सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–बुटवल सडक खण्डको निर्माण कार्य हालसम्म १० प्रतिशत मात्र सम्पन्न


  •    न्युजभित्तो/६ आश्विन २०७९, बिहीबार १७:११ 
  • चितवन, असोज ६ ।  २०७९ साउन २२ गते नै नारायणगढ–बुटवल सडक खण्डको निर्माण कार्य सम्पन्न भइसक्नुपर्नेमा सडक निर्माणको काम हालसम्म १० प्रतिशत पनि सम्पन्न भएको छैन ।

    समयमा सडक निर्माण सम्पन्न नहुँदा यात्रुले र स्थानीयलेसडकको धुलो तथा हिलोका कारण अति नै सास्ती खेप्नुपरेको छ । सडकमा दिनहुँ पानी हाल्नुपर्नेमा नगरिँदा स्थानीय बासिन्दाको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको छ । स्थानीयका लागि सडक निर्माण बरदान होइन, अभिसाप बन्न पुगेको छ ।

    सडकले टेलिकम लाइनहरूमा क्षति पुर्‍याई सञ्चार सम्पर्क स्थापनामा कठिनाइ उत्पन्न भएको छ । सडकको दायाँबायाँ खानेपानी सेवा पुर्‍याउन  बिछ्याइएका खानेपानीका पाइपहरूमा अत्यधिक क्षति पुगेकाले सडक आयोजना र निर्माण कम्पनीले तत्कालै क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।

    सडकका नालीहरू नियमित रूपमा सफाइ नहुँदा वर्षायाममा परेको पानीले सडक किनारका घरहरू डुबान भई क्षति पुग्ने गरेको छ । सडकखण्डको मध्यवर्ती वन क्षेत्रभित्र वन्यजन्तु तथा जनावरहरूको आवातजावतका लागि प्रस्ताव गरिएका भूमिगत मार्गहरू पर्याप्त छैनन् ।

    निर्माण व्यवसायीसँग काम गर्ने पर्याप्त जनशक्ति छैनन् । दायाँबायाँ सडक निर्माण भइसकेपछि मात्र पुरानो सडक भत्काउने गरी स्थानीय वासिन्दासँग गरिएको सम्झौता पालना गरिएको छैन ।

    दाउन्नेमा सवारीसाधन बिग्रिएको अवस्थामा धेरैजसो ७–२४ घण्टासम्म सवारी जाम हुने गरेको छ । दाउन्नेमा हुने सडक जाम तथा सवारी चापलाई न्यूनीकरण गर्न वैकल्पिक मार्गको रूपमा त्रिवेणी–दुम्कीवास सडक तत्काल सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता देखिएको छ । विद्यार्थी तथा बालबालिकाका लागि सडक अति नै जोखिमपूर्ण छ ।

    सडक समयमा निर्माण नहुँदा यस क्षेत्रमा ढुवानी लागत बढेको छ । सडकको वर्तमान अवस्थाले सडक दुर्घटना बढ्नुका साथै स्वास्थ्य समस्या व्यहोर्नुपरेको छ । सडकको ठाउँठाउँमा कल्भर्ट निर्माण गरी धेरै लामो समयसम्म खाल्डो राखी छाड्नाले सडक दुर्घटना बढिरहेको छ । सडक अनुगमनको समयमा मात्र खाल्डाखुल्डी पुर्ने गरिएको छ । सडकसँग सम्बन्धित सूचनाहरू व्यवस्थित रूपमा राखिएको छैन । भएका सूचनाहरू पनि धुलोले पुरिएको छ ।

    सडक विस्तार र स्तरोन्नतिको डिजाइन गर्दाकै अवस्थामा भएको त्रुटिले सम्पूर्ण सडक खण्डमा एउटा पनि आकाशे पुल निर्माणको योजना समावेश गरिएको छैन । निर्धारित मापदण्डभन्दा बढी लोड बोकेका सवारीसाधनका कारण ठाउँठाउँमा सवारीसाधनहरू बिग्रने गरेको छ । सडकको भार बहन क्षमताले थेग्न नसक्दा सडकको दुरावस्था बढ्दै गएको छ ।

    माथि उल्लेख गरिएका भनाई सडकखण्डमा अवस्थित विभिन्न ठाउँका स्थानीय वासिन्दाका हुन् । संघीय संसदको विकास तथा प्रविधि समितिले कावासोती नगरपालिकाको सभाकक्ष तथा सुनवलस्थित देवकोटा क्याम्पसमा संघीय संसदको विकास तथा प्रविधि समितिले स्थलगत अवलोकनका क्रममा गरेको अन्तरक्रियामा स्थानीयहरूले व्यक्त गरेका गुनासा हुन् ।

    निर्माण कार्य सम्पन्न नहुँदा सबैभन्दा बढी दाउन्ने, बर्दघाट, भुमही, सुनवल, खैरेनी र बुटवल लागायतका बाक्लो मानव बस्ती भएका विभिन्न स्थानहरूमा निर्माण भइरहेको कल्भर्टहरूबाट पानीको निकास हुन बाधा उत्पन्न भएको छ ।

    एसियाली हाइवे स्तरको सडक मापदण्ड कायम हुने गरी नारायणगढ–दाउन्नेसम्म ६४ किलोमिटर र दाउन्ने–बुटवलसम्म ४५ किलोमिटर गरी २ खण्डमा कूल १०९ किलोमिटर सडक निर्माण गर्नका लागि सरकारले १९ डिसेम्बर २०१८ मा सम्झौता गरेको थियो ।

    पहिलो प्याकेजअन्तर्गत शहरीखण्डमा सेवा सडकसहित ४ लेन, ग्रामीण खण्डमा सेवा सडक विना ४ लेन र दाउन्ने क्षेत्रमा ३ लेन गरी एस्फाल्ट कंक्रिट÷डीबीएसटी कालोपात्रे सडक निर्माण गर्नका लागि सम्झौता गरिएको थियो । सडक खण्डमा २१६ वटा कल्भर्ट, १२ वटा ठूला पुल, २२ वटा साना पुल, जंगली जनावरका लागि २२ वटा कल्भर्ट तथा साना पुल निर्माण गर्ने सम्झौता गरिएको छ ।

    चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन लिमिटेड नामक निर्माण व्यवसायीसँग गरिएको सम्झौतामा आरसीसी कभर्ड ड्रेन, ट्रापेजोडिया\ओपन ड्रेन, ग्यावियन जाली, ढुंगाको पर्खाल, आरसीसी ढलान पर्खाल निर्माण गर्ने सम्झौता गरिएको छ तर पहिलो प्याकेजको आयोजनाको वित्तीय प्रगति ३.९२%, भौतिक प्रगति ८.५% मात्र भएको विकास तथा प्रविधि समितिको प्रतिवेदनमा उल्लेख छ ।

    दोस्रो प्याकेज अन्तर्गत दाउन्नेदेखि बुटवलसम्मको सडक खण्डमा सोही डिजाइनको सडक निर्माण गर्नुपर्ने सम्झौता गरिएको छ । २४७ वटा कल्भर्ट, ९ वटा ठूला पुल तथा २१ वटा साना पुल, जंगली जनावरका लागि १३ वटा कल्भर्ट÷साना पुल निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ तर हालसम्म सडक खण्डको ५.५१% वित्तीय प्रगति तथा १०.३४% भौतिक प्रगति मात्र रहेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

    नारायणगढ–दाउन्ने सडक अन्तर्गतको पहिलो प्याकेजमा ६ हजार २९७ रुखहरू काटिनुपर्नेमा ३६ हजार ३०७ रुखहरू काट्नुपर्ने अवस्था देखाएर आयोजनाको काममा ढिलाइ भएको छ । दाउन्ने–बुटवल सडक खण्डमा २ हजार ७३० रुखहरू काटिनुपर्नेमा १२ हजार ३२ रुखहरू काटिनुपर्ने भनिएको छ ।

    समग्र सडक आयोजनाको डीपीआर गर्दा यस्ता महत्त्वपूर्ण तथ्यहरू कसरी छुट्न गए ? यस्तो अपूर्ण र त्रुटिपूर्ण काम गर्ने जिम्मेवारीउपर छानबिन गरी कारबाही नभएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

    सडक खण्डको डिजाइनमा नै समस्या भएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । निर्माण व्यवसायीले सडक निर्माणसँग सम्बन्धित मशिन तथा औजारहरू समयमा आपूर्ति नगर्दा र आवश्यक संख्यामा कामदारहरू परिचालन नगरी काममा ढिलाइ गरिरहँदा यस्तो कार्यको अनुगमन तथा सुपरिवेक्षण गरी उचित कारबाही नगरिएको समेत उल्लेख छ ।

    दाउन्ने सडक खण्डमा उत्तरतर्फको वन क्षेत्रमा ठाउँठाउँमा जथाभावी रूपमा बाटोको ट्रयाक खनिएका कारण माथिबाट रुख सहितको पहिरो खसेर दाउन्नेको सडकलाई क्षति पु¥याइरहेको उल्लेख छ । निर्धारित मापदण्ड अनुसारको गुणस्तरयुक्त सडक निर्माणको कार्यमा तत्काल जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न सम्बद्ध मन्त्रालय र आयोजना निर्देशनालयलाई समितिले निर्देशन दिएको प्रतिवेदनमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.