सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरको पाँच वर्ष : विकास योजनाको प्रगति कागजमा सीमित


  •    न्युजभित्तो/५ बैशाख २०७९, सोमबार १५:१६ 
  • चितवन,५ बैशाख। सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० का लागि तोकेको छ । देशमा बिस्तारै स्थानीय निर्वाचनको वातावरण बन्दैछ । दलहरु उमेदवार छनोटमा व्यस्त हुन थालेका छन् । विभिन्न दलनिकट व्यक्तिहरुले स्थानीय तहका विभिन्न पदमा आकाङ्क्षा देखाउन थालेका छन् । आकाङ्क्षीका रुपमा उनीहरुको नाम चर्चामा आउन थालेको छ ।

    यसै सन्दर्भमा सबै दलको आँखा भने भरतपुर महानगरपालिकाको मेयर पदमा पुगेको छ । नेकपा (माओवादी केन्द्र) अघिल्लो स्थानीय निर्वाचनमा झैँ गठबन्धन गरेर मेयरमा पुनः रेनु दाहाललाई ल्याउन खोजिरहेको छ । भरतपुरको मेयर कसले पाउने भन्नेमा सत्ता गठबन्धनले निर्णय लिन सकेको छैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रचण्डप्रति नतमस्तक भए पनि जिल्ला कांग्रेस भने भरतपुरमा मेयर कांग्रेसले नै पाउनुपर्ने अडानमा छ । भरतपुर महानगरपालिकामा कांग्रेसले मेयर नपाए सबै वडाका सभापतिले विद्रोह गर्ने चेतावनी दिएका छन् । अघिल्लोपटक कांग्रेसले माओवादीलाई समर्थन गरेको हुँदा यसपालि नेपाली कांग्रेसले नै भरतपुरको मेयर पाउनुपर्ने चितवन कांग्रेसले माग राखेको छ ।

    भरतपुर महानगरपालिकाको मेयरमा कसलाई उमेदवार उठाउने भन्ने विषयमा सत्ता गठबन्धनको निर्णय नआउँदै प्रतिपक्षी दल नेकपा (एमाले)ले भरतपुरको मेयरमा विजय सुवेदीलाई उठाउने निर्णय गरिसकेको छ । सुवेदी जनस्तरमा भिजेका प्रभावशाली नेता हुन् । बागमती प्रदेशको मन्त्री भइसकेका सुवेदी भिजन भएका पाका नेताको रुपमा पनि चिनिन्छन् ।
    गएको पाँच वर्षको काम हेर्दा भरतपुरमा रेनु दाहाललाई दोहो¥याउनुपर्ने कुनै कारण छैन । महानगरपालिकाको प्रमुखमा उमेदवारी घोषणा गर्दा त्यतिबेला दाहालले ४० बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी थिइन् । मेयरमा विजयी भएपछि दाहालले २०७४ पुस २१ मा सार्वजनिक गरेको पहिलो नीति तथा कार्यक्रममा नौवटा दीर्घकालीन योजना थिए, जसबाट महानगरपालिकाको मुहार फेरिने अपेक्षा गर्न सकिन्थ्यो ।

    महानगरमा रिङरोड र लिङ्करोड निर्माण, केरूङदेखि ठोरीसम्म रेलमार्ग सञ्चालन, भरतपुरलाई छिमेकी नगरपालिकासँग जोड्न नारायणी नदीमा तीनवटा पक्की पुल, देवघाटदेखि मौलाकालिकासम्म केबुलकार निर्माण, देवघाटदेखि त्रिवेणीसम्म पर्यटकीय जलमार्ग सञ्चालनजस्ता योजना उनले सार्वजनिक गरेकी थिइन् । दाहालले भरतपुर महानगरपालिकामा ९५ किलोमिटर लामो रिङरोड बनाउने घोषणा गरेकी थिइन् ।

    नगरभित्रको सुकुमबासी समस्यालाई समाधान गर्ने, मुख्य आयस्रोतको माध्यम कृषिलाई प्रवद्र्धन गर्न कृषि पाठशाला बनाउनेलगायत योजना पनि उनले प्रस्तुत गरेकी थिइन् । मेयरको प्रत्याशी हुँदा भरतपुर महानगरपालिकालाई नमुना विकाससहितको वैकल्पिक राजधानी बनाउने बताएकी रेनु दाहालले निर्वाचित भएपछि मेट्रो र मोनोरेल, भित्री र बाहिरी चक्रपथ निर्माण, स्मार्ट सिटी, फ्लाइओभर, अन्डरग्राउन्ड सडक निर्माण गर्नेलगायत घोषणा गरिन् । तर, पाँच वर्षमा ती कुनै घोषणा कार्यान्वयन भएनन् । महानगरले गौरवको आयोजना भनेर प्रचार गर्ने सिटी हल बनाउनेदेखि ल्यान्डफिल्ड साइट बनाउनेसम्मका योजनाको प्रगति कागजमा सीमित छन् ।

    नारायणी र राप्ती नदीको तटबन्धसहित नदीकिनारलाई अन्य पर्यटकीय पूर्वाधारसँग आबद्ध गर्ने, मिडिया एकेडेमीका लागि आवश्यक जग्गा उपलब्ध गराउन विशेष पहल र सहजीकरण गर्ने, कृषि कार्यलाई सहज पहुँचमा पु¥याउन कृषि पाठशाला स्थापना गर्ने र नारायणी नदीनिकारमा सार्वजनिक–निजी साझेदारीमा अन्तर्राष्ट्रियस्तरको पार्क तथा मनोरञ्जनस्थल निर्माण गर्ने दीर्घकालीन योजनाहरु सार्वजनिक गरिएको थियो ।

    महानगरनजिकै रहेको नगर वन झुक्किएर बनेको टापु हो । नारायणीमा रहेका यस्ता टापुहरु निकालेर नदीलाई एउटै धारमा बगाउने व्यवस्था गर्नुपर्ने हुन्छ । नारायणी तटबन्धमा अरबौँ खर्च गर्ने होइन, नदीजन्य पदार्थ निकालेर खर्बौंको आम्दानी गर्नुपर्छ । यसबाट लाखौँ बिघा जमिन निस्कने र भरतपुर महानगर बच्नेछ । महानगरले यातायात र पूर्वाधारका विषयमा पनि थुप्रै कार्यक्रम अघि सारेको थियो । पाँच वर्ष सकिन लाग्दा ती काम पूरा भएका छैनन् ।

    भरतपुर महानगरपालिकाभित्र तीन ठाउँमा आकासे पुल राख्ने योजना २०७४ मै सार्वजनिक गरिएको थियो । त्यस्तै, महानगर क्षेत्रभित्र सिसी टिभी क्यामेरा जडान गर्ने र ट्राफिक लाइट व्यवस्थापनको काम पनि उद्घाटनमै सीमित छ । त्यस्तै, भरतपुरका मुख्य चोकहरुमा ट्राफिक लाइट राख्ने काम पनि पूरा भएको छैन । महानगरले पहिलो नीति तथा कार्यक्रममा चार वर्षअघि सडकमा ‘स्मार्ट लाइट’ जडानको योजना अघि सारेको थियो ।

    भरतपुरलाई व्यवस्थित सहरीकरण गराउँदै महानगरमा मेट्रो रेल, भरतपुर विमानस्थलमा रात्रिकालीन सेवा गराउने प्रतिबद्धता गरेकी उनले बोलेका कुरा पूरा हुने सम्भावना अहिले छैन । भरतपुर महानगरमा मेट्रो रेल कुदाउन सकिन्छ कि सकिँदैन यसको अध्ययन अनुसन्धानसमेत भएको छैन । विमानस्थलमा रात्रिकालीन सेवा गराउने विषयमा पनि पहल भएको देखिँदैन । भरतपुर विमानस्थल विस्तार गराउने विषय भने छलफलमा नै सीमित देखिन्छ ।

    स्मार्ट सिटीको अवधारणा आइरहँदा चितवनले सहरीकरणको प्रारम्भमै यी विषयमा ध्यान दिन सकेको भए काठमाडौँको विकल्पको रुपमा उदाउन सक्ने सम्भावना थियो । सहरीकरणको सुरूआतमै भरतपुरले उल्टो बाटो पक्रिएको छ । अहिले त स्थानीय तहमा रहेका प्राविधिकको काम घरको नक्सा पास गर्नेमा मात्रै केन्द्रित भइरहेको छ । यहाँभन्दा माथि नउठ्दासम्म दीर्घकालीन विकासको रणनीतिले काम गर्दैन । स्थानीय तहको निर्वाचन लगत्तै योजनाबद्धरुपमा अघि बढेको भए सहज हुन्थ्यो ।

    जमिनको सही उपयोग हुन सकेको छैन, जलस्रोतको उपयोग, उद्योगको विकास, सम्भावना बोकेको पर्यटन क्षेत्रमा पूर्वाधार अभाव छ । जग्गा प्लटिङका कारण जमिन खण्डीकरण भइरहेको छ । पूर्वदेखि पश्चिमसम्मका जनता बसाइ सरेर भरतपुर आउने गरेका छन्, तर विकास छैन । महानगर घोषणा गरिए पनि भरतपुरमा पूर्वाधारको अभाव छ । एउटा रङ्गशालासमेत छैन । महानगरभित्रकै रामपुरमा सुरू भएको अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण अलपत्र परेको छ । रकम अभावका कारण भदौयता त्यहाँ कुनै काम भएको छैन । फाउन्डेसनले चन्दा उठाएर रङ्गशाला निर्माण थाले पनि अहिले यो भद्रगोल अवस्थामा पुगेर काम ठप्प भएको छ । तर, त्यसलाई अगाडि बढाउने विषयमा महानगरले पहलकदमी लिन सकेको छैन ।

    अन्तर्राष्ट्रिय नीति नियमविपरीत घनाबस्तीमा उद्योगहरु सञ्चालनमा छन् । जनताको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । ती उद्योग हटाउन सहज छैन । महानगरमा आचारसंहिताविपरीत ठूला–ठूला भवन निर्माण भइरहेका छन् । सुविधायुक्त भरतपुर अस्पताल र मह¤वपूर्ण मानिएको क्यान्सर अस्पताल चितवनमा छ । २ दर्जनभन्दा बढी निजी अस्पताल छन् । तर, अझै पनि उपचारका लागि यहाँबाट काठमाडौँ वा भारतका ठूला अस्पतालमा जाने चलन अन्त्य भइसकेको छैन । नारायणी र राप्ती नदीको बाढीले नदीकिनारका बस्तीहरुमा समस्या सिर्जना गर्छ । गरिब बस्तीमा अझै पनि विकासका कार्यक्रम पुगेका छैनन् ।

    सहरी क्षेत्रका लागि अत्यावश्यक पूर्वाधारका रुपमा ढल निकास, फोहोरमैला र बजार व्यवस्थापन हो । ढल निकासमा महानगर कमजोर छ । केही वर्षयता वर्षाका बेला भरतपुरको बजार क्षेत्र जलमग्न हुन थालेको छ । फोहोरमैला व्यवस्थापनमा महानगरको चासो नगएको झैँ देखिन्छ । जनप्रतिनिधि आउनुभन्दा पहिल्यै ल्यान्डफिल्ड साइट बनाउन जग्गा प्रबन्ध भए पनि अहिलेसम्म जग हाल्ने काम भएको छैन । महानगरमा दैनिक ८० टनको हाराहारीमा फोहोर निस्कन्छ । त्यो फोहोर नारायणी नदीकिनारमा लगेर पुर्ने चलन अझै कायम छ ।

    स्थानीयले अवरोध गर्दा बजारमै फोहोर थुप्रन्छ । फोहोर व्यवस्थापनको समस्यालाई सम्बोधन गर्न भरतपुर महानगरपालिकाले आफ्नै ल्यान्डफिल्ड साइट बनाउने कार्यक्रम अघि सारेको थियो । महानगरले नेपाल सरकारबाट भोगाधिकार पाएको वडा नं–२ मा रहेको १५ बिघा जग्गामा आधुनिक ल्यान्डफिल्ड साइट निर्माण गर्ने योजना ल्याएको थियो । उक्त ल्यान्डफिल्ड साइटमा फोहोरबाट ऊर्जा कार्यक्रम परियोजना पनि सञ्चालन गर्ने कार्यक्रम थियो । तर, ल्यान्डफिल्ड साइट निर्माणका लागि डिपिआर बनाउनेबाहेक अन्य काम भएन ।

    निर्वाचित भइसकेपछि रेनु दाहालले जोडतोडका साथ उठाएको विषय हो, स्मार्ट सहर । दाहालले भरतपुर महानगरलाई स्मार्ट सहरका रुपमा विकास गर्ने बताएकी थिइन् । तर, त्यसअनुरुप काम भएन । कार्यकाल सकिने बेलासम्म त्यसको गुरूयोजनामात्रै बनेको छ । जनप्रतिनिधिले पाँच वर्षमा गरेको मुख्य काम सडक निर्माण र कालोपत्रे हो । यो अवधिमा महानगरभित्रका ६ सय १० किलोमिटर सडक कालोपत्रे गरिएको र केही रणनीतिक सडक निर्माण गरिएको छ । यद्यपि, सडक कालोपत्रे गर्ने सवालमा भने महानगरले रेकर्ड नै कायम गरेको छ । केही वर्षअघिसम्म सडकमा गतिलो कालोपत्रे देख्न मुस्किल पर्ने भरतपुर महानगरमा अहिले गल्ली–गल्ली कालोपत्रे भएका छन् । देशकै मध्यभागमा अवस्थित चितवनको भरतपुर महानगरपालिकाको क्षेत्रफल ४३३ वर्गकिलोमिटर छ । झट्ट हेर्दा सडक निर्माण, विस्तारको हिसाबले महानगरको कामलाई उल्लेख्य मान्न सकिन्छ ।

    सडक बन्यो, कालोपत्रे पनि गरियो तर पानी, ढल निकासका लागि कुनै व्यवस्था गरिएन । राजमार्ग, सहायक राजमार्ग, महानगरको गौरवको योजनाका रुपमा रहेका मार्गदेखि सामान्य सडक निर्माणमा ढल÷ड्रेन कतै पनि प्राथमिकतामा परेन । महानगरको दीर्घकालीन योजना निर्माण गर्दै गर्दा सडकमा कालोपत्रे गर्नुभन्दा पहिले सडकका लागि आवश्यक जमिनको सीमा छुट्टयाउनुपथ्र्यो तर यहाँ त्यसो गरिएन, भटाभट कालोपत्रे गर्न थालियो । सडकलाई च्यापेर घर बन्न थाले, अब फराकिलो कसरी बनाउने ? केही दिन लगातार वर्षा हुँदा चितवनको सदरमुकाम भरतपुर अस्तव्यस्त बन्न पुग्छ ।

    जिल्लाका अधिकांश सरकारी कार्यालय, बजार क्षेत्र, सडक जलमग्न बनेर जनजीवन प्रभावित बन्छन् । महानगरको ग्रामीण क्षेत्रका कालोपत्रे सडकमा माछा मार्ने स्थानीयको भीड लाग्छ । अझै पनि विगतमा झैँ कालोपत्रे देखाएर विकास भन्न थालियो भने केही वर्षमै भरतपुरको गरिमा मेटिनेछ । दीर्घकालीन विकासका लागि समयको चापलाई समाउन सक्नुपर्ने छ ।
    भरतपुर महानगरपालिकामा जनसंख्या बढ्दो छ । तर, सहरी विकासका कार्यक्रम प्रभावकारी छैनन् । २ घन्टा पानी परेको अवस्थामा सडक पानीले भरिएको हुन्छ । २ मुख्य सडकहरु साँघुरा छन् । राजमार्गको स्तरोन्नति हुन सकेको छैन । राजमार्ग हुँदै जाने यात्रुहरु वर्षौंदेखि घन्टौं लामो जाम र धुलो–धुवाँको मारमा छन् । मुख्य व्यापारिक केन्द्र नारायणगढ बजारकै सडक अव्यवस्थित छ ।

    मापदण्डअनुसारको सडक सीमाको जग्गा सुरक्षित गरी सीमा क्षेत्रभित्रको निर्माण कार्यमा निषेध गर्ने र यातायात पूर्वाधार (सडक, साइकल लेन, फुटपाथ, पार्किङ), खानेपानी, ढल, विद्युत्, टेलिफोन, इन्टरनेट, केबुल टिभीलगायतका पूर्वाधारको योजना तर्जुमा गरेरमात्रै काम अघि बढाउने र त्यसपछि निश्चित क्षेत्र–टोलको सहरी डिजाइन, हरियाली सडक, निर्माण–भवन संहिताका काम अघि बढाउने साथै अन्य स्थानीय तह र छिमेकी जिल्लासँग पनि समन्वय गरेर सडक सञ्जालको विकास गर्ने, निकट भविष्यमा आउँदै गरेको पूर्व–पश्चिम रेलमार्गको रूट र स्टेसन तय गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका रङ्गशाला, सङ्ग्रहालय, सभागृह, मनोरञ्जन पार्क निर्माण र जलविद्युत्को विकासका लागि पहल गर्नुपर्ने थियो, ती सबै अहिले अलपत्र अवस्थामा पुगेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.