सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुगम जिल्लाको दुर्गम ठाउँमा कोरोना नियन्त्रणमा सक्रिय ‘हिरो’


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार ११:१८ 
  •  धनगढी, १० जेठ । डा गगन चौधरी राम्ररी सुत्न नपाउनु भएको महिना दिनभन्दा बढी भइसक्यो । बिरामीहरूको उपचारमा तल्लीन भएका कारण उहाँलाई आजभोलि निद्रा पनि खासै लाग्दैन । उहाँ सुत्नु परे पनि बिरामीको जाँच गर्दागर्दै त्यही आफ्नो टेबलमा बस्दाबस्दै निदाए मात्रै हो नत्रभने अवस्था छैन ।

    उहाँ कार्यरत प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा कोरोनाका बिरामीको चाप बढेसँगै उहाँको खटाइ सामान्य अवस्थामा भन्दा धेरै भएको छ आजभोलि । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर भन्ने बित्तिकै सुगम जिल्लाका रूपमा बुझ्ने गरिन्छ तर यही सुगम जिल्लाको पनि दुर्गम र पछाडि पारिएको ठाउँ हो दोधारा चाँदनी । महाकालीपारिको गाउँका नामले परिचित यस ठाउँमा भएको महाकाली नदी नेपाल भारतको सिमाना पनि हो ।

    विश्वभर महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाले सुदूरपश्चिममा आक्रामकरूपमा सङ्क्रमितहरूको सङ्ख्या बढाइरहेको अवस्थामा करिब ११ भन्दा बढी अनौपचारिक नाका भएका कारण उच्च जोखिममा रहेको दोधारामा दिनरात नभनी सेवा प्रदान गरिरहनुभएका डा चौधरी सो क्षेत्रमा ‘हिरो’का रूपमा परिचित हुनुहुन्छ । पहिलो चरणको कोरोना सङ्क्रमणका बेला चौधरी कार्यरत दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्यभन्दा सामान्य स्वास्थ्य सामग्रीको अभाव थियो ।

    त्यस्तो बेला डा चौधरीले प्लास्टिकको पिपिइ बनाएर भए पनि सङ्क्रमितको उपचार गरेको सम्झनुहुन्छ सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी । वर्षौँसम्म चिकित्सक नपाएका सुगमको दुर्गम ठाउँ दोधाराका जनताले करिब चार वर्षअघि डा चौधरीलाई आफ्नो स्वास्थ्य केन्द्रमा पाएका थिए । डा चौधरीले पनि त्यहाँ बसेर सेवा दिन शुरु गर्दा दर्दनाक अवस्थामा रहेको स्वास्थ्य केन्द्र अहिले सुधारोन्मुख छ । सामान्य उपचारका लागि पनि भारतीय मेडिकल जानुपर्ने दोधाराका जनताले अहिले डा चौधरी जस्ता व्यक्तिका कारण आफ्नै ठाउँमा औषधि उपचार पाएका छन् ।

    दोधारा चाँदनीबासीलाई राज्य भएको अनुभूति भएको छ । चिकित्सक नहुँदा १० जना नआउने स्वास्थ्य केन्द्रमा डा चौधरीले दैनिक १५० जनासम्म बिरामीको स्वास्थ्य परीक्षण गर्न थाल्नुभयो । त्यति बेलादेखि नै डा चौधरी सुगम जिल्लाको दुर्गम गाउँका जनताको नजरमा हिरो बन्नुभयो । पहिलो चरणको कोरोनाको लडाइँमा उहाँको खटाइको सम्मान गर्दै सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट उहाँलाई ‘कोभिड हिरो’ ले सम्मान पनि गरिएको निर्देशक अवस्थी बताउनुहुन्छ । सम्झौताअनुसार छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्नेले कम्तीमा दुई वर्ष सरकारले खटाएको ठाउँमै काम गर्नुपर्ने हुन्छ ।

    डा चौधरीले भन्नुभयो, “मेरो पनि दोधारा चाँदनीमा दुई वर्ष मात्रै बस्ने योजना थियो तर यहाँ आइसकेपछि यस क्षेत्रका जनताले सामान्यभन्दा पनि सामान्य औषधि उपचार गर्न नपाएको पिडा देखेर यतै सेवामा लागिरहेँ, दोधारा चाँदनी छाडनै नसक्ने भएँ ।” महाकालीपारि भन्ने बितिक्कै अन्य क्षेत्रका कर्मचारी पनि जान रुचाउँदैनन् । चिकित्सकको त यहाँ प्राय अभाव नै भइरहन्छ । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सककै दरबन्दी भए पनि प्राय खाली नै हुन्थ्यो तर पछिल्लो चार वर्षदेखि यस क्षेत्रमा बसेर सेवा दिइरहँदा यो ठाँउ पनि आफूलाई आफ्नै लाग्न थालेको उहाँको भनाइ छ ।

    खुल्ला सिमाना भएका कारण अहिलेको परिस्थितिमा आफूहरूका लागि निकै चुनौती भए पनि आफ्नो कर्म धर्म सबै जनताको सेवा गर्नु नै ठानेर काम गरिरहेको उहाँको भनाइ छ । स्वास्थ्य केन्द्रमा पहिलो चरणको कोरोना फैलँदा पिपिइ, मास्कजस्ता सामान्य कुराहरूको अभाव भएको भए पनि अहिले त्यस्तो अवस्था नरहेको तर अक्सिजनको अभाव भने कायमै रहेको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.