सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

न्याय माग्दै नेपालगञ्जदेखि काठमाडौंसम्म पैदलयात्रा


  •    न्युजभित्तो/२२ आश्विन २०७८, शुक्रबार १६:३० 
  • काठमाडौं, २२ असोज । बाँके प्रहरीले दुई महिलाको शंकास्पद मृत्युको अनुसन्धान नगरेको भन्दै पीडित र अधिकारकर्मीले न्यायका लागि नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदल मार्च गरिरहेका छन् । असोज १ देखि सुरु भएको पैदल मार्च चार दिनमा दाङ पुगेको छ ।

    जिल्ला प्रशासन कार्यालयको गेटमा १९ दिन (१३–३१ भदौ) सम्म धर्ना दिँदासमेत आफ्नो माग सुनुवाइ नभएपछि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नेपालगञ्ज–काठमाडौंको पैदल मार्च सुरु गरेको सहभागीले बताएका छन् ।

    बाँके नेवाजी गाउँकी नन्कुन्नी धोबी गत ५ साउनमा मृत भेटिइन् । झुण्डिएको अवस्थामा उनको शव घरमै भेटियो । उनी लामो समयदेखि घरेलु हिंसा व्यहोर्दै आएको र घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको भन्दै पीडितले प्रहरीलाई गुहारे । तर, प्रहरीले अनुसन्धानै नगरेर आत्महत्या भनिदियो ।

    त्यस्तै, एकल महिला निर्मला कुर्मी गतवर्ष मंसिरमा बेपत्ता भइन् । १६ मंसिरमा स्थानीयले प्रहरीमा किटानी जाहेरी दिए । तर, प्रहरीले अनुसन्धान गरेन । अहिले उनको मृत्यु भैसकेको बताइएपछि यी दुई शंकास्पद मृत्युको गहिरो अनुसन्धानको माग गर्दै पीडित र अधिकारकर्मीले प्रदर्शन गरिरहेका छन् ।

    ‘एकल महिला एकाएक बेपत्ता भइन् । खोजी गरिदिनुपर्‍यो भनेर अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दिँदासमेत प्रहरीले चासो देखाएन । दिनहुँ हिंसा भोगिरहेकी महिला मृत भेटिइन्, प्रहरी अनुसन्धा नै नगरी आत्महत्या भन्छ,’ अधिकारकर्मी रुबी खानले भनिन्, ‘यो देशमा सरकार छ कि छैन भनेर खोज्न हामी पैदल मार्चमा छौं ।’

    पैदल यात्रामा पीडित परिवारका सदस्यसहित १४ महिला छन् । मृतक नन्कुन्नीकी दिदी बिष्टा धोबी, बहिनी शिला र भाइ माताप्रसाद धोबी पनि मार्चमा छन् । उनीहरू बुटवल पुगेर मुख्यमन्त्री कार्यालयमा धर्ना दिनेछन् । केही दिन धर्ना दिएपछि काठमाडौं आएर सिंहदरबारमा धर्ना दिने कार्यक्रम रहेको नन्कुन्नीका भाइ माताप्रसाद धोबी बताउँछन् । ‘मान्छेको ज्यान जाँदा पनि जिल्लाको प्रहरी र प्रशासनले सुनेन । त्यसैले हामी प्रधानमन्त्री, गृहमन्त्री र राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउँछौं’, उनले भने ।

    नेपालगञ्ज नगरसँग जोडिएको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी एक वर्षदेखि वेपत्ता छिन् । सम्पत्ति हडप्न खोज्नेहरूबाट लामो समयदेखि प्रताडित कुर्मीको अपहरणपछि हत्या गरिएको हुनसक्ने महिला अधिकार मञ्चकी सदस्य खान बताउँछिन् ।

    गत वर्ष मंसिर १६ गते नै जिल्ला प्रहरीमा अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी दर्ता गरिएको थियो । तर, डेढ महिनापछि बुझ्दा प्रहरीले निर्मलाको मृत्यु भैसकेको जानकारी दियो । उनको मृत्यु भनिए पनि शव नदेखाएकाले रहस्यमय रहेको अधिकारकर्मी बताउँछन् । ‘मृत्यु नै भएको भए शव देखाउनु पर्‍यो, होइन भने मान्छे खोजिदिनु पर्‍यो’, उनले भनिन् ।

    निर्मला कुर्मीको अपहरणमा संलग्न रहेको भन्दै पीडितले किटानी गरेका बादशाह कुर्मी पूर्वसांसद एवं कांग्रेसका नेता हुन् । उनले पुरानो विवादलाई उछालेर आफूमाथि बारम्बार लाञ्छना लगाउने काम भैरहकेो गुनासो गरे । ‘जाहेरी दिएको थाहा पाएर म आफैं प्रहरीमा गएर बयान दिएको हुँ । प्रहरीले अनुसन्धान गरेपछि सरकारी वकिल कार्यालयले मुद्दा मुल्तबीमा राखेको छ’ उनले शिलापत्रसँग भने, अधिकारकर्मीका नाममा मलाई जर्बजस्ती अपराधी करार गर्न खोजिएको छ ।’

    २०६६ सालमा परस्पुर गाउँमा भएको लेनदेन र ठगी विवादका कारण अहिलेसम्म आफू प्रताडित हुनुपरेको आरोपित पूर्वसांसद कुर्मीले दाबी गरे ।

    नन्कुन्नी धोबीको मृत्यु किन शंकास्पद ?

    बाँकेको जानकी-२ नेवाजी गाउँकी नन्कुन्नी धोबी ५ साउन बिहान घरमै झुण्डिएको अवस्थामा मृत भेटिइन् । पटकपटक घरेलु हिंसामा परेकी नन्कुन्नीको मृत्यु स्थानीयका लागि शंकास्पद हुने नै भयो ।

    स्थानीय बासिन्दाले त्यसको कारण खोज्न र गहिरो अनुसन्धान गर्न प्रहरीसँग आग्रह गरे । तर, प्रहरीले आत्महत्या भनेर चासो देखाएन ।

    नन्कुन्नीले गत ७ असारमा महिला अधिकार मञ्चमा आएर आफ्ना पतिबाट ज्यानको खतरा रहेको भन्दै सुरक्षाका लागि पहल गरिदिन निवेदन दिएकी थिइन् । मञ्चले सो घटनाारे प्रहरीलाई खबरसमेत गर्‍यो । प्रहरीले धोबीको घरमा गएर त्यतिबेला मिलापत्र गराइदिएको थियो ।

    नन्कुन्नी धोबी रामकुमारकी तेस्रो श्रीमती हुन् । उनीबाट कुनै सन्तान थिएन । रामकुमारमाथि पहिलो श्रीमतीलाई मट्टितेल हालेर जलाएको आरोप छ । दोस्रो श्रीमती पनि यातना सहन नसकेर भागेको नन्कुन्नीको माइती पक्षले आरोप लगाएको छ । बारम्बार घरेलु हिंसा गरेकाले रामकुमारले नन्कुन्नीको हत्या गरेको उनीहरूको दाबी छ ।

    नन्कुन्नी र रामकुमारबीच धर्मपुत्र राख्ने र सम्पत्ति दिने विषयमा पनि विवाद थियो । नन्कुन्नी आफ्नो भागको सम्पत्ति जेठी श्रीमतीतर्फकी छोरीलाई दिन चाहेकी थिइन् । रामकुमार भने दाइको छोरालाई धर्मपुत्र राखेर उसैलाई सम्पत्ति दिन दबाब दिइरहेका थिए । त्यसमाथि, रामकुमारले बारम्बार मोटरसाइकल दाइजो मागेर दिदीलाई दुःख दिइरहेको भाइ माताप्रसाद बताउँछन् ।

    नन्कुन्नीको शव झुण्डिएको ठाउँमा वरपर कुनै टेक्ने वस्तु थिएन । नन्कुन्नीले के मा चढेर झुण्डिइन् भन्ने देखिँदैन । घरका दुबै ढोका भित्रबाट बन्द थिए । तर, भित्र जाने अर्को बाटो रहेकाले त्यो पनि शंकास्पद छ । प्रहरी आफै घरभित्र पसेर ढोकाको चुकुल खोलेको थियो । शवको नाक, कान मुखबाट रगत बगेको स्थानीय प्रत्यक्षदर्शीले बताएकाले त्यो आत्महत्या नभई हत्या नै भएको माइती पक्षको दाबी छ ।

    सबै माग सम्बोधन भैसक्यो: प्रजिअ

    बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल भने आन्दोलनकारीका माग सम्बोधन भैसकेको बताउँछन् । निर्मला कुर्मीको अपहरणसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालय पेस गरेको र सरकारी वकिलले नै मुल्तबीमा राखेको उनले जनाए ।

    अर्को, नन्कुन्नी धोबीको शंकास्पद मृत्यु प्रकरणमा अनुसन्धान गरी मुद्दा अदालतमा पेस भैसकेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘आन्दोलनकारीको माग अनुसार प्रहरीका प्रमुख र उपप्रमुखलाई विभागीय कारबाहीका लागि पनि प्रक्रिया अघि बढाइएको छ ।’

    प्रहरी प्रमुख तथा उपप्रमुखमाथि विभागीय कारबाही गर्न लागिएको प्रजिअ गेलालकै भनाइले पनि घरेलु हिंसा र शंकास्पद मृत्युसम्बन्धी घटनाको अनुसन्धानमा बाँके प्रहरी चुकेको पुष्टि गर्छ ।

    तस्विर : रिपोर्टर्स नेपाल डटकम

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.