सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटकको पर्खाइमा चितवनको गोलाघाट


  •    न्युजभित्तो/२८ भाद्र २०७९, मंगलवार ११:२७ 
  • भरतपुर, भदौ २८। पश्चिम चितवनको आकर्षक पर्यटकीय गन्तव्यस्थल गोलाघाट पर्यटकको पर्खाइमा छ । भरतपुर महानगरपालिका– २८ स्थित सो स्थान भरतपुरको चौबीसकोठीबाट ३२ किलोमिटरको दूरीमा पर्छ । कोरोनाको महामारीले प्रभावित बनेको पर्यटन व्यवसाय चलायमान हुने क्रममा रहेका बेला बर्खाको समय र चितवन जोड्ने सडकका कारण आन्तरिक पर्यटक पनि आउन सकेनन् ।गोलाघाटसँगै जोडिएको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा अहिले आन्तरिक पर्यटकको सङ्ख्या घटेको छ । वनअन्तर्गतको टिकट काउन्टरमा काम गर्दै आएकी रुपामाया कुमालले घुम्न आउनेको सङ्ख्या निकै कम भएको जानकारी दिइन् । “दिनमा दुईदेखि तीन सयको हाराहारीमा आन्तरिक तथा बाहिरी पर्यटकले जीप सफारीमार्फत सामुदायिक वन घुम्थे । अहिले दैनिक ५० देखि ६० जनामात्रै हुन्छन् । कहिलेकाहीँ यही पनि हुँदैनन्”, उनले भनिन्। कुमालले वन क्षेत्र घुम्न आउने पर्यटकका लागि प्रतिव्यक्ति २० रुपैँया टिकट शुल्क लिने गरेको बताइन् ।

    पर्यटकीय क्षेत्रका रूपमा बामे सर्दै गर्दा कोरोनापछि यो क्षेत्र थलापरेको व्यवसायीहरू बताउँछन् । यस क्षेत्रलाई पुनः पहिलाकै अवस्थामा पु¥याउन अझै धेरै कसरत गर्नुपर्ने होटल व्यवसायी सतिश कुमाल बताउँछन् । अहिलेसम्म अफसिजन भएकाले पनि पर्यटकको सङ्ख्या घटेको उनको भनाइ छ । सुनसान देखिएको गोलाघाट चाडपर्व नजिकिएसँगै भरिभराउ हुने उनले आशा व्यक्त गरिन् ।

    भरतपुर– २६ ज्योतिनगरबाट गोलाघाट घुम्न आएकी सुनिता चौधरीले पर्यटक आकर्षण गर्नका लागि सेवासुविधामा जोड दिनुपर्ने बताइन् । घुम्न, आनन्द लिन, एक्लै समय बिताउन, लेखक र अनुसन्धानका लागि उपयुक्त ठाउँ भए पनि यहाँ आन्तरिक पर्यटकले खोजेजस्तो सेवा–सुविधा कम भएको उनको भनाइ छ ।

    गोलाघाटमा विषेश गरेर वाइल्ड लाइफ (वन्यजन्तु) हेर्नका लागि पर्यटक आउने गर्छन् । निकुञ्जको जङ्गल र दुई नदीको सङ्गम भएको अत्यन्त सुन्दर र रमणीय गोलाघाटमा नारायणी नदी र राप्तीखोला मिसिएर अगाडि बढ्छन् र यहाँ गोलाघाटमा सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा पर्यटक आउने गर्दछन् । फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय बस्ती एवं भौतिक संरचना नभएका कारण यहाँबाट सूर्यास्तको शानदार दृश्य देखिन्छ । पश्चिम चितवनको अन्तिम बिन्दु रहेको हुनाले गोलाघाटभन्दा तल चितवनको कुनै बस्ती छैन ।

    सूर्यास्तसँगै बाघ, एकसिङ्गे गैँडा, मृग, चित्तल, गोही पनि यहाँको आकर्षणको केन्द्रबिन्दु रहेको मेघौली सिराइ ताज सफारीका गाइड बुद्धि चौधरीले बताए । उनका अनुसार गैँडालगायत जङ्गली जनावर किनारमा चर्दै गरेको र पानी खान आएको देख्न पाइन्छ । उनले पर्यटकको सङ्ख्या थोरै भए पनि सन्तुष्ट भएर फर्किएको बताए । चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै सहजरुपमा हेर्न पाउँदा पर्यटक सन्तुष्ट भएको उनको भनाइ थियो । यसले अबका दिनमा पर्यटक आगमनमा सहयोग पुग्ने चौधरीको विश्वास छ । अहिले होटल तथा रिसोर्टमा बस्ने पर्यटक अधिकांश देशभित्रकै रहेको उनले बताए । पछिल्लो समय युक्रेन, क्यानडा, युएस र फिलिपिन्सका पर्यटक पनि परिवारसहित आइरहेको जनाइएको छ ।

    मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिश्चन्द्र महतोले पर्यटक भित्र्याउनका लागि प्रचार–प्रसार र अन्य अभियानलाई निरन्तरता दिइरहेको बताए । आन्तरिक पर्यटकका लागि गोलाघाट परिचित स्थान भए पनि अन्तर्राष्ट्रियस्तरमा अझै पहिचान पाउन नसकेको उदको बुझाइ छ । एकान्तमा रमाउन चाहने पर्यटक पश्चिम चितवनमा केन्द्रित हुने गरेको उनको भनाइ छ ।

    यस क्षेत्रमा साना–ठूला गरेर २५ वटा होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन । यहाँ स्तरीय होटलसँगै होमस्टे पनि सञ्चालनमा छन् । मेघौलीमा थारू जातिको पुराना संस्कृतिलाई जोगाउने भन्दै सङ्ग्र्रहालय पनि बनाइएको छ । कुमाल सङ्ग्रहालय, कल्चर हाउस, पर्यटन सूचना केन्द्र, राइनो पार्कलगायतका पर्यटकीय संरचना यस क्षेत्रमा बन्दै गरेका छन् ।

    वर्षाका कारण राप्ती नदीमा हुने डुङ्गा सफारी रोकिएको छ । गोलाघाट संस्कृतिको पनि धनी क्षेत्र हो । यहाँ कुमाल, थारू, तामाङ समुदायको बहुल्यता रहेको छ । अहिले कुमाल र थारू समुदायका सांस्कृतिक टोलीहरूले रातको समयमा आफ्नो समुदायको नृत्य तथा गीत प्रस्तुत गरी पर्यटकलाई मनोरञ्जन दिने गर्छन् । पछिल्लो समय पर्यटक पश्चिम चितवनमा केन्द्रित हुने गरेको र मेघौली गोलाघाट क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारमार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिएको बागमती प्रदेशसभा सदस्य कृष्ण भूर्तेल बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.