सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना


  •    न्युजभित्तो/९ भाद्र २०८३, मंगलवार १४:२७ 
  • काठमाडौँ, ९ भदौ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ ।

    सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘एसिया प्यासिफिक इन्सिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट’ (एआइबिडी) को २४औँ सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात् गर्दै सत्यतथ्यसहित विश्वसनीय समाचारमा जोड दिनुभएको हो ।

    उहाँले सञ्चार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताजस्ता आधारभूत मूल्यमान्यता र सिद्धान्त परिवर्तन हुन नहुने धारणा व्यक्त गर्नुभयो ।

    उहाँले स्वतन्त्रतासँगै सञ्चार क्षेत्रको जिम्मेवारी पनि जोडिएको उल्लेख गर्दै नागरिकलाई सही, निष्पक्ष, सन्तुलित र जवाफदेही सूचना उपलब्ध गराउनु सञ्चारमाध्यमको प्रमुख दायित्व भएको स्पष्ट गर्नुभयो ।

    गलत सूचना र दुष्प्रचारको समाधान प्रतिबन्ध वा नियन्त्रणमा मात्र खोज्न नहुने धारणा व्यक्त गर्नुहुँदै सञ्चारमन्त्रीले बलियो पत्रकारिता, मिडिया साक्षरता, पारदर्शिता, प्रभावकारी व्यावसायिक मापदण्ड र नागरिकको विश्वास अभिवृद्धिलाई उच्चप्राथमिकता दिनुपर्ने बताउनुभयो ।

    सङ्कट, प्राकृतिक विपद्, सार्वजनिक स्वास्थ्यलगायतका जनचासोका सन्दर्भमा आमसञ्चारमाध्यामको भूमिका अझ महत्वपूर्ण हुने सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ थियो । त्यस्तो अवस्थामा नागरिकलाई सही सूचना उपलब्ध गराउनुका साथै समाजमा विश्वास र स्थिरता कायम गर्न जिम्मेवार सञ्चार माध्यामले योगदान पु¥याउने उहाँले बताउनुभयो ।

    सञ्चारमन्त्री डा तिमिल्सिनाले एआई, गलत सूचना र दुष्प्रचार सीमापार फैलिन सक्ने तथा जलवायु परिवर्तन र प्राकृतिक विपद्का प्रभाव पनि बहुदेशीय हुने भएकाले विभिन्न देशका ज्ञान, प्रविधि र अनुभव एकापसमा आदानप्रदान गरी लाभान्वित हुनुपर्नेमा जोड दिनुभयो ।

    विश्वभरका सञ्चार माध्यामले वित्तीय दिगोपना, बदलिँदो पाठक, दर्शक तथा श्रोताको व्यवहार र सञ्चार संस्थाप्रतिको घट्दो विश्वासजस्ता चुनौती सामना गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले सार्वजनिक सेवा प्रसारणका लागि चुनौती अझ गम्भीर रहेको बताउनुभयो । सार्वजनिक सेवा प्रसारणले व्यावसायिक प्रतिस्पर्धासँगै सार्वजनिक हितको जिम्मेवारीसमेत पूरा गर्नुपर्ने भएकाले यसको भूमिका विशिष्ट रहेको उहाँको भनाइ थियो ।

    सञ्चारमन्त्री डा तिमिल्सिनाले एआई, डिजिटल प्लेटफर्म, मोबाइल कनेक्टिभिटी र स्ट्रिमिङ सेवाले सामग्री उत्पादनदेखि वितरण र दर्शकसँगको अन्तक्र्रियासम्म सञ्चारको सम्पूर्ण शृङ्खला परिवर्तन गरिरहेको बताउनुभयो । उहाँले यस्ता परिवर्तनलाई चुनौतीका रूपमा मात्र नभई ठूलो सम्भावनाका रूपमा पनि उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

    डिजिटल प्लेटफर्ममार्फत युवा पुस्तासँग जोडिने नयाँ अवसर सिर्जना भएको उल्लेख गर्दै सार्वजनिक हितका सूचना, समाचार, शिक्षा तथा चेतनामूलक सामग्री युवाले प्रयोग गर्ने माध्यममा प्रभावकारी रूपमा पु¥याउनुपर्ने उहाँले बताउनुभयो ।

    मानवीय सम्पादकीय निर्णय, तथ्य प्रमाणीकरण, जवाफदेहिता र व्यावसायिक नैतिकतालाई आधुनिक प्रविधिले विस्थापित गर्न नसक्ने सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनुभयो । एआईले सामग्री तयार गर्न सहयोग गर्न सक्ने भए पनि त्यसको सत्यता, सन्दर्भ, सामाजिक प्रभाव र सार्वजनिक हितको अन्तिम जिम्मेवारी मानवमै रहने उहाँले स्पष्ट गर्नुभयो ।

    कृत्रिम रूपमा सिर्जना गरिएका सामग्री र ‘डिपफेक’ प्रविधिले झुटो सूचनालाई समेत वास्तविकजस्तो देखाउन सक्ने अवस्था सिर्जना भएकाले अहिले सञ्चारमाध्यमका लागि सबैभन्दा महत्वपूर्ण सम्पत्ति नागरिकको विश्वास भएको उहाँले बताउनुभयो । प्रविधिको क्षमता र पत्रकारिताको विश्वसनीयतालाई सँगसँगै अघि बढाउन सक्ने सञ्चार संस्था नै भविष्यमा सफल हुने उहाँको भनाइ थियो ।

    नेपाल दक्षिण एसियामा स्वतन्त्र सामुदायिक रेडियो स्थापना गर्ने पहिलो देश भएको र रेडियो सगरमाथाबाट सुरु भएको सामुदायिक रेडियोको यात्रा अहिले देशभर फैलिएको उहाँले बताउनुभयो । सामुदायिक रेडियोले हिमाल, पहाड र तराईका विभिन्न समुदायलाई जोड्नुका साथै सार्वजनिक बहसमा आउन नसकेका नागरिकका आवाजलाई समेत स्थान दिएको सञ्चारमन्त्रीको भनाइ थियो ।

    विपद्, सङ्कट र स्वास्थ्य आपत्कालजस्ता समयमा सामुदायिक रेडियोले स्थानीय भाषामा तत्काल र विश्वसनीय सूचना प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । भूकम्प, बाढी, पहिरो तथा महामारीलगायतका सङ्कटमा सूचना, जनचेतना तथा उद्धार र राहतसम्बन्धी जानकारी पु¥याउन सामुदायिक रेडियो प्रभावकारी माध्यम बनेको उहाँले स्पष्ट गर्नुभयो ।

    डिजिटल रूपान्तरणको अर्थ नयाँ प्रविधि प्रयोग गर्नु मात्र नभई विश्वसनीयता, पत्रकारिताको व्यावसायिकता, तथ्य जाँच, सार्वजनिक उत्तरदायित्व र नागरिकको विश्वासलाई बलियो बनाउनु पनि भएको सञ्चारमन्त्री डा तिमिल्सिनाले उल्लेख गर्नुभयो । गलत सूचना, भ्रामक सामग्री र एआईबाट सिर्जित सामग्रीका कारण जोखिम बढिरहेका बेला सार्वजनिक सेवा प्रसारणले आफूलाई नागरिकले सही सूचना विश्वास गर्नसक्ने संस्थाका रूपमा स्थापित गर्नुपर्ने उहाँको भनाइ थियो ।

    सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपालको सार्वजनिक सेवा प्रसारणलाई नयाँ पुस्तासँग जोड्नुपर्नेमा पनि जोड दिनुहुँदै युवाले प्रयोग गर्ने डिजिटल माध्यममा गुणस्तरीय सामग्री उत्पादन गर्नुका साथै उनीहरूको आवाज, विचार र सिर्जनशीलतालाई सार्वजनिक प्रसारणमा समेट्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, सीमान्तकृत समुदाय र विभिन्न भाषाभाषी नागरिकलाई समानरूपमा समेट्नु सार्वजनिक सेवा प्रसारणको महत्वपूर्ण जिम्मेवारी भएको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    • पोखरा–जोमसोम हवाई उडान पुनः सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.