सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मध्यविन्दुमा दृश्यावलोकन स्तम्भ बन्दै


  •    न्युजभित्तो/१७ जेष्ठ २०७८, सोमबार १३:५६ 
  • नवलपुर, १७ जेठ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ मा रु ६५ लाखको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको छ । मध्यविन्दु–३ ब्रह्मस्थानमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यहाँको वनभोज स्थलमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो ।

    “अहिले भ्यू टावर निर्माण शुरु गरिएको यो ठाउँ नारायणी नदीसँगै जोडिएको छ”, नगरप्रमुख रानाले भन्नुभयो, “नारायणी नदीको पारिपट्टि चितवन राष्ट्रिय निकुञ्ज छ, दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको ठाउँबाट दुर्लभ वन्यजन्तु गैँडा, सङ्कटापन्न अवस्थाका घडियाल गोही सहजरुपमा देख्न सकिन्छ ।”

    प्राकृतिकरुपमा समेत रमणीय रहेकाले ब्रह्मस्थानमा दृश्यावलोकन स्तम्भ निर्माणको काम अगाडि बढाइएको नगरप्रमुख रानाले बताउनुभयो । नगरपालिका–२, ३, ४, ६ र १२ मा घरबास (होमस्टे) रहेकाले घरबाससँगै यहाँको पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ बनाउन शुरु गरिएको रानाको भनाइ छ । “ब्रह्मस्थानमा निर्माण शुरु गरिएको भ्यू टावरको माटो परीक्षण तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न नगरपालिकाको रु पाँच लाख खर्च भएको छ”, नगरप्रमुख रानाले भन्नुभयो, “अहिले गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु १० लाखमा काम शुरु गरेका छौँ, आवश्यक पर्ने बाँकी रकम आगामी आर्थिक वर्षमा जुटाउने छौँ ।”

    आगामी आर्थिक वर्ष २०७८÷७९ मा भ्यू टावर निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको रानाले बताउनुभयो । नगरपालिकाले ब्रह्मस्थानसहित वडा नं १४ को दुई स्थानमा समेत दृश्यावलोकन स्तम्भ निर्माणका लागि काम अगाडि बढाएको उहाँको भनाइ छ । उपभोक्ता समिति निर्माण गरेर ब्रह्मस्थानमा दृश्यावलोकन स्तम्भ निर्माणको काम अगाडि बढाइएको हो ।

    दृश्यावलोकन स्तम्भ निर्माण उपभोक्ता समितिका सहसचिव सुवाष नेपालले निर्माणाधीन भ्यू टावरको सबै संरचना तयार पार्दा करीब १० कट्ठा क्षेत्रफल ओगट्ने बताउनुभयो । पैंतालिस फिट अग्लो हुने उक्त दृश्यावलोकन स्तम्भ चार तलाको हुने उहाँको भनाइ छ । स्तम्भबाट एकैपटक ३५ जना व्यक्तिले यहाँको दृश्यावलोकन गर्न सक्ने बताइएको छ । दृश्यावलोकन स्तम्भ निर्माणस्थल चितवन राष्ट्रिय निकुञ्जको नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिमा पर्दछ ।

    यस स्थानमा निकुञ्जबाट निस्किएका गैँडा, बँदेललगायत जनावरले कृषकले लगाएको अन्नबाली खाएर नष्ट गरिदिँदा वन्यजन्तुप्रति उनीहरुको दृष्टिकोण फरक भएकाले समेत स्थानीयवासीलाई संरक्षणमा सहभागी गराउनका लागि दृश्यावलोकन स्तम्भ निर्माणको काम अगाडि बढाइएको सहसचिव नेपालको भनाइ छ । वन्यजन्तुको आक्रमण तथा नारायणी नदीको कटानका कारण यस गाउँबाट धेरै घरपरिवार विस्थापित भइसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.