सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिलो सोमबारः मन्दिर परिसरमै पूजाआराधना गर्नेको भिड


  •    न्युजभित्तो/४ श्रावण २०७८, सोमबार १४:२७ 
  • काठमाडौः साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रतबसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी मनाउँदैछन् । विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । यो महिना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

    पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लाग्ने गरेकामा यसवर्ष कोरोना भाइरसको जोखिम कायमै रहेकाले मूल ढोकामै तालाबन्दी छ । मूल मन्दिर बन्द गरिए पनि बाहिर भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । पशुपतिनाथ मूल मन्दिरमा पूजाआराधना गर्न नपाए पनि भक्तजन पशुपति क्षेत्रका शिवालयमा पूजाआराधना एवं दर्शन गरेर फर्किएका छन् ।

    राजधानीका अन्य शिवालयमा भने रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले भरिभराउ देखिन्छ । विवाहित महिलाले पतिको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउनुहुन्छ ।

    घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रतबसी पूजाआजा गर्छन् । यस वर्ष साउनमा पाँच वटा सोमबार परेको छ । साउन ४, ११, १८, २५ र ३२ गते सोमबार परेको छ ।

    पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।

    गोकर्णेश्वर मन्दिर पनि बन्द

    यसैगरी राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि साउने सोमबारका अवसमरमा भक्तजनको बिहानैदेखि भीड लाग्ने गरेकामा यस वर्ष कोरोना महामारीको जोखिम कायम रहेकाले बन्द गरिएको छ ।

    पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजाआराधना गर्ने प्राचीन कालेदेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यतासमेत छ । यही मान्यताका आधारमा पशुपतिनाथ मन्दिर बन्द हुँदा गोकर्णेश्वरमा भक्तजनको भीड बढ्नसक्ने भएकोले मन्दिर बन्द गरिएको हो । सूचना प्रकाशन गरेर मन्दिर बन्द गरी नित्य पूजामात्र गर्ने व्यवस्था मिाइएको गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपालले राससलाई जानकारी दिनुभयो ।

    वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लाग्ने गरेकामा कोरोनाका कारण बन्द गरिएको छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाउने परम्परा छ ।

    यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा ‘बोल बम’ उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बमयात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायतबीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउने परम्परा कोरोनाका कारण गतवर्ष र यसवर्ष पनि प्रभावित भएको छ ।

    भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एक पटक साउन महीनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घर नराम्रो शक्तिको प्रवेश नहुने सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यतासमेत छ । यसवर्ष साउन महिनामा १८ दिन रुद्री जुरेको समितिले जनाएको छ ।

    भक्तजनलाई बाहिरबाट दर्शनको व्यवस्था

    यसैगरी पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिर बन्द गरिए पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । दर्शनार्थी भक्तजनलाई सुविधा होस् भनी मास्क, स्यानिटाइजर वितरण गरी दूरी कायम गरेर बाहिरबाट दर्शनको व्यवस्था मिलाइएकोे नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले राससलाई जानकारी दिनुभयो ।

    कोरोनाअघि मन्दिरमा दर्शनका लागि भारतीय भक्तजनको पनि भीड लाग्ने गर्दथ्यो । यस महिनाको सोमबार पारेर मन्दिरमा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, मुद्दामामिलाको झन्झटबाट मुक्ति पाइने र कालसर्प योगको दोष जन्मकुण्डीमा भए यसबाटसमेत राहत मिल्ने धार्मिक विश्वास छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.