सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै


  •    न्युजभित्तो/२८ आश्विन २०७८, बिहीबार ०७:५३ 
  • काठमाडौँ, २८ असोज । नवरात्रको नवौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवीअर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो । सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद्देवीभागवतलगायत ग्रन्थमा उल्लेख छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिएको हो । यिनी नवदुर्गा गणकी नवौँ देवी हुन् ।

    देवीका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनुभएको पौराणिक कथन छ । ती नाम स्मरण मात्र गर्नाले मनुष्य जुनसुकै कष्ट वा सङ्कटबाट सजिलैसँग छुट्न सक्छ भन्ने धार्मिक विश्वास छ । नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

    दोस्रो दिन शुक्रबार पूजास्थलमा ब्रह्मचारिणी, तेस्रो दिन शनिबार चन्द्रघण्टा, चौथो दिन आइतबार कुष्माण्डा, पाँचौँ दिन सोमबार स्कन्दमाता र कात्यायनी देवीको पूजा आराधना गरिएको थियो । यस वर्ष षष्ठी तिथि टुटेकाले स्कन्दमाता र कात्यायनी दुवै देवीको एकै दिन पूजा आराधना गनुपर्ने अवस्था आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

    यसैगरी सातौँ दिन मङ्गलबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्नाका साथै दसैँ घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याइएको थियो । आठौँ दिन बुधबार महागौरी देवीको पूजा आराधना गरिएको थियो भने नवरात्रको नवौँ एवं अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै छ ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन् ।

    दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

    नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । नवरात्रको सातौँ दिनपछि सार्वजनिक बिदा पनि दिइएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा त्यसै दिनदेखि भीड बढेको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणको जोखिम कम भएकाले शक्तिपीठ खुला गरिएको छ । गत वर्ष बडादसैँमा शक्तिपीठ बन्द गरी घर घरमै पूजा आराधना गर्न सरकारले अनुरोध गरेको थियो । यस वर्ष भने कोरोना जोखिम कम भएकाले भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित देवी मन्दिर खुला गरिएको हो ।

    कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठ मन्दिर जान र खानपिन गरी दशैँ र तिहारजस्ता चाड पर्व मनाउन तीनै तहका सरकारले सार्वजनिक आह्वान गरेका छन् ।

    तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड

    महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम लागेको छ । तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका लागि खुला गरिन्छ ।

    गत वर्ष भने कोरोना महमारीका कारण मन्दिर भक्तजनका लागि खुला नगरिएकामा यस वर्ष कोरोना जोखिम कम रहेको र धेरैले खोप लगाएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालयय प्रमुख सन्दिप खनालले बताउनुभयो ।

    बिहान ६ बजेसम्म भक्तजनको लाम हनुमानढोका दरबारको मूलढोकासम्म पुगेको छ । आज लाममा बस्ने सबैलाई पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइने कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
    कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
    सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
    • गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित
    • तुइन खोलामा पहिरो
    • भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु
    • विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.