी बताउँछन् । प्रधानमन्त्री दाहालले यसअघि यहाँबाट निर्वाचित भएपछिका सभाहरूमा बोल्ने क्रममा भरतपुरलाई नेपालकै नमूना महानगरको रूपमा विकास गरेर यसलाई देशव्यापीरूपमा चिनाउने र अभियानलाई विस्तार गर्ने बताएका छन् ।

    भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरमा जनप्रतिनिधि आएसँगै विकासका दृष्ट्रिले आमूल परिवर्तन ल्याउन सकिएको बताए । पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायतका क्षेत्रमा अपेक्षाकृत काम भएको उनले बताए । उनले भने, ‘विगत पाँच वर्षको अवधिमा पश्चिम चितवनले मुहार फेर्न सफल भएको छ ।’ आम नागरिकलाई प्रत्याभूत हुने गरी काम भएको उनले बताए ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल आफू निर्वाचित भएर आएपछि ६११ किलोमिटर सडक कालोपत्र गरेको बताउँछिन् । दोस्रो कार्यकालमा भारी मतले विजयी भएकी दाहालले नारायणी नदी तटबन्धनका लागि अरर्बौँको काम भइरहेको भन्दै यसले नदी नियन्त्रणसँगै तटीय क्षेत्रको सुन्दरता बढ्ने गरी काम हुने बताइन् । उनले भनिन्, ‘नदी तटीय क्षेत्रलाई पर्यटकीय मार्गका रूपमा विकास गरिँदै छ ।’

    महानगरमा चार अर्बभन्दा बढीको खानेपानी योजना केही सम्पन्न भएको र केही अन्तिम चरणमा पुगेको छ । उनले भनिन्, ‘सबै वडामा स्वच्छ पिउने पानी पु¥याउँदै छौँ ।’ पश्चिम चितवनका सुक्खा क्षेत्रका अधिकांश भागमा भूमिगत सिँचाइ प्रणालीमार्फत सिँचाइको काम गरिएको उनी बताउँछिन् । यसले पश्चिम चितवनलाई हराभरा बनाएको तरकारी, तेलहन र खाद्यान्न बालीको उत्पादन वृद्धि भएको उनको भनाइ छ ।

    विद्यालयलाई भौतिक संरचनाले पूर्ण बनाउँदै टाढाबाट विद्यार्थी ल्याउन बस उपलब्ध गराइएको छ । यसले समग्र विद्यालयको शैक्षिक गुणस्तर बढेको उनको भनाइ छ । महानगरका पर्यटकीय गन्तव्यलाई सङ्घ र प्रदेशका महत्वपूर्ण गन्तव्यमा सूचीकरण गराई यसको पूर्वाधार विकास गराइएको उनले जानकारी दिइन् । आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ । शिवनगर र शारदानगर स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाइएको छ ।

    विभिन्न वडामा सेवा केन्द्र विस्तार गरी महानगरवासीलाई सहजीकरण गरिएको छ । पश्चिम चितवनलाई पर्यटन केन्द्रका रूपमा विकास गरिएको छ । चौबीसकोठी–गोलाघाट सडकलाई सहायक राजमार्गका रूपमा सूचीकृत गरिएको छ । हुलाकी सडकलाई स्तरोन्नति गरिएको छ । मेघौली विमानस्थल स्तरोन्नति गरी नियमित सञ्चालन गर्ने तयारी गरिएको छ । बजारी क्षेत्रमा स्मार्ट लाइट जडान गरी उज्यालो भरतपुर अभियान अगाडि बढाइएको छ । कुलो मर्मत गरिएको छ । रामपुरमा त्रिभुवन विश्वविद्यालयको आङ्गिक इञ्जीनियरिङ कलेज सञ्चालनमा ल्याइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.