सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बन्द हुने अवस्थामा पुग्दै कंक्रिट मिक्सर मेसिन उद्योगहरु


  •    न्युजभित्तो/६ असार २०७९, सोमबार १३:४३ 
  • चितवन, असार ६– एक समय नेपालमा नाम चलेका ठूला उद्योगहरु अहिले बन्द छन् । भएका राम्रा उद्योगहरु बन्द भएपछि अहिले थप त्यस्ता खालका उद्योगहरु स्थापना हुन सकेका छैनन् । अहिले संचालनमा रहेका कतिपय उद्योगहरु फेरि बन्द हुने अवस्थामा पुगेका छन् ।

    चितवनको भरतपुर महानगरपालिका वडा नं.१६ मा रहेको गौरव नेपाल इन्जिनियरिङ प्रा.लि.ले वि.सं.२०५४ सालदेखि कंक्रिट मिक्सर मेसिन उत्पादन गर्दै आइरहेको छ । घर ढलानदेखि पुल, ढल लगायत विकास निर्माणका लागि चाहिने कंक्रिट मिक्सर मेसिन यही उद्योगले व्यवसायिक उत्पादन गर्दै आइरहेको छ । एक समय वार्षिक एक हजारको हाराहारीमा उक्त मेसिन उत्पादन गर्दै आइरहेको यस उद्योगले अहिले मुश्किलले एक सय वटा मेसिन निर्माण गरेर विक्री गर्छ ।

    गुणस्तरीय मेसिन उत्पादन गरेपनि विदेशबाट आयात हुने सस्तो मेसिन र सरकारले तयारी सामान भन्दा कच्चा पदार्थमै बढी भन्सार दर लगाएपछि त्यसको मारमा परेको उद्योगीहरु बताउँछन् । ‘सरकारले हामीलाई सहज वातावरण बनाई दिए यस्ता उद्योगहरु अझै खुल्थे, अब त हामी नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेका छौं’गौरव नेपाल इन्जिनियरिङ भरतपुरका संचालक ताराप्रसाद पौडेलले भन्नुभयो ।

    चितवन, रुपन्देहीलगायतका जिल्लामा १३ वटा यस्ता उद्योगहरु संचालनमा थिए । अहिले घटेर ३ वटा उद्योगमा खुम्चिएको छ । चितवनमा २ र रुपन्देहीमा एउटा उद्योग संचालनमा छन् । रुपन्देहीमा रहेको नेशनल इन्जिनियरिङ मेटल प्रा.लि.एक समय सर्वाधिक वार्षिक १५ सयसम्म मेसिन उत्पादन गर्दथ्यो । अहिले घटेर एक सय वटा मात्रै मेसिन उत्पादन गर्ने गरेको छ । सरकारले यस उद्योग संचालनका लागि चाहिने कच्चा पदार्थ आयातमा १५ प्रतिशतसम्म भन्सार दर कायम गरेको छ भने १३ प्रतिशत भ्याट र प्रतिकेजी ५ रुपैयाँको दरले अन्त शुल्क समेत थप गरेको छ । तर यही सिंगो तयारी मेसिन आयात गर्दा भन्सार महसुल मात्र ४ प्रतिशत र भ्याट नलाग्ने व्यस्था छ ।

    यस नीतिलाई सच्याउन उद्योगीहरुले सरकारसंग पटक–पटक माग गरिरहेका छन् । तर माग सुनुवाई नहुँदा छिट्टै उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उद्योगीको भनाई छ । नेशनल इन्जिनियरिङ मेटलका संचालक रामप्रसाद खनालले सरकारले उद्योगीहरुको संरक्षण गर्नुको साटो विस्थापित गर्ने अभियानमा लागेको बताउनुभयो । ‘हामीले अहिले मात्र होइन पटक–पटक कच्चा पदार्थको भन्सार दर बारे माग राखेको थियौं, तर अहिले सम्म सम्बोधन नहुँदा हामी पलायन हुने अवस्थामा पुगेका छौं’–खनालले भन्नुभयो ।

    उद्योगीहरुका साझा संस्था नेपाल उद्योग परिसंघ, चितवन उद्योग संघलगायतका संघसंस्थाहरुले कच्चा पदार्थ आयातको भन्सार दर घटाउन माग गर्दै आइरहेका छन् । तर ती कुराको सुनुवाई नहुँदा झन समस्या बल्झिन थालेको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताउँनुहुन्छ । ‘सरकार उद्योग व्यवसाय फस्टाउनमा जोड दिनुपर्ने हो तर विडम्बना उल्टै उद्योगधन्दा मास्ने खालका नीति निर्माण गर्दा समस्या देखिन थालेका छन्’–कँडेलले भन्नुभयो ।

    पछिल्ला समय अन्य उद्योगधन्दाहरु पनि खुल्ने क्रम जारी छ । तर सबैको डर कतै पछि बन्द गर्नुपर्ने अवस्था त आउने होइन भन्नेमा देखिन्छ । चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्तीले युवा उद्यमी व्यवसायीहरुलाई सरकारले प्रवद्र्धन गर्नुको साटो उल्टै पलायन हुने बाटो देखाउन थालेको आरोप लगाए । उनले कंक्रिट मिक्सर मेसिन निर्माण गर्ने उद्योगहरु बन्द हुँदै गर्दा युवाहरु रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था सिर्जना हुने बताउनुभयो । उहाँले यसतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

    नेपालका कंक्रिट मिक्सर मेसिन उद्योगहरुमा सुरुवाती समयमा ४५० भन्दा बढीले रोजगारी पाएका थिए । उद्योगहरु बन्द हुँदै जाँदा अहिले घटेर १४५ मा झरेको छ । नेपालमा उद्योगहरु बन्द हुँदै जाँदा वर्षेनी ११ हजार ४०० भन्दा बढी कंक्रिट मिक्सर मेसिनहरु विदेशबाट आयात हुँदै आइरहेको छ । यसबाट ७६ करोड भन्दा बढी रकम विदेशीने गरेको छ । यस्तो स्वदेशी उद्योगहरुलाई संरक्षण गर्ने खालका नीति निर्माण गर्न सकिए करोडौं रकम बाहिर जानबाट रोकिन्थ्यो भने सयौंले स्वदेशमै रोजगारी पाउने वातावरण बन्न सक्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.