सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘हजार अर्बको निर्यात गर्छौं भन्नु नै चुरे खन्ने दाउ हो’


  •    न्युजभित्तो/२६ जेष्ठ २०७८, बुधबार ११:५१ 
  • रामेश्वर खनाल, पूर्वसचिव

    यतिबेला ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने सरकारी विषयमा चर्को मतभेद देखिएको छ । एक दिन अगाडि प्रधानमन्त्रीले पढेको नीति तथा कार्यक्रममा यसबारे उच्चारण नै गरिएको थिएन ।

    रातारात, सिद्धबाबा र दाउन्नेको डाँडा काट्नुपर्छ भन्ने लहैलहैको आधारमा ढुंगा, गिट्टी, बालुवा भारत निकासी गर्ने कार्यक्रम आयो ।

    खानी विभागले अहिले जसरी व्याख्या गरे पनि ढुंगा, बालुवा निकासी खानी विभागलाई थाहै नभएर बजेटमा परेको वाक्यांश हो ।

    म आफैं राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको अध्यक्षमा हुँदा १४ जिल्लाका ९२ वटा खानी पहिचान गरिएको हो । मैले २०७२ सालमा त्यो निकाय छोडें । यो सात वर्षको अवधिमा हामीले कुनै पनि खानी विकास गर्न सकेनौं ।

    यी ९२ वटै खानी उत्खनन गर्दा पनि वर्षको साढे १३ अर्ब रुपैयाँको मात्र निर्यात गर्न सकिन्छ भन्ने सरकारको तथ्यांक छ । अहिलेको प्राथमिकता निर्यात हुँदै होइन ।

    सर्वप्रथम हाम्रो आन्तरिक विकासको आवश्यकता पूरा गर्नतिर हामीले ध्यान दिनुपर्छ । किनकि निर्माणजन्य खनिजको भण्डारण गर्न सकिने स्थान भनेकै प्राकृतिक सम्पदा हो ।

    खानीको भण्डारण गर्दा यो उडेर, बगेर जाँदैन न खिइएर जान्छ । प्राकृतिक सम्पदा सकिएर जाने कुरा होइन । हामीले उपयोग नगरे पनि प्रकृति आफैंले खानीको भण्डार गरेर राखिरहन्छ । नदी प्रणालीमा भएको प्राकृतिक वस्तु मात्र केही हदसम्म बगेर जान सक्छ । त्यसकारण नदीजन्य सामग्रीको प्रयोग कसरी गर्ने भन्ने सम्बन्धमा अलग्गै बहस गरौंला ।

    सरकारले व्यापार घाटा कम गर्ने तर्कसहित अहिले ढुंगा, बालुवा र गिट्टी निर्यात गर्ने योजना सार्वजनिक गरेको छ । जबकि ९२ वटै खानी उत्खनन गर्दा पनि वर्षको साढे १३ अर्बको मात्रै निर्यात गर्न सकिने सरकारी विश्लेषण छ । त्यो निर्यात गरेर हामी धनी बन्दैनौं । न त त्यसले हाम्रो व्यापार घाटा नै कम हुन्छ । न त यसले राष्ट्रिय जीवनमा फाइदा हुन्छ ।

    किनकि जुनबेला हामीले अन्धाधुन्द निर्यात गर्‍यौं, त्यसबेला यसले हाम्रो जीवन नै क्षत–विक्षत पारेको थियो । ढुंगा, गिट्टीको अनियन्त्रित उत्खननले तराई–मधेशमा धेरै नागरिकको जनजीवनमा क्षति पुगेको थियो । तर त्यसरी निर्यात गर्दा पनि हाम्रो व्यापार घाटा यथावत् थियो । अहिले जुन अनुपात व्यापार घाटाको छ, ढुंगा–गिट्टी–बालुवा निर्यात गर्दाको समयमा पनि यस्तै थियो । बरु अहिले वस्तु निर्यात अलिकति बढेको देखिन्छ ।

    दोस्रो कुरा, वातावरणीय प्रभाव मूल्याङ्कन गर्दैमा कुनै आयोजना सञ्चालन गर्नुपर्छ भन्ने हुँदैन । यसले कस्तो किसिमको क्षति न्यूनीकरण गर्न कस्तो किसिमको योजना कार्यान्वयन गर्नुपर्छ भनेर हामीलाई मार्गदर्शन मात्र गर्ने हो ।

    चुरेमा जस्तोसुकै वातावरणीय अध्ययन गरेर योजना बनाए पनि त्यसलाई पुनः संरक्षण गर्न सकिन्न । चुरेमा एकपटक वन फँडानी गरेर त्यसमा भएको माटो पानीले बगाएर लग्यो भने त्यसमा वृक्षरोपण गरेर पनि बिरुवा हुर्कंदैन ।

    चुरे आफैंमा पानीको सिंचाइ प्रणाली नभएको क्षेत्र हो । यहाँबाट बगेर पानी सीधै भावर क्षेत्रमा पुग्छ । त्यहाँ जम्मा भएको पानी नै सिंचाइ वा खानेपानीका लागि प्रयोग हुँदै आएको हो । त्यसकारण चुरेलाई कुनै पनि बहानामा क्षति गरियो भने त्यसले पानी र बस्ती सबैलाई असर गर्छ । बस्ती डुबान र मरुभूमिकरण हुने जोखिम बढेर जान्छ ।

    मध्यपहाडी क्षेत्रका खनेका सडकले मात्रै गाउँमा पानीका मूल सुकेका छन् । डोटी, बाजुरा, पाँचथर, इलाम जस्ता जिल्लामा पुग्दा त्यहाँका महिला पानी लिन टाढा गएको देखेको छु । हाम्रो विकासका मोडलले मूल रूपमा प्रभावित गर्नेको हित हेर्दैनन् ।

    यद्यपि बजेट वक्तव्यले चुरे भन्दैन, किनकि यो लुकाएर चलाखीपूर्ण तवरले ल्याएको कार्यक्रम हो । चुरे भन्यो भने आपत्ति हुन्छ भन्ने थाहा छ । सर्वोच्चको निर्णयका कारण पनि सरकारले त्यो भन्न पाउँदैन ।

    अहिले सरकारी मान्छे (पक्ष)ले बजेटले त्यसो भनेको छैन भनेर प्रतिरक्षा गरिरहेका छन्, त्यसो गर्न मिल्दैन । वास्तवमा यो वक्तव्यको क्षेत्र र लक्षित क्षेत्र कुन हो भन्ने कुरा प्राविधिकले बोल्ने बेला स्पष्ट भनिदिनुपर्छ, चाहे पदमा होउन् वा नहोउन् ।

    प्रकृतिमाथि खेलबाड गरेर देशकै प्राकृतिक व्यवस्थामा क्षति पुग्ने कदममा इमानदार भएर बोल्नुपर्छ । बोल्दा सरकारलाई रीस उठ्छ भने उठिराखोस् । बोलेबापत पदबाट हटाउँछन् भने हटाउन्, नत्र छाडेर हिंड्ने आँट पनि हुनुपर्छ । सत्य कुरा बोल्न डराउनुहुँदैन ।

    सरकारले ढुंगा, बालुवा निर्यात गरेर एक हजार अर्बको निर्यात गर्छौं भन्ने आँट गर्नु नै चुरे खन्ने दाउ हो भन्ने स्पष्ट हुन्छ । यो मध्यपहाडी क्षेत्रका खानी उत्खनन् गरेर मात्र सम्भव छैन ।

    सिद्धबाबा र दाउन्नेको डाँडो खनेर बेच्नकै लागि यो दाउ आएको हो । यो सहजै बेच्न सकियो भने अरू विस्तारै बेच्न सकिन्छ भन्ने गुप्त योजनासहित यो कार्यक्रम ल्याइएको हो ।

    म ठोकुवाका साथ भन्छु, मध्यपहाडी भेगका खानीबाट ढुंगा, गिट्टी बालुवा निकाल्ने योजना हुँदै होइन । त्यो भएको भए खानी विभागलाई सरकारले सोध्थ्यो, वातावरण विभाग, वन मन्त्रालयसँग छलफल हुन्थ्यो । यो कहींबाट प्रस्ताव नभएको नीति हो । बजेटमा यसरी नीति घुसाउन पाइन्छ ? त्यसकारण हामीले चुरेमा प्रश्न गर्ने हो । खबरदारी बढाउने हो ।

    मध्यपहाडी क्षेत्र पनि पर्यावरणसँग निकै संवेदनशील भूभाग हो, त्यसलाई चलाउँदा पनि निकै सतर्क हुनुपर्छ । खानी विभागले तय गरेका १४ जिल्लाका ९२ वटा खानी यी राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रमा पर्दैनन् । नपरेको हदसम्म त्यसको व्यावसायिक प्रयोग गर्न सकिन्छ ।

    तर, प्रयोग र व्यापारका नाममा नेपालमा फोहोरी खालको व्यापार हुने गरेको छ । पारदर्शी कारोबार हुँदैन । यो क्षेत्रमा ज्यादै गलत नियतका मान्छेहरूको वर्चश्व छ ।

    भावरका नदीहरूबाट नदीजन्य वस्तु निष्कासन गर्नुपर्छ, गर्न आवश्यक पनि छ । तर, निकाल्दा खानी विभागका विज्ञले तोकेको मापदण्डभन्दा धेरै गहिराइमा निकाल्ने गरिएको छ । अन्धाधुन्द दोहन बढेको छ । जसको प्रभाव, तराईमा नदी कटान, डुबान र भूक्षय बढेको छ ।

    हामीले तत्कलीन समयमा निजी क्षेत्रलाई सीधै निकाल्न नदिऊँ भन्ने प्रस्ताव गरेका थियौं । त्यसबेला जिल्ला विकास समिति थियो, जिविसले निकालेर एक ठाउँमा थुपारोस्, उसले थुपारेको थुप्रोबाट मात्र लिलाम गरेर बिक्री गरौं भन्ने प्रस्ताव हामीले गरेका थियौं । यसो हुँदा सरकारी निकायले गलत काम गर्न सक्दैनथ्यो । किनभने नेपालमा सरकारी निकाय अक्षम होलान्, तर गलत काम गर्दैनन् ।

    नेपालमा जति पनि सार्वजनिक संस्थान छन्, उनीहरूले उपभोक्ता, नागरिकलाई गलत हुने गरी काम गरेको मलाई थाहा छैन । चाहे त्यो खानेपानी संस्थान, नेपाल टेलिकम वा नेपाल विद्युत् प्राधिकरण होस् ।

    उनीहरूमा अक्षमता छ, सही तरिकाले काम गर्दैनन्, अलग कुरा हो, तर नागरिकको हित प्रतिकूल हुने गरी उनीहरूले काम गर्दैनन्, कसैले गरेछ भने पनि ढिलोचाँडो त्यसको कानूनी उपचार हुन्छ । त्यसकारण यस्तो खानीबाट पनि उत्खनन् गर्ने काम सरकारी निकायले गरोस्, बजारीकरणको काम निजीले गरोस् भनेर मोडालिटी बनाइएको थियो ।

    चितवनमा त नदीजन्य वस्तु जिविसले आफैं निकाल्ने प्रयास पनि भयो, तर सफल भएन । अरूले त प्रयास नै गरेनन् । सबैलाई ठेक्का लगाउँदा आर्थिक फाइदा हुने भएपछि ठेक्का प्रणालीमै आनन्द मान्दै आए ।

    नेपालमा खानीका लागि सिमेन्ट उद्योग आकर्षित भएका छन् । शुरूमा यस्तो थिएन । अर्थमन्त्रालयले जब सडक र बिजुलीको प्रबन्ध गर्ने नीति ल्यायो, त्यसपछि सिमेन्ट उद्योग खानीमा आकर्षित भएको देखिन्छ ।

    यो नीति १२ वर्ष अगाडि मात्र आएको हो । सडक, विद्युत् र अन्य पूर्वाधार नभएसम्म निजी क्षेत्र के सजिलै चुरे खन्न छाडेर, नदीबाट उत्खनन छाडेर मध्यपहाड उक्लन्छ र ? उक्लँदै उक्लँदैनन्, पुग्दै पुग्दैन नि ! धादिङ, सिन्धुपाल्चोक, काभ्रेको नदीबाट खुरु–खुरु निकाल्न पाएकाहरू खानी विभागले पहिचान गरेको खानीसम्म जालान् र ? मलाई जालान् जस्तो लाग्दैन ।

    सरकार मातहत रहने गरी खानी उत्खनन गरौं

    यस कारण नेपाल सरकार मातहत रहने गरी खानी उत्खनन गर्ने निकायको निर्माण गरौं । नेपालमा खानी विभाग स्वयंले यो काम गर्न सक्छ, गरोस् । यो निर्माण गर्न धेरै समय लाग्दैन ।

    पहिलो चरणमा ढुंगा खानीको मात्र पहिचान, सडकसहित आधारभूत सुविधा पुर्‍याउने काम गरोस् र त्यसलाई व्यावसायिक रूपमा उत्खनन गर्न तयार पार्ने काम गरोस् । त्यो कम्पनी आफैंले उत्खनन गर्न सक्छ भने उसैले गरोस्, नसके निजी क्षेत्रलाई बिक्री गर्न सकिन्छ । ९२ वटै खानीमा एकैपटक गर्न सकिन्न भने पनि १२ वटा खानीमा काम शुरू गर्न सकिन्छ ।

    पहिले त खानी विकास गरौं, त्यसपछि हाम्रो राष्ट्रिय आवश्यकता पूरा गरांैं र बच्यो भने निर्यात गरौं । यो खिएर जाने वस्तु होइन । भण्डारणमै रहँदा कुनै घाटा हुँदैन ।

    अहिले नेपालमा पोखरा र काठमाडौं उपत्यकामा बढी ढुङ्गा, गिट्टी बालुवाको माग छ । भएका खानीमध्ये सबैभन्दा बढी ललितपुर र काभ्रेमा छन् । सिन्धुपाल्चोक र धादिङमा नदीबाटै बढी निकालिएको छ । नदीबाट अनियन्त्रित उत्खननलाई नियन्त्रण गर्नुपर्छ । घाटगद्दी प्रणालीमा जानुपर्छ ।

    तर, गलत निर्णयको प्रतिरक्षा गर्दै खानी विभागका अधिकारीहरू हिंड्नु भनेको न शोभनीय काम हो, न त नैतिक । राष्ट्रपति चुरे कार्यक्रमले पनि निर्यात होइन भनेर अडान लियो । लेखेको छ ‘निर्यात’ अनि ‘होइन’ भनेर गफ लगाएर हुन्छ ? यो सरासर झूट हो, गलत हो । यसरी हुँदैन ।

    राजनीतिक निर्णय लगत छ भने ‘गलत भयो, मुलुकको लाभका निम्ति यो ठीक छैन’ भनेर बोल्न सक्नुपर्छ । सार्वजनिक रूपमै बोल्नुपर्छ । सही कुरा गर्दा कोही रिसाउँछ कि भन्ने चिन्ता गर्नुहुन्न ।

    नेपालमा निर्माणको आवश्यकता निकै ठूलो छ । अहिले निकै कम मात्र निर्माण भइरहेको छ । हामी ठूला–ठूला विकासका आयोजना बनाउनुपर्ने चरणमा पुग्दैछौं । त्यो समयको आवश्यकता पूरा गर्न राष्ट्रिय क्षमता बढाऔं । त्यसपछि हामीसँग उच्च गुणस्तरका ढुंगाहरू छन् भने युरोपमा निर्यात गरौं, किन भारतमा मात्र गर्ने ?

    भारतले पनि आफ्नो गुणस्तरीय ढुङ्गा युरोप पठाउँछ । उसले महँगो ढुङ्गा युरोप पठाएर नेपालबाट सस्तोमा ढुंगा, गिट्टी भित्र्याउन खोजेको हो ।

    (राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण समितिका पूर्वअध्यक्ष खनालले नेपाल इन्जिनियरिङ एशोसिएसनको कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.