सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साउने रमझममा हरियो चुराको बजार


  •    न्युजभित्तो/७ श्रावण २०७८, बिहीबार ११:३५ 
  • महोत्तरी, ७ साउन । बर्खाकालको साउन महिना मिथिलानी ९मिथिलाका नारी० का लागि विशेष हुन्छ । मैथिल हिन्दू परम्परामा साउन भगवान् शिवको प्रिय महिना मानिने विश्वासले मिथिलानीका लागि विशेष बन्दै आएको हो ।साउनमै पनि सोमबारको त अझ विशिष्ट महत्व छ । साउने सोमबारका दिन भगवान् शिवलाई पुकारा गरी पूजाआराधना गरेर व्रत बसे इच्छित कामना पूरा हुने हिन्दू मैथिल जनविश्वास छ । साउनमा सोमबार परेको दिन मिथिलानी विभिन्न वस्त्र परिधानमा सजिएर शिवभक्तिका गीत गाउँदै शिवालयमा देखिन्छन् । मिथिलानीको यो परिधानभित्र हरियो चुराको विशिष्ट महत्वले गर्दा अहिले महोत्तरीसहितका मिथिला क्षेत्रमा जताततै बस्ती÷बस्तीमा हरियो चुराको बजार जमेको देखिन्छ ।

    हरियो चुरा अटल सौभाग्यको सौन्दर्य प्रसाधन मानिने हुँदा साउने सोमबारी व्रतमा महिलाले यो रोज्ने गरेका हुन् । हरियो चुरासहितको प्रसाधनमा सजिएर भगवान् शिवको गरिने आराधना र व्रतले अटल सौभाग्य प्राप्त हुने विश्वास रहेको हातभरि हरियो चुराले नाडी छोपेकी बर्दिवास नगरपालिका–९ की शैल महतो बताउनुहुन्छ ।

    “साउन महिना प्रकृति पूजाका लागि विशिष्ट मानिन्छ, हरियो रङलाई प्रकृतिको प्रतीक मानिन्छ”, महोत्तरीकै भङ्गाहा नगरपालिका–५ सिद्धपुरकी रुवी झा भन्नुहुन्छ, “हाम्रा तीर्थ व्रत र चाडबाड धेरैजसो प्रकृतिसम्बद्ध छन्, त्यसैले साउनमा हरियो चुराले महत्व पाएको हो ।”

    विवाहित मिथिलानी अटल सौभाग्य र अविवाहित युवती सुन्दर वर (दुलाहा) को कामनाले साउने सोमबारी व्रत बस्छन् । नवविवाहिता मिथिलानी त साउनमै पतिपत्नीबीच पिरती गाढा हुने विश्वास गर्छन् । भगवान् शिवको आराधना होस् कि अन्य धार्मिक अवसर, सौभाग्य प्रसाधनको चयनमा हरियो चुरा मिथिलानीको प्राथमिकतामै पर्छ । साउने यो पर्वका अवसरमा हरियो चुरामात्र नभएर हरियो पोते, हरियो सारी र अन्य शृङ्गार प्रसाधनका पसल साउन लागिकन जताततै सजिएका छन् ।

    कोभिड–१९ महाव्याधिको सन्त्रास हटिसकेको नहुँदा जिल्ला प्रशासनले मेला, उत्सव र शिवालयमा बाक्लो जमघटमा रोक लगाएको छ तर लामो समय निषेधाज्ञाले जकडिएका सर्वसाधारण महाव्याधि अलि कम भएको बेला अहिले शिवालयमा पुगेको देखिन्छन् । मिथिलानी त अहिले लामो कारागार बसाइबाट छुटेजस्तै भएका छन् । सधैँ घरगृहस्थीमा रुमलिने मिथिलानी साउन लागेपछि सहेलीहरुको झुण्डमा मन फुकाएर हाँस्दै शिवालयमा देखिन्छन् । यस्तो जमघटमा आफ्ना वस्त्र परिधान विशिष्ट देखिउन् भन्ने अन्तरनिहित चाहना हुने गरेको भङ्गाहा–४ रामनगरकी रसिया थारु बताउनुहुन्छ ।

    साउन महिनाले खेतबारी र कान्लापाखामात्र नभएर परिवेश नै हरियो बनाएको देखिन्छ । हाट बजारमा यतिखेर जताततै हरिया शृङ्गार साधनका पसल सजिएका छन् । यस्ता शृङ्गार प्रसाधनका पसलमा युवा उमेरका मिथिलानीको उपस्थिति सघन देखिन्छ । महाव्याधि सन्त्रासबीच कारोबार सबै बन्द भएर जिङ्राएका व्यापारी साउन लागिकन परिस्थिति सहज बन्दै गएको आकलन गरेर पर्व केन्द्रित व्यापारमा लागेका छन् । महाव्याधि सन्त्रास घटेको हुँदा धेरथोर व्यापार चल्न थालेको व्यापारीहरुको भनाइ छ । अहिले महिलाले हरियो रङका जरी भरेको चुरा तथा हरिया बुट्टेचुरा बढी खोज्ने गरेको भङ्गाहा–५ सीतापुर बजारका शृङ्गार भण्डारका सञ्चालक रामभगत साह बताउनुहुन्छ । चुरासँगै अहिले मेहन्दीको व्यापार पनि फस्टाएको छ । साउनमा हरियो चुराजस्तै हत्केला, नाडी र नङमा मेहन्दी लगाउने मिथिलानीको चलन छ । साउनमा हत्केला, नङ, औँला र नाडीसम्म कलात्मक ढङ्गले लगाइने मेहन्दीले पतिपत्नीबीच प्रेममा प्रगाढता हुने र सर्पको भय नहुने विश्वास गरिन्छ ।

    हरियो रङलाई समृद्धिको प्रतीक पनि मानिन्छ । साउने सोमबारी पर्वका बर्तालु विवाहित मिथिलानीले पतिको समृद्धिको कामना गर्दै हरियो चुरा, पोते, हरियो लुगा र हत्केलामा मेहन्दी लगाउने प्रचलन छ । त्यसैगरी अविवाहित नवयौवना मिथिलानी सुन्दर वर ९दुलहा० को कामना गर्दै साउने व्रत बस्छन् । साउनमा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडी एकले अर्कालाई उपहार दिने चलन पनि बाक्लै भएको हुँदा यो महिनामा यस्ता सामानको बजार निकै जम्ने गरेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.