सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा चरन क्षेत्र कम हुँदा मौरी किसानको मह घरमै थन्कियो


  •    न्युजभित्तो/१२ आश्विन २०७९, बुधबार ११:४९ 
  • चितवन, असोज १२। महमा आत्मनिर्भर बन्ने प्रयासमा रहेका चितवनका मौरीपालक किसानलाई बजारकै समस्या छ । बजारसंगै चरन क्षेत्र कम हुँदा किसान–किसान बीच मनमुटाव र द्वन्द्व बढेको छ । चितवनको रत्ननगर नगरपालिका–६ सौराहकी अनिता खनालको घरमा ३ क्विन्टल मह त्यतिकै थन्केर बसेको छ । मह खरिद गर्ने मान्छे नपाउँदा उनी निरास बनेका छन् । बजार नपाउँदा सस्तो मूल्यमा मह बिक्री गर्न उनी बाध्य छिन् ।
    खनालले भनिन्, ‘खासमा तोरीको ७ सय, रुदिलोको एक हजार देखि १२ सय, चिउरीको १ हजारसम्म मूल्य छ । तर, बिक्री नहुँदा सस्तो मूल्यमा बेच्नु परेको छ । उत्पादन भएको ७ सय क्विन्टलमा ३ सय क्विन्टल मह बजार नपाएर घरमै थन्केर बसेको छ ।’मह बिक्रीसंगै मौरी चरनमा पनि ठूलो समस्या रहेको खनालले बताइन् । चरन क्षेत्र कम हुँदा केहि विकृत सोच भएका मौरीपालक किसानले अन्य मौरीपालकको घारमा आगोसमेत लगाइदिने गरेको उनले बताइन् । उनले भनिन्, ‘तोरीको फूल फुल्ने सिजन सक्केसंगै मौरी पाल्ने सबैले जंगलमै लगेर एकै ठाउँमा राख्छौं । रुदिलो, चिउरीको रसले सबैलाई धान्दैन । आफ्नो राम्रो बनाउनको लागि अर्काको घार खोतालिदीने बिगारदिने, कसैले आगै पनि लगाइदिने समस्या पनि आयो । मौरी पाल्ने केहि किसानमा रिसीवि हुने रैछ ।’

    उनको श्रीमान् स्वर्ण खनाल भने मह उत्पादन क्षमतालाई बढाउँदा बिक्रीमा समस्या भएको बताउँछन् । गत वर्ष ६० किलो मह उत्पादन गरेका उनले गाउँघर र विदेशमा रहेका आफन्तलाई बेचेका थिए । मौरीबाट प्रभावित भएर व्यावसायीक रुपमा मौरीपालक बनेका खनालको मह उत्पादन बढेसंगै बजारीकरणमा समस्या देखिएको हो । यो दम्पतिले तीन वर्षदेखि व्यावसायीक रुपमा मौरीपालन गर्दै आएका छन् ।
    मौरी चरन र मह बजारीकरणको समस्या खनाल दम्पतिको मात्र होइन । लमजुङ्गका मौरी पालक किसान विष्णु रानामगरको गुनासो पनि उस्तै छ । मौरी चरनको लागि कहिले रुपन्देही, दाङ, प्युठान, रोल्पा त कहिले चितवनसम्म उनी आइपुग्ने गरेका छन् । उनले उत्पादन गरेको पाँच सय किलो मह बिक्री हुन सकेको छैन् ।

    ‘चरनको लागि आवश्यक स्रोत छैन् । जता–जता फूलहरु फुल्छ खोज्दै चराउनु पर्छ । जस्ले गर्दा चिउरीको सिजनमा दाङ, प्युठान तिर पुगिन्छ । तोरी र रुदिलोको सिजनमा रुपन्देही, सिद्धी हुँदै चितवन पुगिन्छ,’ उनले भने । दुःख गरेर उत्पादन गरेको मह बिक्री नहुँदा ऋणमाथि ऋण थपिएको गुनासो उनको छ । ‘मह बिक्रीमा अत्यन्त समस्या छ । ५०० किलो मह थुप्रेर बसेको छ । अहिलेसम्म बिक्री भएको छैन्,’ उनले बताए ।

    सरकारको कमजोरीले गर्दा स्वदेशी महले बजार नपाएको मगरको भनाइ छ । डाबर र पतञ्जली जस्ता विदेशी महलाई काखि च्याप्दा यहाँका किसानमा निरासा थपिएको उनको बुझाई छ । सरकारले चाहे नीतिगत रुपमा बजारको समस्या समाधान गर्नसक्ने मगरको धारणा छ । उनले भने, ‘भारतीय डाबर र पतञ्जलीको मह प्राकृतिक होइन । तर यसले नेपाली बजार ओगटेको छ । स्वदेशी प्राकृतिक महलाई विस्थापित गरेको छ ।’

    नेपाली मौरीपालकलाई बचाई राख्न विदेशी महतको आयातमा रोक तथा भन्सार शुल्क बृद्धि गर्नुपर्ने मगरको जोड छ । डाबर, पतञ्जली जस्ता कम्पनीले नेपालकै मह किन्ने नीतिगत बाटो सरकारले बनाएपनि बजारको समस्या टर्नसक्ने मगरको धारणा छ । उत्कृष्ट विज्ञापन र हल्लाको भरमा मह जस्तै देखिने विदेशी उत्पादनको पछि नलाग्न उपभोक्तालाई उनको मगर आग्रह छ । मगरले २०६१ सालदेखि मौरी पालन गर्दै आएका छन् ।

    यस्तै धारणा भरतपर–६ का मौरीपालक किसान तुलसिराम पौडेलको छ । मौरीपालकको समस्या राज्यले नबुझ्दा महमा आत्मनिर्भर हुन नसकेको पौडेल बताउँछन् । २०५६ सालदेखि मौरीपालनमा लागेका पौडल चरन र बजारसंगै मौरीले पर्यावरणमा पार्ने फाइदाको विषयमा समेत राज्य अनभिज्ञ भएको गुनासो गर्छन् । उनले भने, ‘कृषकमा मौरीले बालीमा हानी पु¥याउने भ्रम फैलेको छ । मौरीले रस लिए उत्पादन घट्ने नकारात्मक मानसिकता छ ।’ भ्रमपूर्ण सोच कृषकबाट हटाउन सके चरणको समस्या केही हट्ने पौडेल बताउँछन् । खेती–बालीमा अन्धाधुन्द विषादी प्रयोगले मौरी नष्ट हुने सम्भावना रहेको प्रति उनको चिन्ता छ ।

    नेपाल मौरीपालक महासंघ चितवनका अध्यक्ष दुर्गालाल तामाङले भारतीय मह आयात बढ्दा किसानको उत्पादन घर–घरमा राख्नुपर्ने बाध्यता आएको स्वीकारे । राज्यले स्वदेशी उत्पादनलाई प्राथमिकता दिए सजिलै मह बजारीकरणको समस्या हट्ने उनको भनाइ छ । साथै भारतीय महले बजार लिँदा यहाँका किसानले उत्पादन बढाउन नसकेको तामाङले बताए ।

    तामाङले मौरी चरनको समस्या निराकरण गर्नको लागि ठाउँ–ठाउँमा बाटोको सुविधा हुनुपर्ने बताए । उनले भने, ‘चरन छ, नभएको होइन । तर बाटोको कारणले लैजान सक्ने अवस्था छैन । एकै दिनमा मौरी चरन स्थलसम्म पु¥याउनुपर्ने हुन्छ । धेरै समय लागे मौरी घारभित्रै मर्छ । बाटोको सुविधा भए चरनको समस्या टर्ने थियो ।’

    यस्तै तामाङले मौरीपालक किसानलाई सामुदायिक वन क्षेत्रमा चरणको सुविधा निःशुल्क हुनुपर्ने बताउँछन् । सामुदायिक वनले प्रतिघार ५० देखि २०० रुपैयाँसम्म मौरी किसानसंग लिने गरेको उनले बताए । उनले भने, ‘हामी किसानलाई कर लिए जसरी चितवनका सामुदायिक वनले प्रति घार बराबर २०० सम्म लिन्छन् । अन्य जिल्लामा ५० देखि १५० सम्म लिन्छन् । यो एकदमै ठूलो समस्या हो ।’ तामाङले गाडिभाडामा मौरी किसानलाई सहुलियत आवश्यक रहेको समेत बताए । साथै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि मौरी किसानको समस्यालाई सरकारले नजरअन्दाज गरेको उनले बताए ।

    राष्ट्रिय कृषक महासंघकी महासचिव रिता बस्ताकोटीले सरकारले किसानलाई प्रोत्साहन गर्न नसकेको प्रति आक्रोश व्यक्त गरिन् । उनले भनिन्, ‘मह विदेशबाट ल्याउन तयार छ सरकार तर नीति, नियम, कार्यक्रम ल्याएर प्रोत्साहन गर्न सक्दैन ।’ राज्यको नीति नहुँदा २०औं वर्ष मौरीपालन गरेका किसानले पनि विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेको उनले बताइन् । बास्ताकोटीले स्वदेशी उत्पादनलाई प्राथमिकदा नदिँदा वर्षेनी खर्बाैँ नेपाली रकम बाहिरीएको गुनासो गरीन् । चितवनमा वार्षिक १५ टनसम्म मह उत्पादन हुने गरेको छ । देशभर वार्षिक तीन हजारदेखि चार हजार मेट्रिक टन मह उत्पादन हुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.