सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको इच्छाकामना मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा


  •    न्युजभित्तो/३ कार्तिक २०७९, बिहीबार ११:३६ 
  • भरतपुर,कात्तिक ३ ।  चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण सुरु गरिएको हो । विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको छाना छाउन बाँकी रहेको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताउनुभयो । तामाको छाना बनाउनका लागि भक्तपुरमा रहेका कालीगडलाई जिम्मा दिइएको छ ।यसबाहेक मन्दिरमा रङरोगन, ढुङ्गा बिच्छाउने र पर्खाल लगाउने काम बाँकी छ । बजेट अभावका कारण बाँकी काम निर्माण सम्पन्न गर्न नसकिएको उहाँले बताउनुभयो । “गाँउपालिका र प्रदेश सरकारको झण्डै रु दुई करोडको लागतमा मन्दिर निर्माणमा खर्च भइसकेको छ, उहाँले भन्नुभयो”, “चार÷पाँच लाख चन्दादाताबाट पनि सङ्कलन गरिएको छ ।” मन्दिर निर्माणका लागि स्थानीयले श्रमदानसमेत गरेको उहाँको भनाइ थियो । यस वर्ष प्रदेश सरकारले रु १० लाख विनियोजन गरेको छ भने गाँउपालिकाले पनि बजेट विनियोजनको आश्वासन दिएको छ ।

    पृथ्वी राजमार्गअन्तर्गत फिस्लिङबाट १८ किलोमिटर कच्ची सडक र छ सय मिटर हिँडेपछि इच्छाकामना मन्दिर पुग्न सकिन्छ । मन्दिर निर्माण समितिका उपाध्यक्ष यानबहादुर गुरुङले बर्खाको समयमा गाडी नचल्ने र बोकेर सामान लैजानुपर्दा ढुवानी महँगो पर्ने गरेको बताउनुभयो । उहाँले बजेटको सुनिश्चितता भए यस वर्ष मन्दिर निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । कोरोना र आर्थिक समस्याका कारण मन्दिर निर्माणमा ढिलाइ भएको उहाँको भनाइ छ ।

    इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले मन्दिर निर्माणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गर्ने बताउनुभयो । उहाँले मन्दिर नजिकै पाउना घरसमेत निर्माण भइरहेको जानकारी दिनुभयो । “मन्दिरमा लिफ्टबाट खानेपानीको व्यवस्था गरिएको छ । जमिन संरक्षण र प्रवेशद्वारा निर्माणलाई पनि गाँउपालिकाले प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो । इच्छाकामना गाँउपालिका पर्यटकिय सम्पदाले भरिपूर्ण रहेको भन्दै उहाँले यस वर्षदेखि प्रचारप्रसारलाई बढाइने बताउनुभयो । शक्तिखोर फिस्लिङ सडक निर्माण सम्पन्न भएपछि सहजरुपमा इच्छाकामना मन्दिर पुग्न सकिन्छ ।

    गोरखाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामनामा मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे मनले इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेकोे मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार कहिलेबाट यहाँ इच्छाकामना देवीको पूजा गर्न थालिएको हो यकिन नभए पनि धेरै वर्षअघि उहाँका पुर्खाले गाईबाख्रा हराउन थालेपछि गोठालाले भेटेको मूर्तिमा पूजा गर्न सुरु गरेका थिए । “मन्दिरमा पूजा गर्न थालेपछि गाईबाख्रा हराउन छाड्यो । अन्य गाउँलेले पनि पूजाआजाको सुरुआत गरे । इच्छाकामना मन्दिर परिसरमा शिवालयको मन्दिर र गणेशको मूर्ति पनि स्थापना गरियो”, उहाँले भन्नुभयो ।

    प्रत्येक वर्ष मङ्सिरको ठूली एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्ने गर्दछ । मेलामा राँगा, बोका, हाँसको अण्डा र कुखुराको बलि दिइन्छ । घण्ट र त्रिशूल पनि चढाउने गरिन्छ । मेलामा देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्दछन् । रातभर नाचगान र रमाइलो गरेपछि बिहान पूजाआजा गर्ने प्रचलन रहेको छ ।

    इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ । इच्छाकामनाको वरपर जङ्गलले ढाकेको छ । फागुन, चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । वनपाखा फूलले ढकमक्क हुन्छन् । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्रे«सम्म देख्न सकिन्छ ।

    मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पुजारी गुरुङले बताउनुभयो । मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकको आवागमनमा वृद्धि हुँदै आएपछि इच्छाकामनामा होटलसमेत खोल्ने तयारी गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.