सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गे र अर्ना विहीन


  •    न्युजभित्तो/३१ श्रावण २०७९, मंगलवार १२:०३ 
  • चितवन, साउन ३१। वंश विस्तार र सम्भावित महामारीबाट बचाउनका लागि चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाढी र रोगले मरेर सकिएका छन् । विसं २०७३ मा १५ अर्ना र विसं २०७४ मा सात बाह्रसिङ्गे निकुञ्जमा ल्याइएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर (इन्क्लोजर) निर्माण गरी राखिएका अर्नाले सात बच्चा जन्माएको थियो ।

    सोमबार तीन अर्नालाई बाघले खाएपछि निकुञ्ज अर्ना विहीन भएको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । निकुञ्जले पानी छिर्ने ठाउँबाट बाघ पसेर ती अर्नालाई खाएको अनुमान गरेको छ । यसअघि पनि एउटा अर्नालाई बाघ पसेर खाएको थियो । तत्कालीन समयमा ल्याइएका १५ र यहाँ जन्मिएका सात गरी २२ अर्ना सबै मरेका हुन् । ती अर्ना मध्ये चारवटालाई बाघले खाएको हो भने बाँकी रोग र बाढीले बगाएको थियो ।

    संरक्षण आचार्यले अर्ना संरक्षणका लागि प्रयास गरिएको भए पनि सफल हुन नसकेको बताउनुभयो । गत आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा १० अर्ना मरेका थिए । साउनदेखि मङ्सिर मसान्तसम्म ती अर्ना मरेका हुन् । छ भाले र चार पोथी अर्ना मरेका थिए । बाँकी रहेका तीन पोथी अर्ना अहिले मरेसँगै निकुञ्जमा अर्नाको सङ्ख्या शून्य भएको छ ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विसं २०७४ मा पाँच पोथी र दुई भाले गरी सात बाह्रसिङ्गे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो । तीमध्ये दुई पोथी ल्याउने वित्तिकै र अन्य चार विभिन्न कारणले मरिसेका छन् । अर्नासँगै रहेको एक बाह्रसिङ्गे पनि लामो समयदेखि देखिन छाडेको हो । सो बाह्रसिङ्गे पनि मरेको अनुमान गरिएको छ ।

    तत्कालीन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँ पाँच भालेसहित २५ बाह्रसिङ्गे ल्याउने योजना थियो । यहाँ ल्याए लगत्तै बाह्रसिङ्गे मरेपछि थप ल्यााउने काम रोकिएको थियो । निकुञ्जभित्र पर्ने पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर क्षेत्रफलमा खुल्ला खोर (इन्क्लोजर) निर्माण गरेर कोसी टप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना ललितपुरबाट अर्ना ल्याएर राखिएको थियो । चितवनबाट अर्ना लोप भएको झण्डै ५७ वर्षपछि विसं २०७३ माघमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना ललितपुरबाट तीन गरी १५ अर्ना निकुञ्जमा ल्याइएका थिए । अर्ना ल्याएपछि नै जोगाउन सकस हुँदै आएको थियो । विसं २०७४ मा आएको बाढी र बाघको आक्रमण तथा प्राकृतिक कारणले अर्ना मरेका थिए ।

    अर्ना घाँसे मैदान, स्वच्छ पानी र दलदले भूमीमा बस्न रुचाउँने प्रजाति भएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । सन् १९६१ सम्म चितवनको घना जङ्गलमा अर्ना पाइन्थ्यो भन्ने भनाइ छ । त्यसपछि एकाएक अर्नाहरू यहाँबाट लोप भए । निकुञ्ज स्थापना हुनुभन्दा करिब ११ वर्षअघि नै अर्ना यहाँका जङ्गलबाट लोप भएको संरक्षणकर्मी बताउँछन् । निकुञ्जबाट अर्ना लोप हुनुको कारण वासस्थान विनाश हुनु, अर्नाको चोरी शिकारी हुनु र बाघको आक्रमणबाट जोगाउन नसक्नुलाई पनि संरक्षणविद्हरुले कारण मान्दै आएका छन् ।

    कोसी टप्पु वन्यजन्तु आरक्षमा मात्रै पाइने अर्ना कुनै प्राकृतिक वा अन्य कारणले समाप्त हुने सक्ने भन्दै पहिलो पटक नेपालमा अर्नाको स्थानान्तरण गरी निकुञ्जमा ल्याइएको थियो । कोसी टप्पुको जस्तै हावापानी र आहार निकुञ्जमा मिल्ने र यहाँ पनि पहिला अर्ना रहेकाले संरक्षणको प्रयास गरिएको निकुञ्जका सूचना अधिकारी तिवारी बताउनुहुन्छ ।

    विसं २०७१ मा नै सरकारले पाँच भालेसहित २० अर्ना निकुञ्जमा ल्याउने निर्णय गरेको थियो । यहाँ अर्ना मर्न थालेपछि थप अर्ना नल्याइएको हो । अर्नाको सरदर आयु २५ वर्ष हुन्छ । यिनीहरुले आफ्नो जीवनकालमा पाँच वटासम्म बच्चा जन्माउन सक्छन् । भाले अर्ना तीन÷चार वर्षमा र पोथी अर्ना दुईदेखि तीन वर्षको उमेरमा प्रजननयोग्य हुन्छ । यसको गर्भधारण अवधि १० देखि ११ महिनाको हुने गर्दछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.