सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अक्सिजन नपाएर पोखरामा सुत्केरीसहित ६ जनाको मृत्यु


  •    न्युजभित्तो/१४ जेष्ठ २०७८, शुक्रबार १२:१४ 
  • पोखरा,१४ जेठ । हाइफ्लोमा अक्सिजन दिएर उपचार भइराखेका बेला डाक्टरले अक्सिजन सकिएको खबर गरेपछि तनहुँ भानुकी सुत्केरी महिलाको परिवार होसहवास उड्यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा शुक्रबार भर्ना भएर हाइफ्लो अक्सिजन दिएर सुत्केरीको उपचार भइरहेको थियो ।

    बिहीबार साँझ नै अस्पतालले अक्सिजन रेगुलर नभएको भन्दै घरि अक्सिजन दिने, घरि नदिने गरिएको सुत्केरीका आफन्तले बताए । ‘हाइफ्लोमा अक्सिजन रेगुलर छैन भन्यो । आउँछ आउँछ भन्छ, आउँदैन । अक्सिजन नपाएको १ घन्टा हुन लागिसकेको थियो, हामी आफैं अक्सिजन उद्योगमा पुग्यौं,’ सुत्केरी महिलाकी भाञ्जाले भने, ‘औद्योगिक क्षेत्रमा रहेको अक्सिजन उद्योगमा पुगेर रोइकराइ गर्यौं । हामी किन्छौं, केही अक्सिजन उपलब्ध गराइदिनुस् भन्यौं तर पाएनौं । फर्किंदा माइजूको मृत्यु भइसकेको रहेछ ।’

    अक्सिजनको अभावले माइजूलाई गुमाएको उनले सुनाए । ‘अस्पतालले अक्सिजन  आउँदै छ भन्यो, उद्योगले सबैलाई दिएका छौं भनेर दिएनछ,’ सुत्केरीका श्रीमानले भक्कानिँदै भने, ‘आउँछ आउँछ भनेको अक्सिजन बिरामीको ज्यान गएको १ घन्टा भइसक्दा पनि आइपुगेको थिएन । बेलैमा अक्सिजन पाए उनी बाँच्थिन् होला ।’

    पूर्व उपकुलपति, डिन र डाक्टरहरुकै लगानीमा अक्सिजन उद्योग भएकाले अस्पतालमा प्लान्ट नभएको त्यहीँका चिकित्सकहरु बताउँछन् । अहिले तिनै डाक्टरहरुको लगानी भएको पोखरा अक्सिजन उद्योगबाट प्रतिष्ठानमा अक्सिजन आपूर्ति हुँदै आएको छ । तर, पर्याप्त अक्सिजन नपाउँदा बिरामीले ज्यान गुमाउनु परेको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा बिहीबार मध्यरातदेखि बिहान ४ बजेसम्म अक्सिजनकै अभावले सुत्केरी महिलासहित ६ जनाले ज्यान गुमाएका छन् । तनहुँका ३ जना, म्याग्दी, पर्वत र स्याङ्जाका १-१ जना गरी ६ जनाको ज्यान गएको हो । अस्पतालमा एक्कासी अक्सिजनको अभाव भएको र हाइफ्लो दिएर उपचार भइरहेका बिरामीले सोही अनुसार अक्सिजन नपाउँदा मृत्यु भएको चिकित्सकले बताएका छन् ।

    पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ को उपचार गर्ने गण्डकी प्रदेशकै ठूलो संघीय अस्पताल हो । यही अस्पतालमा एक्कासी अक्सिजनको अभाव हुँदा रातभर दौडादौड चल्यो तर पनि ६ जनाले ज्यान गुमाए ।

    तनहुँका ३ जना, म्याग्दी, पर्वत १ र स्याङ्जाका १ जनाको ज्यान गएको हो । अक्सिजन उद्योगले पर्याप्त अक्सिजन सिलिन्डर पठाएको बताउँछ तर सरकारी अस्पतालमै अक्सिजनको अभावले बिरामीले ज्यान गुमाउनु पर्ने अवस्थाको सिर्जना भएको हो । हाइफ्लो अक्सिजन नपाएर ज्यान गुमाएका संक्रमितका आफन्तले बेलैमा सचेत गराइदिएको भए आफैं जसरी पनि जोहो गर्ने बताउँछन् ।

    ‘हाम्रा आफन्त बचाउन जहाँबाट जसरी पनि अक्सिजनको व्यवस्था गर्थ्यौं तर बेलैमा जानकारी भएन,’ बिरामीका आफन्तले भने, ‘डाक्टर, नर्सहरु त दौडेकोदौड्यै थिए, अक्सिजनै सकिएपछि उनीहरुको पो के लाग्यो र ? यो अस्पताल प्रशासनका कारण हामीले आफन्त गुमायौं ।’

    कोभिड अस्पतालका फोकल पर्सन डा. शरद बरालले हाइफ्लो अक्सिजन नपाउँदा सुत्केरीको ज्यान गएको देखिएको र बाँकीमा अन्य दीर्घ रोगले बढी च्यापेको देखिएको बताए । अस्पतालमा हाइफ्लोका बिरामी बढ्दा एक्कासी अक्सिजनको समस्या देखिएको डा. बरालको भनाइ छ ।

    ‘हाइफ्लो अक्सिजन दिनुपर्ने बिरामी एक्कासी बढे । यस्ता बिरामीमा अक्सिजनको फ्लो कम हुनेबित्तिकै ज्यान जाने जोखिम हुन्छ,’ डा. बरालले भने, ‘मिहिनेत गर्दागर्दै पनि बचाउन सकिएन । यता सकिन लाग्दा ३ वटा सिलिन्डर भए पनि बोकेर ल्याउनु परेको छ । दौडधुप चलिरह्यो तर हाम्रोमात्र केही लागेन ।’

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नै अक्सिजन प्लान्ट छैन । अस्पतालमा पूर्व उपकुलपति, डिन र डाक्टरहरुकै लगानीमा अक्सिजन उद्योग भएकाले अस्पतालमा प्लान्ट नभएको त्यहीँका चिकित्सकहरु बताउँछन् । अहिले तिनै डाक्टरहरुको लगानी भएको पोखरा अक्सिजन उद्योगबाट प्रतिष्ठानमा अक्सिजन आपूर्ति हुँदै आएको छ । तर, पर्याप्त अक्सिजन नपाउँदा बिरामीले ज्यान गुमाउनु परेको छ ।

    सहज अक्सिजन आपूर्ति नभएकै कारण समस्या भएको डा. बरालले बताए । हाइफ्लोका बिरामीलाई धेरै अक्सिजन चाहिने र दिइरहेकोभन्दा अलिकति पनि कम हुनेबित्तिकै ज्यानको जोखिम हुने बराल बताउँछन् ।

    ‘हाइफ्लोका बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटरसम्म अक्सिजन प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता बिरामी बढे र समयमा आपूर्ति नहुँदा समस्या भएको हो,’ डा. बरालले भने, ‘अन्य लोफ्लोमा अक्सिजन दिएर हुने बिरामीलाई प्रतिमिनेट १४ लिटर भए पुग्छ ।’

    ठूलो सिलिन्डर ६ हजार लिटर हुनुपर्ने भए पनि ५ हजार लिटरको हाराहारीमा अक्सिजन हुन्छ र त्यसमा पनि केही लिकेज हुने डाक्टर बराल बताउँछन् । ‘हाइफ्लोका एउटा बिरामीलाई एउटा सिलिन्डरले १ घन्टा पनि धान्दैन,’ डा. बरालले भने । अहिले अस्पतालमा हाइफ्लोका ९ जना बिरामी छन् ।

    पोखराको स्वास्थ्य विज्ञानमा मात्र होइन, पोखराको अन्य अस्पतालमा पनि एक्कासी अक्सिजनको अभाव भएको चिकित्सकहरुले बताइरहेका छन् । पोखरामा दैनिक १३ देखि १४ सय सिलिन्डरसम्म दैनिक उत्पादन हुने बताइएको छ । तर, त्यो सिलिन्डर कहाँ र कसरी जान्छ र किन अभाव भइरहेको छ भन्ने आश्चर्य लागिरहेको अस्पतालहरुले बताइरहेका छन् ।

    पोखरा अक्सिजन उद्योगलेमात्र दैनिक ८ सय ५० वटा सिलिन्डर उत्पादन गरिरहेको बताउँछ । ‘पोखराका गाडी आफैं लिएर आउँछन् र घन्टाघन्टामा लिएर जान्छन्,’ उद्योगका एक सञ्चालन एलके शर्मा भट्टराईले भने, ‘सबैभन्दा बढी गण्डकी अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मै जान्छ । यसरी अभाव त नहुनु पर्ने हो, हाइफ्लोका बिरामी बढेर यस्तो भयो होला ।’

    प्रेसर बढी भएका अस्पतालले बढी पनि लैजाने गरेको भट्टराईले बताए । पोखराका अस्पतालले भने अक्सिजन बाँड्न थालिए पनि धेरै अक्सिजन सिलिन्डर बाहिर जान थालेको बताउँछन् । तर, उद्योगका सञ्चालन भट्टराईले भने पोखरामै केन्द्रित गरिएको बताए ।

    ‘क्रिटकल बिरामी पनि पोखरा नै आउनु पर्ने भएकाले अक्सिजन वितरण पनि पोखरामै केन्द्रित गरिरहेका छौं । प्रतिष्ठानले दैनिक ३ सय लैजान्छ,’ भट्टराईले भने, ‘प्रतिष्ठान हाम्रो पहिलो प्राथमिकता हो ।’ पोखराका अन्य कोभिडका बिरामीका चाप भएका अस्पतालमा बढी अक्सिजन गइरहेको उनी बताउँछन् ।

    अक्सिजन अभावका कारण १ सुत्केरीसहित ६ जनाले ज्यान गुमाउँदा अन्य अस्पतालमा पनि अक्सिजन अभावकै कारण मृत्यु भएको हुन सक्ने बिरामीका आफन्तले बताएका छन् । ‘अक्सिजनको अभाव छैन भन्छ । तर, त्यही अक्सिजन नपाएर एउटा अस्पतालमा मात्र ६ जनाले ज्यान गुमाए । यस्तै अरु अस्पतालको हालत पनि उस्तै होला,’ तनहुँकै अर्का बिरामीको आफन्तले भने, ‘यो गम्भीर विषय हो, अक्सिजन कहाँ गइरहेको छ ? नेताजीले बाँडिरहेको देखिरहेका छौं, हामी भने मरिरहेका छौं ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.