सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहामा आन्तरिक तथा बाह्य पर्यटकहरु चहलपहल बढ्यो


  •    न्युजभित्तो/७ आश्विन २०७८, बिहीबार ११:०० 
  • चितवन,७ असोज । कोरोना संक्रमणको दोस्रो लहर कम हुँदै गएपछि चितवनको प्रमुख पर्यटकीय केन्द्र सौराहामा आन्तरिक तथा बाह्य पर्यटकहरु देखिन थालेका छन् ।

    पर्यटकहरु बढ्न थालेपछि पर्यटन तथा होटल व्यवसायीहरु उत्साही छन् । दशैं, तिहार जस्ता नेपालीहरुका ठूला चाडपर्वहरु सुरु भएसँगै आन्तरिक पर्यटकहरुसमेत अझै बढ्ने विश्वास व्यवसायीहरुको छ ।

    पर्यटकहरुको चहलपहल देखिएपछि लामो समयसम्म बन्द रहेका होटलहरुको सरसफाइ गर्ने, कामविहीन भएर विदामा पठाइएका कर्मचारीहरुलाई बोलाउने लगायतका काम थालिएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । उनका अनुसार व्यवसायीहरुले होटल रंगरोगन, ब्यूटिफिकेशन, सरसफाइ जस्ता काम गरिरहेका छन् ।

    लगातारजस्तो विदा पर्दा सौराहामा पर्यटकहरुको संख्या ह्वात्तै बढ्ने गरेको अध्यक्ष भट्टराईले बताए । ‘दशैं तिहार जस्ता ठूला पर्व आउँदैछन्, लामो विदा हुँदा आन्तरिक पर्यटकहरु आउन थालेका छन्,’ अध्यक्ष भट्टराईले भने, ‘पर्यटकहरु देख्दा आशावादी छौं ।’ सरकारले कर्मचारीहरुलाई दिने पर्यटकीय काज विदामा पर्यटकहरुलाई तान्ने कार्यक्रमहरुसमेत राख्ने सोच व्यवसायीले बनाएका छन् ।

    पहिले विदेशी, अहिले स्वदेशी पर्यटक प्राथमिकतामा

    सौराहामा फाट्टफुट्ट रुपमा विदेशी पर्यटक पनि आउन थालेका छन् । यसले सौराहामा पर्यटन व्यवसाय तंग्रिन थालेको सन्देशको रुपमा लिन सकिने व्यवसायी बताउँछन् । पछिल्लो महिना मात्रै एक सयभन्दा बढी विदेशी पर्यटक सौराहा आएको व्यवसायीहरुले जानकारी दिए । एक महिनायता सौराहामा अमेरिका, जर्मनी, युक्रेन, बेलायतलगायतका देशबाट पर्यटकहरु सौराहामा आएका छन् ।

    क्षेत्रिय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष तथा जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेले कोरोना महामारीको लहर कम हुँदै जाँदा सौराहामा पर्यटकहरु बढ्न थालेको बताए । उनले पर्यटकहरु आउने आशामा व्यवसायीहरुले आ–आफ्नो ढंगले तयारीहरु अघि बढाएको जानकारी दिए । ‘कोरोनाले हामीलाई धेरै कुरा सिकाएको छ, सबैभन्दा महत्वपूर्ण कुरा त सौराहा आउने मुख्य पर्यटक स्वदेशी हुन् की विदेशी हुन् भन्ने पहिचान गराएको छ,’ सञ्चालक घिमिरेले भने, ‘पहिला विदेशी पर्यटकहरुलाई हामीले प्राथमिकतामा राखेका थियौं, अहिले स्वदेशी पर्यटक हाम्रो प्राथमिकतामा छन् ।’

    उनले नेपाली पर्यटकहरुलाई लक्षित गरी सामाजिक सञ्जाल मैत्री सेल्फी पोइन्ट, फोटो खिच्ने ठाउँहरु होटलहरुले तयार गर्न थालेको बताए । हरेक हप्ताको शुक्रबार र शनिबार सौराहामा पर्यटकहरु अन्य दिनको तुलनामा बढी आउने गरेको बताए । सौराहामा १३० वटा होटल र ९० वटा रेस्टुरेन्ट छन् ।

    यस वर्ष लामो वर्षा, बाढी पहिरो र डुबानको कारण पनि पर्यटकहरुलाई घुम्न समस्या भएको व्यवसायीहरु बताउँछन् । व्यवसायीहरुले दशैं तिहारका लागि पर्यटकहरुलाई विषेश प्याकेजसमेत दिन थालेका छन् । आउने पर्यटकहरुलाई पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरिने व्यवसायीको भनाइ छ ।

    सौराहामा हात्ती सफारीसमेत खुलिसकेको छ । पर्यटकको संख्या बढ्दै गएपछि यहाँका रेस्टुरेन्ट व्यवसायीहरु उत्साहित छन् । हात्ती सफारी, जिप सफारी चल्न थालेका छन् ।

    युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले सौराहा आएका पर्यटकहरुमध्ये ९० प्रतिशत हात्तीसँग सम्वन्धित क्रियाकलापमा संलग्न हुने गरेको बताए । ‘हात्तीविनाको सौराहाको परिकल्पना गर्न पनि सकिन्न, जति पर्यटक आउँछन् सबैजसोले हात्तीसँग सम्वन्धित क्रियाकलापमा भाग लिएको पाउँछु,’ अध्यक्ष तिवारीले भने, ‘कसैले हात्तीलाई नुहाएर, कसैले चढेर, कसैले हात्तीको बच्चा हेरेर, कसैले हात्तीलाई खुवाएर मनोरञ्जन लिनुहुन्छ ।’

    सौराहामा अहिले व्यवसायीहरुका ३३ वटा हात्ती छन् । कोरोना महामारी अघिसम्म ५५ हात्ती रहेको सौराहामा हात्ती पाल्न नसक्ने भन्दै कतिपय व्यवसायीहरुले हात्ती बेचे भने कतिपयले भाडामा ल्याएका हात्ती फिर्ता गरेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले बताए । उनले ३३ वटा हात्ती सौराहाका लागि पर्याप्त रहेको बताए । व्यवसायीले हात्ती बेच्न थालेपछि सर्वोच्च अदातलले भने हात्ती नबेच्न आदेश दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
    पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
    सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    • भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
    • भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
    • उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा
    • नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन: उम्मेदवारी मनोनयन दर्ता निःशुल्क

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.