सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका भूमिहीनलाई सधैँको चुनावी आश्वासन बन्यो ‘लालपुर्जा’


  •    न्युजभित्तो/२४ कार्तिक २०७९, बिहीबार १३:३६ 
  • चितवन, कात्तिक २४। वर्षौदेखि सार्वजनिक र वनको जमिनमा बस्दै आएका यहाँका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि सधैँको चुनावी आश्वासन जग्गा धनी प्रमाण पूर्जा (लालपुर्जा) हुने गरेको छ ।जिल्लामा रहेका भूमिहिन सधैँ आश्वासनका भरमा मतदान गर्न बाध्य हुँदै आएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा पनि यस्ता आश्वासन आउने गरेको उनीहरुको गुनासो रहेको छ । लालपुर्जा दिने प्रतिबद्धतासँगै कार्यान्वयन गर्ने व्यक्तिलाई मतदान गर्ने जिल्लाका भूमिहीन एवं अव्यवस्थित बसोबासीले बताएका छन् ।

    जिल्लामा अहिले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)को माग गर्दै ४३ हजार दुई सय ८४ जनाले निवेदन दिएका छन् । उनीहरुले आफूहरुको व्यवस्थित बसोबास गर्ने गरी व्यवस्था गर्ने उम्मेदवार रोज्ने जनाएका छन् । उम्मेदवारहरु मत माग्न आउँदा समस्या समाधानका लागि माग गरिएको नेपाल बसोबास बस्ती संरक्षण समाजका जिल्ला अध्यक्ष छविलाल देवकोटाले बताउनुभयो । उहाँका अनुसार सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने सरकारको चाहान उनीहरुमा रहेको छ । उहाँले भन्नुभयो “जसले हामीलाई पुर्जा दिन्छ उसलाई हामी भोट दिन्छौँ ।” अहिलेसम्म जिल्लाका एक सय ७८ जना भूमिहीनले जग्गा प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।

    भरतपुर महानगरपालिका–११ का भूमिहीन होमनाथ अधिकारी अहिले जग्गाको आसमा हुनुहुन्छ । उहाँ सार्वजनिक जग्गामा बसेको ३५ वर्ष भयो । उहाँले अहिलेसम्म आफ्नो नाममा जग्गा धनी प्रमाण पुर्जा पाउन नसकेको दुःखेसो व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “हामीलाई सधैँ निर्वाचन भोट माग्ने मुद्दा मात्रै बनाइयो ।” भूमिहीनका मुद्दा लिएर निर्वाचन जित्ने तर पछि बेवास्ता गर्ने दल र उनका उम्मेदवारभन्दा काम गर्ने उम्मेदवार रोज्ने उहाँको भनाइ छ ।

    माडीको बाँदरझुलामा बस्दै आउनुभएका रामबहादुर स्याङ्तान आश्वासनको भारीले थाकेको बताउनुभयो । उहाँले भन्नुभयो, “आश्वासन मात्रै पाइयो काम हुन सकेन ।” जग्गा धनी प्रमाण पुर्जा दिन्छु भन्ने धेरै आएको गुनासो गर्दै उहाँले समस्या समाधानका लागि कसैले पनि काम गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुकुम्वासी समस्या दलका नेतालाई मागी खाने भाँडो भएको छ ।”

    खैरहनी नगरपालिकाका भूमिहीन विक्रम महतोको गुनासो पनि उस्तै छ । “अहिले निस्सासम्म पाइएको छ अब के हुने हो थाहा छैन”, उहाँले भन्नुभयो । जिल्लाका अधिकांश भूमिहीन तथा अव्यवस्थित बसोबासीका समस्या यही रहेको बताउँदै उहाँले भन्नुभयो, “सरकार परिवर्तनसँगै हुने आयोगको परिवर्तनले हाम्रो समस्या समाधान हुन सकेन ।”

    सरकार परिवर्तनसँगै बन्ने आयोग र आयोगले गरेका कामले पूर्णता नपाउँदा हुने विगठनले समस्याको निकास नपाउने गरेको उहाँको भनाइ छ । भरतपुर–११ गणेशस्थान पुगेका क्षेत्र नं २ का सङ्घीय सांसद पदका उम्मेदवार कृष्णभक्त पोख्रेल, उमेश श्रेष्ठ र रवि लामिछानेले सुकुम्बासी समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ । उहाँहरु सबैको दाबी छ आफ्नो दलले जितेमा जग्गाधनी प्रमाणपूर्जा दिन्छौँं ।

    भरतपुरका आँपटारी, शारदानगर, गुञ्जनगर र गीतानगर तथा कालिका नगरपालिकाको जुटपानी, रत्ननगर र खैरहनी एवं राप्ती नगरपालिकामा रहेका भूमिहीनको समस्या उस्तै छ । यता माडी नगरपालिकाका बाँदरझुला र देवेन्द्रपुरमा बस्ने भूमिहीनको समस्या पनि एउटै छ । समस्या समाधानको आशमा रहेका भूमिहिन कसलाई मत दिने भन्ने दोधारमा रहेका छन् ।

    क्षेत्र नम्बर १ मा सुरेन्द्र पाण्डे, डा विश्व पौडेल र हरि ढकाल तथा क्षेत्र नं ३ मा डा भोजराज अधिकारी, विक्रम पाण्डे र दिनेश कोइरालाले अहिले भूमिहीनको समस्या समाधान गर्ने आश्वासन दिँदै मत मागिरहनु भएको छ । त्यसो त अन्य उम्मेदवारका मुद्दा पनि सुकुम्बासीलाई जग्गा नै रहेको छ । हरेक निर्वाचनमा आश्वासन बाँड्ने तर कार्यान्वयन नहुने हुँदा सुकुम्बासी निरास छन् । ती बस्तीमा भोट प्रभावमा पार्न आर्थिक चलखेल हुने गरेको गुनासोसमेत सुन्ने गरिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.